बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

नेकपा कार्यकर्ता हत्या प्रकरणमा न्याय माग्दै कांग्रेस

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ता हत्या प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निष्पक्ष छानविनको माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् ।  

'नेकपाकै कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ? पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं', ध्यानाकर्षण पत्रमा भनिएको छ,'कांग्रेस निष्पक्ष अनुसन्धान र कानूनी कार्वाहीको प्रक्रिया अविलम्ब थालनी गर्न संघीय र प्रदेश दुबै सरकारको गम्भीर ध्यानाकर्षण र माग गर्दछ!'

नेकपाको स्थानीय दुई समुहबीच पर्सा जिल्लामा बिहिबार झडप भएको भएको थियो । झडपमा परी गम्भीर घाइते भएका  नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । घटनाको तीनदिनसम्म पनि प्रहरीले जाहेरी नलिएकोमासमेत कांग्रेस दुख व्यक्त गरेको छ ।  

'घटना विवरण अत्यन्तै दुःखद छ, अतः पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरि कानूनी कार्वाही गर्न कांग्रेस सरकार समक्ष माग गर्दछ', शर्माको ध्यानाकर्षण पत्रमा भनिएको छ,'घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानूनी कारवाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो ।'