माझीलाई फसाउने अपराधीलाई तुरुन्त कारबाही गर

दोलखाको तामाकोसी गाउँपालिका-१ का लछुमन माझीको नाममा फर्म दर्ता गरेर करोडौं राजस्व हिनामिना गर्ने कुख्यात अपराधिक मनोवृत्तिका मानिसहरूले उनलाई फसाएका छन् । बिहान-बेलुका हातमुख जोर्न समस्या भएका माझीलाई करोडौंको राजस्व छलेको मुद्दामा अदालतले झिकाउन आदेश दिएको पत्र गाउँमा पुगेपछि खैलाबैला भएको छ किनकि भूकम्प पीडितलाई राहत दिने भन्दै बस्तीका अन्यको पनि नागरिकता र हस्ताक्षर संकलन गरिएको छ । भूकम्पले भत्केको घर बनाउन राहत दिन्छु भन्ने बहानामा सोझा, सामान्य साक्षर पनि नभएका र गरिब व्यक्तिको कागजात र दस्तखत लिएर दुरुपयोग गर्ने अपराधीहरूलाई दण्डित गर्नैपर्छ ।
यो घटनाले झण्डै अढाइदशक अघिको एलसी काण्डको पुनरावृत्ति गरेको छ । ४ लाख ७३ हजार २ सय अमेरिकी डलर हिनामिना गरेको अभियोग लागेका एलसी काण्डका अभियुक्त महोत्तरीका पूर्णबहादुर बलम्पीकी अदालतमा उपस्थित हुँदा खुट्टामा चप्पल पनि थिएन ।
त्यसमा अन्य अभियुक्तहरू पनि त्यस्तै सोझासाझा र निरक्षर तथा गरिब व्यक्तिहरूलाई नै कुख्यात व्यापारीहरूले उपयोग गरेका थिए । प्रकाश टिबडेवाल र आनन्द अग्रवाल भन्ने व्यापारीहरू मिलेर देशका विभिन्न भागमा बसोबास गर्ने सोझासाझा, निरक्षर मानिसहरूको नागरिकता हस्ताक्षर तथा औंठाछाप लिएर ९२ ओटा फर्महरूमार्फत् विदेशबाट सामान आयात गर्थे । त्यी फर्महरूबाट उनीहरूले १७५ वटा प्रतीतपत्र (एलसी) खोलेर राष्ट्र बैंकबाट सटही सुविधा बाहिर लिएर गएका थिए । त्यतिबेला किसानहरूलाई मल आयातमा सहुलियत दिने उद्देश्यले सरकारले डलर सटहीमा प्रतिडलर ८ रुपैयाँ अनुदानसमेत दिएको थियो ।
अर्को व्यक्तिको नाममा फर्म दर्ता गरेर कारोबार गर्न पाउने कानुनी छिद्रको फाइदा उठाएर टिबडेवाल र अग्रवालले पूर्णबहादुरलाई शिकार बनाएजस्तै अहिले भूकम्प पीडितलाई राहत लिएर दोलखा पुगेका अपराधिक मनोवृत्तिका मानिसहरूले लछुमन माझीलाई फसाए
भन्सारमा सेटिङ गरी मल आयातको नक्कली प्रज्ञापनपत्र बनाएर उक्त व्यापारिक समूहले विदेशी मुद्रा बाहिर पुर्याउँथ्यो । त्यतिबेला भन्सार विभागका महानिर्देशक लोकमानसिंह कार्कीमाथि समेत सेटिङमा नक्कली प्रज्ञापनपत्र बनाएको आरोपसमेत लागेको थियो । उनैपछि अर्थसचिव, मुख्यसचिव हुँदै गणतान्त्रिक नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त समेत भए ।
गत महिना मात्रै पनि राजस्व अनुसन्धान विभागले मजदूरका नाममा फर्म खोलेर राजस्व छली गर्ने सर्लाही घर भई पदमा कोलोनी बस्ने रामकिशोरप्रसाद विरुद्ध मुद्दा दायर गरेको थियो । वस्तु आयात गर्ने नक्कली फर्महरूको बिगबिगी नेपालमा नौलो होइन । वस्तु आयात गर्ने फर्महरूको संख्या नै नेपालमा ३३ हजार भन्दा धेरै छन् ।
नेपालजस्तो सानो अर्थतन्त्रमा यति धेरै आयातकर्ता फर्महरू के उद्देश्यले दर्ता गरिएका होलान्, यसका स्वामित्वकर्ताहरू को-को हुन् भनेर प्रशासनले केलाउने प्रयास गरेमा मात्र पनि धेरै कुरा स्पष्ट हुन्छ । बैंकमा एउटा सामान्य खाता खोल्दा त ग्राहकको तीनपुस्ते विवरण चाहिन्छ । व्यावसायिक कारोबार गर्ने फर्म कसको हो ? कस्तो प्रकृतिको व्यक्ति हुन्, उनी त्यो व्यवसायका गर्ने व्यक्ति हुन् कि होइनन् भनेर पत्ता लगाउन कुनै अप्ठ्यारो छैन ।
अर्को व्यक्तिको नाममा फर्म दर्ता गरेर कारोबार गर्न पाउने कानुनी छिद्रको फाइदा उठाएर टिबडेवाल र अग्रवालले पूर्णबहादुरलाई शिकार बनाएजस्तै अहिले भूकम्प पीडितलाई राहत लिएर दोलखा पुगेका अपराधिक मनोवृत्तिका मानिसहरूले लछुमन माझीलाई फसाएका छन् । माझीलाई फसाउने त्यी अपराधीहरुलाई प्रशासनले तुरुन्त पहिचान गरी कारबाही गर्नुपर्छ ।

शासन प्रणाली होइन, नेतृत्वको गुणस्तरले राष्ट्रको भविष्य निर्धारण गर्छ

गणतन्त्र दिवस: कानुन अन्तर्गत समान न्याय नै लोकतन्त्रको मूल आधार

त्रिभुवन विश्वविद्यालयलाई परिवर्तन गर्ने सुनौलो अवसर नगुमाउ

नेपाल-भारत सम्बन्धमा आर्थिक कूटनीति

भूकम्पमा बाँचेकालाई चिसोबाट मर्न नदेऊ सरकार

इजरायलमा रहेका बाँकी नेपालीहरूलाई छिटो फर्काऊ

प्रसारण लाइनका तगारा हटाउन छाता ऐन आवश्यक

प्रतिक्रिया