अमेरिकी राष्ट्रपतीय निर्वाचनमा प्रिमियर लिगका क्लब मालीकहरूको सर्मथन कसलाई ?

प्रिमियर लिगका धेरै क्लबहरूमा अमेरिकी लगानी छ । कतिपय क्लबमा उनीहरू मुख्य लगानीकर्ता हुन् भने कतिपयमा उनीहरूको लगानी थोरै छ । जे होस्, आर्सनल, एस्टन भिल्ला, क्रिस्टल प्यालेस, लिड्स, लिभरपुल, म्यानचेस्टर युनाइटेड र वेस्टह्याम जस्ता क्लबहरूमा अमेरिकी नागरिकहरूको लगानी कुनै न कुनै रूपमा छ नै ।
अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिक आइरहँदा विश्व फुटबलमा सर्वाधिक लोकप्रिय लिग खेल्ने क्लबका लगानीकर्ताले कुन उम्मेदवारलाई सर्मथन गर्छन् भन्ने कुराको खोज आफँैमा रोचक छ । त्यसो त अमेरिकी राजनीतिमा धनी नागरिकहरूले आफूलाई मन पर्ने उम्मेदवार र पार्टीलाई चन्दा दिने चलन दशकौँ देखिएको हो । जुन युरोपियन राजनीतिमा कम अभ्यास हुन्छ ।
सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावी दौडका क्रममा करिब ६.५ बिलियन डलर खर्च भएको थियो । जुन त्यसको एक वर्षपछि बेलायतमा भएको चुनावमा खर्च भएको रकम भन्दा ठ्याक्कै १ सय गुणा धेरै हो । जबकि दुई मुलुकको जनसंख्यालाई तुलना गर्ने हो भने अमेरिकाको जनसंख्या बेलायतको भन्दा ५ गुणाले मात्र धेरै छ ।
अमेरिकामा कसले कसलाई कति दान गर्यो भन्ने थाहा पाउन अमेरिकाको संघीय निर्वाचन आयोगको वेबसाइटमै हेरे पुग्छ । तर विस्तृत विवरण सकंलन गर्न भने सजिलो हुँदैन किनभने चन्दा दिनेहरूले एकै वर्षमा सबै रकम उपलब्ध गराउने होइनन् । उनीहरूले विभिन्न वर्षहरूमा चन्दा उपलब्ध गराएका हुन्छन् ।
दुवै पार्टीका उम्मेरवारलाई चन्दा दिने अमेरिकीहरूको संख्या पनि उल्लेख्य नै हुन्छ । कोलम्बिया विश्वविद्यालयका शोधकर्ता माइकल जी मिल्लेरका अनुसार धनाढ्य अमेरिकीहरूले राजनीतिक आस्थाका आधारमा नभई भविष्यमा लाभ लिन सकिन्छ सकिँदैन भन्ने विश्लेषणका आधारमा चन्दा दिने गरेका छन् । अमेरिकी निर्वाचन अभियानको वित्तीय स्रोतबारे अध्ययन गर्ने मिल्लर भन्छन्, हामीले गर्ने शोधले के देखाउँछ भने राजनीतिज्ञहरू आम जनताप्रति भन्दा चन्दादाताप्रति बढी जवाफदेही देखिन्छन् ।
धेरैजसो धनाढ्य अमेरिकीहरूले प्रत्येक निर्वाचनमा विजयी उम्मेदवारलाई नै सर्मथन गरेको देखिएको छ । अमेरिकी खेलकुदमा लोकप्रिय रहेका क्लबका धेरैजसो मालिक तथा लगानीकर्ताहरूले सन् २०१६ को चुनावमा डेमोक्र्याट पार्टीका भन्दा रिपब्लिकन पार्टीका उम्मेदवारलाई धेरै चन्दा दिएको देखिएको थियो ।
किन धनी अमेरिकीहरूले बढीजसो रिपब्लिकन पार्टीलाई सर्मथन गर्छन् त ? किनभने रिपब्लिकनले सधैँ ट्याक्स घटाउने नीति लिन्छ । सन् २०१७ मा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका साथी सांसदहरूले ट्याक्स घटाउन ल्याइएको आवश्यक ऐनलाई सर्मथन गरेका थिए ।
