आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

सकेसम्म बढी खर्च गर्न सबै देशका सरकारलाई मुद्रा कोषको आग्रह

काठमाडौंः अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सबै देशका सरकारहरूलाई सकेसम्म बढी खर्च गर्न आग्रह गरेको छ । अर्थतन्त्रलाई गति दिनका लागि विश्वभरका सरकारले खर्च बढाउन आवश्यक रहेको आइएमफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जेभाले बताइन् । 

क्रिस्टालिनाले कुनै पनि विशेष अनुमान प्रस्तुत नगरिकनै सबै सरकारहरूले खर्च बढाएको खण्डमा त्यसले अन्तर्राष्ट्रिय व्यापार, श्रम/रोजगारी, आपूर्ति श्रृंखला सुचारु हुने उल्लेख गर्दै त्यसले विश्व अर्थतन्त्रको वृद्धिदर उकास्ने बताएन् । 

कोभिड–१९ महामारीबाट आक्रान्त अर्थतन्त्रहरूमध्ये ८३ मुलुकले आइएमएफको सहयोग लिएका छन् । 

अहिलेको अवस्थामा खर्च नै अर्थतन्त्रको लागि रामवाण (पानसिया) जस्तो भएको भन्दै उनले आफूले सबैलाई खर्च गर्न आग्रह गरेको उल्लेख गरिन् । अहिलेको अवस्थामा आइएमएफले कुनै विशिष्ट नीति भन्दा पनि खर्च गर्न आग्रह गरिरहेको छ । क्रिस्टालिनाले भनेकी छिन्, ‘किनकी यो असामान्य बेला हो । पहिले जति सकिन्छ त्यो खर्च गर्ने त्यसपछि क्रमशः बढाउँदै लैजानुपर्छ ।’ सरकारको खर्चले आर्थिक गतिविधि बढ्छ, त्यसले राजस्व बढ्छ र सरकारको खर्च क्षमता पनि वृद्धि हुन्छ । 
उनले मौद्रिक नीतिमा सामञ्जस्यता र सरकारको बजेट खर्चबाट अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउनुपर्ने बताएकी छिन् । उत्पादन र उपभोगलाई बढावा दिनुको विकल्प नभएको उनको भनाई छ । 

आइएमएफले महामारीबाट उत्पन्न आर्थिक चुनौतीहरूबाट अर्थतन्त्रलाई उकास्न मौद्रिक नीतिमा लचकता र बजेटमार्फत् दिइने प्रोत्साहन नै सबैभन्दा उपयुक्त भएको उल्लेख गरेको छ । यसका अतिरिक्त आइएमएफले महामारीको साझा चुनौतीबाट पार पाउन कोभिड–१९ विरुद्धको खोप विश्वभर सर्वसुलभ आपूर्तिका लागि अन्तर्राष्ट्रिय सहायता महत्वपूर्ण हुने भन्दै आगामी दिनमा पनि डिजिटल प्लेटफर्मको सक्दो प्रयोग र हरित आर्थिक विकासमा ध्यान केन्द्रीत गर्नुपर्ने जनाएको छ । 

यदि जी२० राष्ट्रहरूले समन्वयात्मक ढङ्गले हरित पूर्वाधारका लागि बजेटबाट प्रोत्साहन दिएको खण्डमा नियमित रूपमा हुने आर्थिक विकासको तुलनामा दुई तिहाई बढी आर्थिक वृद्धिदर हासिल हुने आइएमफकी प्रबन्ध निर्देशक क्रिस्टालिनाको भनाई छ । उनले रुसको गैदर इकोनोमिक फोरमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएकी हुन् ।