अमेरिकाको ४६ औँ राष्ट्रपति शपथः जो बाइडन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपति
ट्रम्पले लागू गरेका कतिपय अस्वाभाविक निर्णय उल्टियाे

काठमाडौँ : अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा ७८ वर्षीय जो बाइडन ह्वाइट हाउस प्रवेश गरेका छन् । उनले अमेरिकी समय अनुसार बुधबार १२ बजे संसद् भवन (क्यापिटोल हिल)मा शपथ ग्रहण गरेका हुन् । राष्ट्रपतिका रूपमा बाइडनले सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसबाट शपथ लिएका हुन् ।
बाइडनले बाइबललाई साक्षी राखेर शपथ लिएका थिए । आफूले सिनेटर र उपराष्ट्रपतिका रूपमा शपथ लिंदा प्रयोग गरेको बाइबल नै बाइडनले साक्षी राखेका हुन् ।कोभिड-१९ का कारण शपथग्रहण कार्यक्रम अघिल्ला राष्ट्रपतिका कार्यकाल झै भव्य थिएन । कार्यक्रम पनि छोटाे थियो भने पाहुना पनि कमै उपस्थित गराइएको थियो । बाहिर सुरक्षा व्यवस्था पनि निकै कडा गरिएको थियो ।
बाइडनले कडा सुरक्षा घेरामा रहेर परम्परागत शैलीमा तर पहिलेको दाँजोमा निकै छोटो शपथ लिएका थिए । ‘म सम्पूर्ण रूपमा सपथ लिन्छु कि मैले बफादारिताका साथ अमेरिकाको राष्ट्रपति कार्यालय सञ्चालन गर्नेछु । आफ्नो क्षमताको उत्तम उपयोग गर्नेछु । अमेरिकाको संविधानको पूर्ण रक्षा, संरक्षण र प्रतिरक्षा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस्, भगवान,’ शपथमा भने।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर करिब १२ सय जना पाहुनाको सहभागिता त्यहाँ थियो । सबैले स्वास्थ्य परीक्षण र आवश्यक मापदण्डसहित उनीहरू सहभागी थिए । बाइडनले शपथ खानुअघि नै अमेरिकी संसद् भवन वरपर र त्यस क्षेत्रमा ३० हजार बढी सैनिक तैनाथ गरिएका थिए । संसद् भवनमा भएको पछिल्लो आक्रमणपछि अमेरिकामा पहिलोपटक आफ्ना राष्ट्रपतिको शपथ समारोह धेरै सैन्य बल खटाइएको हो ।
अमेरिकीले शपथमा यति खतरा कहिल्यै अनुभव गरेका थिएनन् । दुई साता अघि बाइडनको जीतलाई आधिकारिकता प्रदान गर्न सदनको संयुक्त सत्र चलिरहँदा हतियारसहित ट्रम्पका समर्थकले संसद् भवनमा आक्रमण गरेकाले यस्तो खतरा अनुभव गरिएको हो । उक्त हमलामा एक सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु भएको थियो ।
घटनापछि संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले ट्रम्पका समर्थकले १६ देखि २० जनवरीसम्ममा सम्भावित हिंसात्मक प्रदर्शनको तयारी गरेको बताएपछि यस्तो सुरक्षा प्रबन्ध गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका थिए ।
शपथलगत्तै १५ आदेशमा हस्ताक्षर
बारक ओबामा दुई कार्यकाल राष्ट्रपति रहँदा उपराष्ट्रपतिका रूपमा सहकार्य रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता हुन । उनले पहिलो दिन नै पुराना केही निर्णय उल्टाएका छन् । उनी सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्ने हुनाले आम जनतालाई छुने निर्णय लिएर सकारात्मक रूपमा प्रस्तुत हुँदैन् ।