पछिल्लो चुनावमा अमेरिकी क्लब मालिकहरूले सिधै राष्ट्रपतिको उम्मेदवारलाई चन्दा दिँदा भने हिलारी क्लिन्टन प्राथमिकतामा परिन् । पछिल्लो समयमा खेलाडी तथा सर्मथकहरूले क्लब मालिकहरूलाई उदारवादी चिन्तन बोकेका राजनीतिज्ञलाई मात्र समर्थन गर्न दबाब दिइरहेका छन् ।
आर्सनल
स्टान क्रोएन्केले खेलकुदमा लगानी गर्नुअघि रियल स्टेटमा संलग्न थिए । वालमार्टको नाममा व्यापार साम्राज्य भएको वाल्टन परिवारमा नाता गाँसेका क्रोएन्केले आर्सनलबाहेक एनएफएल, एनबिए र एमएलएस लगायतका विभिन्न अमेरिकी लिगमा खेल्ने क्लबमा लगानी गरेका छन् ।
जेम्स मोन्टेग्युको दि बिलिनियर्समा उल्लेख भएअनुसार क्रोएन्केले सन् २००० देखि २०१३ सम्ममा करिब तीन लाख डलर रिपब्लिकन उम्मेदवारहरूका चुनावी अभियानमा दान गरेका थिए ।
सन् २०१६ मा उनले रिपब्लिकन पार्टीका सिनेट उम्मेदवार छनौट कमिटीलाई समेत ३३ हजार चार सय डलर चन्दास्वरूप उपलब्ध गराएका थिए । तर त्यही वर्ष उनले हिलारी क्लिन्टनको चुनावी अभियानलाई पनि १ लाख डलर चन्दा दिएको बताइन्छ । उनले दिएको सबैभन्दा ठूलो चन्दा रकम भने १० लाख डलर रहेको थियो । उनले ट्रम्प राष्ट्रपतिमा चुनिएर आएपछि सो बराबरको रकम दान गरेका थिए ।
एस्टन भिल्ला
रेन्डी लेर्नर सन् २००६ बाट २०१६ सम्म एस्टन भिल्लाको क्लब मालिकका रूपमा रहे । सन् २०१८ देखि इजिप्टका नासेफ साविरिस र अमेरिकी नागरिक वेस एडेन्स भिल्लाको लगानीकर्ताका रूपमा भित्रिए । एडेन्स अमेरिकी बास्केटबल लिगको मिलवाउकी बक्सका सह लगानीकर्ता पनि हुन् । क्रोएन्केले रिपब्लिकन र डेमोक्रयाट दुबैलाई सर्मथन गरेपनि एडेन्स भने डेमोक्रयाटलाई मात्र सर्मथन गर्छन् ।
सन् २०१६ मा एडेन्सले क्लिन्टनको चुनावी अभियानमा सर्मथन गरिरहेको समूहलाई ७० हजार डलर दान दिएका थिए । त्यस्तै २०१८ को मध्यावधि निर्वाचनमा पनि उनले डेमोक्रयाटसँग नजिक रहेका समूहहरूलाई ७५ हजार डलर चन्दा दिएका थिए । पछिल्ला वर्षहरूमा एडेन्सले डेमोक्रयाटका सिनेट उम्मेदवारहरूलाई दसौँ हजारभन्दा बढी बराबरको चन्दा उपलब्ध गराएका छन् । उनले जोन म्याककैन र बाराक ओबामाका लागि पनि चन्दा दिएका थिए । बिगतमा उनले रिपब्लिकन उम्मेदवारहरूको चुनावी अभियानलाई आर्थिक सहयोग नगरेका होइनन् तर एकदम नगण्य मात्र ।
गत अगस्टमा अमेरिकी प्रहरीको गोलीले मारिएका अश्वेत अमेरिकी नागरिक ज्याकब ब्लेक मारिएपछि विरोधमा मिलवाउकीले महत्वपूर्ण प्ले अफ खेल बाहिष्कार गरेका थिए । एडन्सले विज्ञप्ति जारी गर्दै क्लब र खेलाडीका निर्णयलाई सर्मथन गर्दै ट्रम्प सरकारको आलोचना पनि गरेका थिए ।
