बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

पाँच अधिवक्ताले विज्ञप्ति जारी गरेर भने : प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ

फाइल तस्बिर

काठमाडौँ : संवैधानिक इजलासमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीको विरोध जनाएका छन् ।  अधिवक्ताहरु सन्तोष गिरी, ममिता नेपाली गिरी, आवेश अधिकारी, रक्षा सिंह, कृष्ण पालले संयुक्त रुपमा विज्ञप्ती जारी गरी प्रधानमन्त्री ओलीको अभिव्यक्ति प्रति विरोध जनाएका हुन् ।  केही दिन अघि प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता भण्डारीलाई ‘बाजे’ भन्दै इजलासमा तमासा देखाएको भनेर बोलेका थिए । 

‘वरिष्ठ अधिवक्ता आदरणिय कृष्णप्रसाद भण्डारीले सम्मानित सर्वोच्च अदालतमा गर्नुभएको बहस पैरवीको विषयलाई अनावश्यक टिकाटिप्पणीको विषय बनाई नकारात्मक धारणाहरु जारी गरि नेपालमा कानुन व्यवसायीहरुको आस्थाको केन्द्रका रुपमा रहेका वरिष्ठतम् वरिष्ठ अधिवक्ता भण्डारीलाई अपहेलना गरि ‘बाजे’ र उहाँले सम्मानित सर्वोच्च अदालतमा गर्नु भएको बहसलाई ‘तमासा’ को संज्ञा दिनु भएको हामी खेद प्रकट गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।  उनीहरुले प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा माफी माग्नु पर्ने पनि बताएका छन् ।   

‘कानुन व्यवसायीको पेशा गरिमामय पेशा भएको र एक जिम्मेवार पदमा रहेको व्यक्तिले यस किसिमको आपत्तिजनक शब्हरु प्रयोग गर्नुले सम्मानित सर्वोच्च अदालतको गरिमा र कानुन व्यवसायीहरुको छविमा गम्भिर ठे‍स् पुग्ने भएकाले प्रधानमन्त्रीले वरिष्ठ अधिवक्ता र सम्पुर्ण कानुन व्यवसायीको छविमा आँच आउने किसिमको कार्य गरेको हुँदा उहाँले आफूले बोलेका कुराहरु प्रति जवाफदेही हुनु पर्ने र सार्वजनिक रुपमा माफी माग्नु पर्ने भनि हामी यस बिज्ञप्ति मार्फत जोडदार अपिल गर्दछौ ’ विज्ञप्तीमा भनिएकाे छ ।