शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

नेकपा नफुटेसम्म दाहाल-नेपाल समूहसँग संयुक्त आन्दोलन हुँदैन : देउवा

फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रूपमा विभाजन नभइ दाहाल–नेपाल समूहसँग संयुक्त मोर्चाबन्दी गरी आन्दोलनमा नजाने स्पष्ट पारेका छन् । देउवासँग पुष्पकमल दाहाल र माधवकुमार नेपालले संयुक्त रूपमा आन्दोलनका लागि सहकार्य गर्न प्रस्ताव गरिरहेका छन् । 

कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएपनि नेकपा औपचारिक रूपमा विभाजन भैनसकेकाले त्यही पार्टी सत्तामा रहने अनि सोही पार्टीले सत्ताबाहिर रहेर आन्दोलन गर्ने क्रममा कांग्रेस मिसिन जाने सवाल मूर्खता हुने बताएका छन् ।

‘कम्युनिष्ट पार्टीभित्रको समस्याले यो अवस्था सिर्जना भएको हो । कम्युनिष्टका गलत क्रियाकलाप तथा कुशासन र भ्रष्टाचारका विषयमा जनतालाई नेपाली कांग्रेसले बुझाउनुपर्नेछ,’ देउवाले भने, ‘नेपाली कांग्रेस आफैं यसको विरोधमा संघर्ष गर्छ ।’

दाहाल–नेपाल समूहले भने नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलनमा जान कांग्रेससँग वार्ता गरिरहेको छ । सभापति देउवाले पुष्पकमल दाहालले स्थानीय निर्वाचनमा सहकार्य गरेको र सत्ता साझेदारी गरिरहेकै अवस्थामा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न गएको भन्दै दाहालसँग रुष्ट छन् ।

कम्युनिष्टहरू जुनसुकै बेला जुट्न र फुट्न सक्ने भन्दै देउवाले प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेस एक्लै लड्न समर्थ भएको दोहोर्‍याए । प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएपनि यो अदालतको क्षेत्राधिकारभित्र भएकाले यसमा टिप्पणी गर्न नचाहेको उनको भनाइ थियो ।देउवाले नेपाली कांग्रेसभित्र अन्य वरिष्ठ नेताहरूलाई पनि नेकपा विभाजन नभइ संयुक्त आन्दोलनमा जाने वाचा नगर्न आग्रह समेत गरेका छन् । 

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनपछि छुट्टै विरोध र संघर्षका कार्यक्रम गर्दै आएको छ । नेपाली कांग्रेसले पुस १३ मा १६५ निर्वाचन क्षेत्रमा, पुस २५ मा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र माघ ३ गते ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गरिसकेको छ ।  कांग्रेसले माघ ८ गते सम्पूर्ण स्थानीय तहका ६,७४३ वडाहरूमा विरोध प्रदर्शन गर्दैछ ।