उत्तरमा, ट्रम्पले त्यसै साता एनबिए बढी नै राजनीतिक हुन थालेको भन्ने अभिव्यक्ति दिएका थिए । अमेरिकी समाज राजनीतिक रूपमा विभाजित हुने क्रम बढिरहँदा क्लब मालिक, खेलाडी लगायतले राजनीतिक वक्तव्य दिने सिलसिला बढेको छ । अमेरिकी क्लबहरूले कतिपय राजनीतिक र समाजिक मुद्दामा पक्ष लिनैपर्ने बाध्यता हुन्छ । जस्तै, ब्लेक मारिँदा मिलवाउकीले अश्वेत नागरिकहरूको अधिकारका पक्षमा नबोलेको भए उसका सर्मथक तथा खेलाडीहरूको चर्को आलोचना सहनुपर्ने हुन सक्थ्यो ।
क्रिस्टल प्यालेस
स्टिभ पेरिस बाहेक क्रिस्टल प्यालेसका दुई अमेरिकी मालिक छन् । तीमध्ये डभिड ब्लिटजरले जो बाइडनको चुनावी अभियानलाई सहयोग गरिरहेका छन् भने जोसुवा ह्यारिस ट्रम्पसँग नजिक छन् । यी दुईको एनबीए र एनएचएलका खेल्ने क्लबहरूमा पनि लगानी छ ।
गत वर्ष ब्लिटजरले बाइडेनको चुनावी अभियानलाई २८ सय डलर आर्थिक सहयोग गरेका थिए भने विगतमा अन्य डेमोक्रयाट समूहहरूलाई हजारौँ डलर सहयोग गरिसकेका छन् । तर उनले मिच म्याककोन्नेल जस्ता रिपब्लिकन पार्टीका नेताहरूलाई पनि सहयोग गरेका छन् । ट्रम्पसँग ह्यारिसको सम्बन्धबारे त विदेशी सञ्चार माध्यमले समेत लेख्न भ्याएका छन् ।
२०१८ मा लि गार्डियन र न्यूयोर्क टाइम्सले ह्यारिसले धेरै पटक ट्रम्पका ज्वाइँ जेरड कुश्नरसँग भेट गरेको भन्ने समाचार प्रकाशित गरेका थिए । उनले ह्वाइट हाउसमा कुनै जिम्मेवारी पाउन सक्नेसम्मको समाचार आएका थिए । भलै ह्यारिस ह्वाइट हाउस प्रवेश गरेनन्, तर उनको कम्पनीले कुश्नरको परिवारलाई रियल स्टेटमा लगानी गर्न एक सय ८४ मिलियन डलर ऋण भने दियो ।
ह्यारिसले सन् १९९९ देखियताका वर्षहरूमा अमेरिकी राष्ट्रपतीय चुनावका आकांक्षीहरूलाई आठ लाख डलरभन्दा बढी आर्थिक सहयोग गरिसकेका छन् । उनले सन् २००८ मा बाराक ओबामाको चनावी अभियानलाई पनि २३ सय डलर चन्दा दिएका थिए । ब्लिटजर र ह्यारिसले अमेरिकी सहरमा रगंभेदविरुद्ध लड्न संयुक्त रूपमा २० मिलियन डलर सहयोग गर्ने घोषणा गरेका थिए ।
फुलहम
फुलहमका मालिक शाहिद खान पाकिस्तानी मूलका हुन् । खानको अमेरिकी फुटबल लिग खेल्ने ज्याकसनभिल जागुएर्स र अल एलिट रेसलिङमा पनि लगानी छ । आर्सनलका क्रोएन्के जस्तै, खान रिपब्लिकन पार्टीका भोटर हुन् । उनले ट्रम्पको चुनावी अभियानमा एक मिलियन डलरभन्दा बढी दान गरेका थिए । सातवटा देशमा मुस्लिमलाई अमेरिका प्रवेशमा कडाइँ गर्ने घोषणा गरेपछि भने खानले ट्रम्पको विरोध गरेका थिए ।
अमेरिकामा जर्ज फ्लोइडको हत्या भएपछि खानले एक लेख लेख्दै अमेरिकामा व्याप्त रगंभेदको विरोध गरेका थिए । उनले ट्रम्पको सिधा आलोचना नगरी अमेरिकी समाजमा कोरोना भाइरसले ल्याएको विभाजनबारे समेत चर्चा गरेका थिए ।
केही वर्षअघि लन्डनको वेम्बली रगंशाला खरिद गर्न प्रयास गरेका खान, ट्रम्पका आर्थिक नीतिका प्रशंसक हुन् ।
लिड्स युनाइटेड