बाइडनले १५ कार्यकारी आदेश (एक्जिक्युटिभ एक्सन) मा हस्ताक्षर गरेका छन् । निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेका कतिपय अस्वाभाविक निर्णय उल्ट्याउन उनले त्यस्तो हस्ताक्षर गरेका हुन् । कोभिड-१९ महामारी र जलवायु परिवर्तनबारे आफ्ना प्रारम्भिक योजना लागू गर्ने उनका सहयोगीहरूले बताएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।
महामारी, अर्थतन्त्र, जलवायु परिवर्तन र रंगभेदी असमानतासँग जोडिएका कैयन् समस्यालाई सम्बोधन गर्न त्यस्तो हस्ताक्षर गर्ने क्रम जारी छ। अमेरिकाका केन्द्रीय निकायहरू, त्यहाँ कार्यरत कर्मचारीलाई मास्कसम्बन्धी अधिकार प्रदान गर्ने र कोभिडसँग सम्बन्धित मामिलामा समन्वय गर्न राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै एउटा नयाँ कार्यालय स्थापना गर्ने तयारी गरेका छन् ।
पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सहभागी हुने र जलवायु परिवर्तनका समस्या समाधान गर्न व्यापक कदम चाल्ने निर्णय उनले अघि बढाएका छन् । ट्रम्प प्रशासन पेरिस जलवायु सम्झौताबाट बाहिरिएकोमा विश्वले अमेरिकालाई सवेदनशील हुन आग्रह गरिरहेको थियो ।
बाइडनले मेक्सिको सीमामा पर्खाल लगाउने निर्णय र मुस्लिम बाहुल्य रहेका मुलुकबाट अमेरिका यात्रामा लगाइएका बन्देज हटाइनेछन्। त्यसैगरी, ट्रम्पको कार्यकालमा ट्रान्सजेन्डर अमेरिकीहरुलाई सैनिक सेवामा लगाइएको बन्देज हटाउने र विदेशमा गर्भपतनसम्बन्धी कार्यक्रमका लागि दिइने आर्थिक सहयोग रोक्ने ट्रम्पकालीन नीतिलाई उल्ट्याउने भनिएको छ ।
लिइन् कमलाले उपराष्ट्रपतिको शपथ
बाइडनलगत्तै कमला ह्यारिसले उपराष्ट्रपतिका रूपमा शपथग्रहण गरेकी छिन् । चार वर्षे ट्रम्प युगको अन्त्य गर्दै बाइडन अमेरिकी राष्ट्रपति भए भने पहिलो महिला उपराष्ट्रपतिका रूपमा कमला ह्यारिसले इतिहास रचेकी छिन् । उपराष्ट्रपतिका रुपमा कमलाले सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरबाट शपथ लिइन् । उनले दुईवटा बाइबललाई साक्षी राखेर शपथ लिएकी हुन् ।
‘म सम्पूर्ण रुपमा शपथ लिन्छु कि मैले सबै घरेलु र विदेशी शत्रुविरुद्ध अमेरिकाको संविधानको प्रतिरक्षा र समर्थन गर्नेछु । म त्यही कुराका लागि सत्य, विश्वास र बफादारितामा रहनेछु । कुनै जालसाजीको हेतुले वा मानसिक दुर्भाव राखेर काम नगरी स्वतन्त्र रूपमा यो दायित्व लिन्छु । म जहाँ प्रवेश गर्न लागेकी छु, त्यो कार्यालयको कर्तव्य मैले राम्ररी र इमान्दारीका साथ पूरा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस्, भगवान,’ शपथग्रहणमा कमला भनिन् ।
क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनकाबीच प्रहरीमा सुधारको आह्वान गर्दै आएकी थिइन् । उपराष्ट्रपति कमला क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४ मा जन्मिएकी हुन् । उनका बुबा जमैका र आमा भारतबाट अमेरिका आएका हुन् ।
इन्डियन जमैकन मूलकी क्यालिफोर्नियाकी सांसदले डेमोक्रेटिक प्राइमरीमा राष्ट्रपति उम्मेदवारका लागि बाइडनलाई नै चुनौती दिएकी थिइन् । तर उनी राष्ट्रपतिको चुनावी दौडबाट आफैं पछाडि हटिन् र अहिले बाइडनकै उपराष्ट्रपति भइन् ।
तस्बिर : रासस/एएफपी/एजेन्सीज

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया