बिहीबार २८ चैत, २०८१
Thursday, April 10, 2025

प्रधानमन्त्री कप क्रिकेटः एपीएफसामु प्रदेश-१ निरिह

काठमाडौँ : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ क्लबले प्रदेश-१ माथि एक सय ३५ रनको जित दर्ता गरेको छ ।

किर्तीपुरस्थित त्रिभुवन विश्‍‍वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४३ रन बनाएको थियो । जवाफमा प्रदेश १ ले ४२.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय आठ रन मात्रै बनाएपछि विभागीय टोलीले प्रतियोगितामा विजय सुरुवात गर्‍यो ।
 
एपिएफलाई बलियो सुरुवात दिलाउन ओपनरद्वय आशिफ शेख र सुवास खकुरेलले ७१ रनको साझेदारी गरे । शेखले ५९ रन बनाउँदा ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए । शेखलाई साथ दिएका खकुरेलले ४१ बलमा १९ रन जोडेर पेभेलियन फर्कदा कप्तान शरद भेषवाकरले ३९ बलको समाना गर्दै २० रनको योगदान गरे । त्यस्तै, बसन्त रेग्मीले ४० र सन्दीप जोराले ३० रन जोडे ।
 
पराजित प्रदेश १ का लागि फिर्दोस अन्सारी, हेमन्त राई, दिपेश कडेल र श्रवण यादबले दुई-दुई विकेट लिए ।
 
उता बलियो एपिएफका बलर सामु प्रदेश १ निरिह देखियो । ओपनरद्वय दिपक पासवान र मिनास थापाले क्रमश १३ र १८ मात्र जोड्न सके भने फिर्दोस अन्सारीले १७ रनको योगदान गरे । मध्यक्रमका कोही ब्याट्सम्यानले पनि दोहारो अंक जोड्न नसक्दा तल्लोक्रमका दिपेश कंडेलले १६ र जोशक खड्का १२ रन बनाए । 

प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा अभिनास बोहोराले सर्वाधिक ३ विकेट हात पार्दा कमल ऐरी, किशोर महतो र भुवन कार्कीले समान २/२ विकेट आफ्नो नाममा लेखाए । कप्तान शरद भेषवाकरले एक विकेट हात पारे ।

अब प्रतियोगितामा आइतबार दुई खेल हुनेछन् । मूलपानी क्रिकेट मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ भने कीर्तिपुरको त्रिवि मैदानमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले बाग्मती प्रदेशको चुनौती सामना गर्नेछ । नेपाल क्रिकेट संघको आयोजनामा तीन विभागीय र सात प्रदेशका टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिता माघ १० गतेसम्म चल्नेछ ।