लिड्स युनाइटेडको नब्बे प्रतिशत शेयर इटालियन व्यापारिक परिवार आन्द«ेइ राड्रिज्जानीको नाममा छ । तर बाँकी १० प्रतिशत शेयर भने अमेरिकी योर्क परिवारका नाममा छ । योर्क परिवारको लगानी एनएफएल खेल्ने सान फ्रान्सिसको र्फोटिनाइनर्समा पनि लगानी रहेको छ ।
जोन योर्क र डेनिस योर्कले रिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई सन् २००० देखि निरन्तर आर्थिक सहयोग गर्दै आइरहेका छन् । अरु क्लब मालिकहरूको तुलनामा योर्क परिवारको सहयोग राशि सानो छ । तर उनीहरूले आफ्नो सहर ओहायोका रिपब्लिकन उम्मेदवारहरूका अभियानलाई निरन्तर सहयोग गर्दै आएका छन् ।
लिभरपुल
लिभरपुल र बोस्टन सहर लेफ्ट विचारधारासँग नजिक छन् । यी दुई सहरका ठूला क्लब, बोस्टन रेड सक्स र लिभरपुल हुन् । जसलाई फेनवे स्पोर्टस गु्रपले सञ्चालन गर्छ । फेनवेको स्थापना लेफ्ट विचारधारा बोक्ने अमेरिकी अर्बपति जोन डब्लु हेनरी र टोम वेरनरले गरेका हुन् ।
वेरनर क्लिन्टन परिवारसँग नजिक छन् । उनले गत वर्ष बाइडेनको चुनावी अभियानलाई ७५ हजार आर्थिक सहयोग गरेका थिए ।
सन् २००४ मा रेड सक्सले ८६ वर्षमा पहिलो पटक वल्र्ड सिरिज जित्यो । त्यसको केही दिनपछि नै वेरनर र हेनरी जोन केरीको चुनावी ¥यालीमा देखा परेका थिए । केरी तिनै हुन् जो जर्ज डब्लु बुसलाई दोस्रो पटक राष्ट्रपति हुनबाट रोक्न असफल भएका थिए ।
हेनरी पनि डेमोक्रयाट पार्टीसँग नजिक छन् । उनको बोस्टन ग्लोब नामक पत्रिका छ । जो ट्रम्पको नीतिहरूको कट्टर आलोचक हो । यो पत्रिकाले सन् २०१६ को निर्वाचनमा हिलारी क्लिन्टनलाई सर्मथन गरेको थियो । ट्रम्प स्वतन्त्र मिडियाका विपक्षमा रहेको भन्दै उनीविरुद्ध बोस्टन ग्लोबले अभियान नै चलाएको थियो ।
म्यानचेस्टर युनाइटेड
कुनै समयमा ट्रम्प पुत्रको आर्सनल जर्सी लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल थियो । त्यसपछि ट्रम्प पनि आर्सनल समर्थक नै रहेछन् कि भनेर अड्कल काटियो । उनले प्रस्टीकरण दिए, म आर्सनलको सर्मथक होइन । तर सोही लिगमा मेरो साथीको अर्को क्लब छ । उनी म्यानचेस्टर युनाइटेडतर्फ इंगित गर्दै थिए ।
युनाइटेडको प्रमुख लगानीकर्ता परिवारका एड ग्लेजरले ट्रम्पको चुनावी अभियानलाई ९८ हजार डलर दान दिएका थिए । त्यस्तै उनले ५२ सय डलर हिलारी क्लिन्टनको अभियानलाई पनि दिएका थिए । तर त्यसै दिन उनले रिपब्लिकन पार्टीको कमिटीलाई भने ३३ हजार ४ सय बराबरको आर्थिक सहयोग गरे ।
पछिल्ला वर्षहरूमा ग्लेजर परिवारले ट्रम्पलाई दिने सहयोगमा वृद्धि गरेको छ । आसन्न निर्वाचनका लागि चलिरहेको ट्रम्पको चुनावी अभियानका लागि एडले चार लाख डलर सहयोग गरेका छन् । एडले ट्रम्पका लागि फन्डरेजिङ अभियान चलाउँदै २ लाख ५० हजारभन्दा बढी रकम संकलन गरेका थिए ।
