आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति भण्डारीको हातबाट दसैँको टीका

तस्वीर सौजन्यः प्रधानमन्त्रीको सचिवालय

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीको टीका ग्रहण गरेका छन् प्रधानमन्त्री ओली पत्‍नी राधिका शाक्यसहित राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई टीका लगाइ दिएका थिए । त्यसबाहेक बालुवाटारमा अरु टीकाको कार्यक्रम नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। कोभिड संक्रमणका कारण यस वर्ष प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम भने यसअघि नै रद्द भइसकेको छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गरेकी छन्। उनले  बिहान १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन्।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरिन्। अघिल्ला वर्षहरुमा जस्तो सरकार प्रमुख र सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ ।

त्यसैले विगत वर्षमा टिकाको दिन निकै चहलपहल देखिने राष्ट्रपति कार्यालय यस वर्ष सुनसान देखिएको छ ।