राष्ट्रिय गौरवका आयोजना : अन्तहीन निर्माण चरण, सम्पन्न होलान् कहिले ?

काठमाडौँ : चालु पञ्चवर्षीय योजनाले २०८०–८१ भित्र अधिकांश राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ । यद्यपि सम्पन्न हुने चरणमा रहेका आयोजनाहरूको समेत बारम्बार भाका सार्ने काम भइरहेको छ ।
अघिल्लो एक वर्ष कोभिड महामारीले विकास आयोजनाहरूको काम अवरूद्ध भयो, अब राजनीतिक अस्थिरताले त्यसलाई असर पार्ने आँकलन गरिँदैछ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थशास्त्री डा.शंकर शर्मा नेपालमा ठूला आयोजना सम्पन्न हुन औसत ११ वर्ष लाग्ने गरेको भएपनि राष्ट्रिय गौरवका आयोजनाको हकमा त्यो समय अझै लम्बिने आशंका गर्छन् ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ठूला आयोजनाहरू चाँडो सम्पन्न गर्न प्राथमिकता दिँदै ती आयोजनालाई आर्थिक वर्ष २०६८–६९ मा ‘राष्ट्रिय गौरवका आयोजना’ नामाकरण गरेका थिए । तत्कालीन प्रधानमन्त्री भट्टराईका आर्थिक मामिला सल्लाहकार पूर्व अर्थसचिव रामेश्वर खनाल ठेक्का व्यवस्थापन, निर्माण कम्पनीहरूको क्षमता, निर्माण सामग्री आपूर्ति, चुस्त अनुगमनको अभावमा विकास आयोजनाहरू अन्तहीन भएको बताउँछन् ।
तत्कालीन समयमा प्रधानमन्त्री भट्टराईले ठूला आयोजनालाई कसरी विशेष रूपमा सम्बोधन गर्ने भन्ने सल्लाहमा खनालले नै यी आयोजनालाई राष्ट्रिय गौरवका आयोजना नामाकरण गरी विशिष्ट ढङ्गले सम्बोधन गर्न सल्लाह दिएका थिए ।
त्यसपछि डा. स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष छँदा ठूला आयोजना कार्यान्वयन सहजीकरण, अनुगमन र मूल्यांकनलागि आयोगले छुट्टै विधेयक मस्यौदा पनि गरेको थियो । यद्यपि, वर्तमान सरकारले त्यसलाई अघि बढाउनुको सट्टा २५ अर्ब रुपैँया माथिका आयोजना प्रत्यक्ष रूपमा प्रधानमन्त्रीले हेर्ने व्यवस्था गर्नेगरी विधेयक संसदमा दर्ता गरेको थियो ।
ठूला आयोजनालाई चुस्त रूपमा अघि बढाउने सम्बन्धमा सरकारमै पनि भिन्न–भिन्न दृष्टिकोण रह्यो । प्रधानमन्त्री ओली भने अधिकार प्रत्यायोजन गरी कार्यान्वयन निकायलाई जवाफदेही बनाउनेभन्दा पनि आफैं सबै अधिकार केन्द्रिकरण गर्नतिर लागे । जसले आयोजनाहरूलाई गति दिन समस्या भएको जानकारहरू बताउँछन् ।
अहिले २२ ओटा राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा रहेका छन् । सरकारले पछिल्लो समय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा कार्यान्वयन गर्न लागिएको ४०० केभीको उच्च क्षमताको प्रसारणलाइन र सडक स्तरोन्नति परियोजनालाई पनि राष्ट्रिय गौरवका आयोजनामा समावेश गरी उक्त संख्या २४ पुर्याएको छ । तर एमसीसीका आयोजना कार्यान्वयनका लागि सम्झौता संसदबाट अनुमोदन हुनै बाँकी छ ।
विकास आयोजनाहरू अन्त्यहीन बनाएर त्यसबाट कूत असुल्ने प्रवृत्ति रहेको पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीको दृष्टिकोण छ । ‘मेलम्ची आयोजना नै हेरौं यति गते उपत्यकाका धारामा पानी आउँछ भनेर कतिपटक घोषणा भयो,’ उनी भन्छन्, ‘विकास आयोजना कार्यान्वयन पारदर्शी छैन । कुनैमा वरिष्ठ नेताको ज्वाइँ र छोराले ठेकेदारलाई दुःख दिएर काम गर्न नदिएको घटना समेत बाहिर आएकै हो ।’
नागरिकको सहभागितामूलक विकास प्रणालीलाई महत्व दिनुपर्ने भन्दै विकास आयोजना समयमा निर्माण गर्न जनताले खबरदारी गर्नुपर्ने उनले बताए ।
सरकारले सिक्टा सिंचाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आर्थिक वर्ष २०७७–७८ भित्रै सम्पन्न गर्ने घोषणा गरेको छ तर पुस मसान्तसम्मको प्रगति अनुसार यस आर्थिक वर्षभित्र कुनै पनि राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न हुनेमा आशंका कायमै छ ।
यद्यपि, सरकारले भने तामाकोसी जलविद्युत् आयोजना र गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा सम्पन्न गरेरै छाड्ने बताएको छ ।
राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिको अवस्था :

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

पर्यटकका पर्खाइमा बयली

प्रतिक्रिया