उनका भाइहरू ब्रायन र जोलले पनि रिपब्लिकन पार्टीका विभिन्न तहका उम्मेदवारलाई सहयोग गर्दै आएका छन् । त्यस्तै, ग्लेजर परिवारकै अभ्राम भने डेमोक्रयाटसँग नजिक छन् । उनले यस वर्ष मात्र बाइडेनको चुनावी अभियानलाई चार लाखभन्दा बढी सहयोग गरेका छन् ।
शोधकर्ता मिल्लर, अमेरिकी धनाढ्य परिवारमा सदस्य भिन्दाभिन्दै पार्टीसँग नजिक हुनु अनौठो नभएको बताउँछन् । धनी परिवारका सदस्य आफ्नो रुचि अनुसारका पार्टी र उम्मेदवारसँग नजिक रहन्छन् । अमेरिकी समाजमा यो नयाँ होइन । कुनै परिवार सम्पन्न छ भने त्यसका सदस्य कहिले पनि एउटै पार्टीमा हँुदैनन् । मिल्लरले यसै भने ।
वेस्टह्याम युनाइटेड
प्रिमियर लिगकै वेस्टह्याममा ८६ प्रतिशत शेयर बेलायती व्यापारी डेभिड सुलिभन र डेभिड गोल्डको छ । बाँकी लगानी भने अमेरिकी अल्बर्ट ट्रिप स्मिथको नाममा छ । स्मिथ, अरु क्लब मालिकभन्दा लो प्रोफाइलमा रहन चाहन्छन् । तर उनले रिपब्लिकन पार्टीका नेताहरूलाई २० हजार डलरभन्दा बढी सहयोग गरेका छन् ।
प्रिमियर लिगका क्लबका अमेरिकी मालिकहरू रिपब्लिकन र डेकोक्रयाटमा विभाजित भए पनि अरु लिगका क्लबमा लगानी गरेकाहरू भने प्रायः एकै पार्टीमा आबद्ध छन् ।
पछिल्लो वर्षमा इटालियन फुटबलमा अमेरिकी लगानी बढ्दो छ । सन् २०१८ मा उसी मिलानमा अमेरिकी लगानीकर्ता भित्रिएका थिए । मिलानको मुख्य लगानीकर्ता इलियोट म्यानेजमेन्ट कर्पोरेसन हो । यसको संस्थापक रहेका पउल सिङ्गरले गएका वर्षहरूमा रिपब्लिकन पार्टीलाई प्रिमियर लिग क्लब मालिकहरूको भन्दा धेरै सहयोग गरेका छन् । उनी एलजिबिटी अभियानलाई पनि सहयोग गरिरहेका हुन्छन् ।
इटालीकै क्लब एस रोमाको मालिक पनि अमेरिकी नागरिक हुन् । डान फ्रेडकिनले यसै वर्ष मात्र रोमा खरिद गरेका हुन । उनी रिपब्लिकन पार्टीका सर्मथक हुन् ।
त्यस्तै सिरी एकै पार्माका मालिक हुन् काइल क्राउज । उनले पछिल्ला वर्षमा रिपब्लिकन पार्टीका मिट रोम्नी लगायतका नेताहरूलाई ७२ हजारभन्दा धेरै चन्दा दिएका छन् । फियोरेन्टिनाका मालिक रोक्को कोमिसो सानैमा अमेरिका पुगेका थिए । अमेरिकामा उनको देशकै सबैभन्दा ठूलो कम्पनी (मिडियाकोम) छ । कोमिसोले पनि रिपब्लिकनलाई सर्मथन गर्छन् । उनले ट्रम्पको चुनावी अभियानलाई २७ हजारभन्दा धेरै सहयोग गरेका थिए ।
जर्मनीको फुटबल लिगका क्लबमा विदेशी लगानी भित्र्याउन सजिलो छैन । उता स्पेनका ठूला क्लबहरूको सञ्चालन मोडल इङ्ल्यान्ड र इटलीको भन्दा धेरै फरक छ । तथापि स्पेनको मर्योकामा भने अमेरिकी रियल स्टेट व्यापारी रोर्बट सारभर क्लब मालिकका रूपमा छन् । उनी पनि रिपब्लिकनकै भोटर हुन् । उनले सन् २००८ को चुनावमा जोन म्याककैनलाई ७० हजार चन्दा दिएका थिए ।
(दि एथलेटिकमा प्रकाशित यो आलेख इकागजका प्रबिनबिक्रम कटवालले भावानुवाद गरेका हुन् ।)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया