शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

१४ गतेदेखि देशभर खोप अभियान सुरु हुने

काठमाडौँ : कोभिड-१९ विरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले फ्रन्टलाइनरलाई खोप लगाएर अभियान १४ गते बिहान १० बजे खोप अभियान सुरु गर्ने जानकारी दिए ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको शुभारम्भ गर्नेछन् । खोप अभियान सात प्रदेशका अस्पताल तथा काठमाडौँमा रहेका प्रमुख अस्पतालहरूमा भर्चुअल विधिबाट शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ । 

‘सातै प्रदेशभित्रका ६२ वटा अस्पतालहरूमा र एक २० भन्दा बढी  खोप केन्द्रहरूबाट कोभिड विरुद्धको खोप अभियान सुरु हुनेछ,’ स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘१८ गतेभित्र देशका ७७ वटै जिल्लाका तीन वटा खोप केन्द्र मार्फत् अभियान सञ्‍चालन हुनेछ ।’
 
उनका अनुसार पहिलो चरणको खोप अभियान १० दिनभित्र सम्पन्‍न हुनेछ । पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । 
उनले नेपालमा ल्याइएको खोप तेस्रो चरणको ट्रायल भइसकेकाले निर्धक्क भएर लगाउन सबैमा आग्रहसमेत गरेका छन् ।