जग्गाधनीलाई थाहै नदिई जग्गा बेचेको खुलासा
मालपोत र नापी कार्यालयका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतो

वीरेन्द्रनगर : मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा थाहै नदिई कित्ताकाट गरी बिक्री गरेको पाइएको छ ।
वीरेन्द्रनगर नगरपालिका–१२ साबिक जर्बुटा गाविस–३ (क)मा रहेको रावतको कित्ता नं ३१११ को जग्गा यही असार ८ गते कित्ताकाट गरेको खुलेको हो ।
जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ । तर, आफ्नो जग्गा कित्ताकाट गरी बिक्री गरेको थाहा पाएपछि जग्गाधनी रावतले मालपोत कार्यालयका नायबसुब्बा विश्वरूप सावद, जग्गा व्यवसायी सन्तोष ठाकुरलगायतलाई कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रहरीमा जाहेरी दिएका छन् ।
जग्गा कित्ताकाटदेखि नामसारी गराउने कार्यमा संलग्न व्यक्तिमाथि छानबिन गरी कारवाही गर्नुपर्ने उहाँको माग छ । 'जग्गा नामसारी भएर अर्कै व्यक्तिलाई बेचिसकेपछि अर्थात् यही पुस २९ गते जग्गाको नक्सापास निकाल्ने क्रममा कित्ता नं नभेटिएपछि थाहा पाएँ', रावतले जाहेरीमा भनेका छन्, 'नापी कार्यालयमा कित्ता नं भिडाउँदा नभेटिएपछि छ कित्तामा बाँडिएको रहेछ ।'
जग्गा किन्न ग्राहक आएपछि आफू ट्रेस नक्सा निकाल्न नापी कार्यालय जाँदा जग्गाको कित्ता नं नभेटिएपछि जग्गा गैरकानूनी तरिकाले खरिद बिक्री भएको थाहा पाएको रावतले बताए । रावतको साढे छ कट्ठामध्ये तीन कट्ठा जग्गाको कित्ताकाट गरी नामसारी गरिएको छ ।
उक्त जग्गा शुरुमा वीरेन्द्रनगर–१ निवासी सहवीर कार्कीको नाममा नामसारी भएको पाइएको छ । मालपोत अभिलेखमा कार्कीको नाममा जग्गा पास हुँदा वीरेन्द्रनगर–४ का नारायण बुढा र वीरेन्द्रनगर–१ का चाँदनी वली साक्षी बसेको उल्लेख छ । कार्कीका नाममा २०७७ असार १० गतेपछि छ कित्तामा बाँडेर अन्य व्यक्तिका नाममा नामसारी गरिएको छ ।
रावतका अनुसार उक्त जग्गा छत्रबहादुर थापा, रेखा आचार्यलगायतका छ जनाको नाममा जग्गा नामसारी भएको छ । सरकारले जग्गाको कित्ताकाट रोकेका बेला सहवीर कार्कीले अंश भर्पाइको माध्यमबाट कित्ताकाट गरेको खुलेको छ ।
जिल्ला मालपोत कार्यालयका नायबसुब्बा सावदलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । जिल्ला प्रहरीका प्रहरी निरीक्षक कनकबहादुर शाहीले आरोपी सावदको अदालतबाट म्याद थप गरी बयान लिने काम भइरहेको बताए । सावदले जग्गा नामसारी गर्ने कार्यको मुख्य योजनाकार वीरेन्द्रनगर–२ भुरेलीमा बस्दै आएका ३२ वर्षीय सन्तोष ठाकुर रहेको बयानमा बताएका छन् । ठाकुर हाल फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
जग्गाधनी रावतले कित्ताकाटदेखि जग्गा नामसारी गर्ने/गराउने कार्यमा संलग्न नापी र मालपोतका कर्मचारीमाथि कानूनी कारवाही हुनुपर्ने माग राखेका छन् । प्रहरीले अवैध जग्गा खरिद बिक्रीमा संलग्नको पहिचान गरी कानूनबमोजिम कारवाही प्रक्रिया अघि बढाउने बताएको छ । रासस

सवारी र्दुघटनामा एक जनाको मृत्यु, अबरुद्ध महेन्द्र राजमार्ग सञ्चालन

कैलालीका १८ स्थानमा जलमापन केन्द्र

कौरा संरक्षण गर्न प्रतियोगिता

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

बाढीले दुम्किवासमा ‘डाइभर्सन’ बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

तुलाले आँटेको काममा सफलता पाउने, कुम्भलाई नयाँ कामको थालनी गर्ने मौका

दिलभूषण पाठकलाई खोज्दै घरमा पुग्यो प्रहरी

प्रतिक्रिया