शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

‘कल्चरल डिप्लोमेसी’मा अमेरिका, भारत र चीन : को अघि, को पछि ?

काठमाडौं : भारत, चीन र अमेरिकाका राजदूतले दसैँ, तिहार र नेपाली नयाँ वर्षमा शुभकामना दिन थालेको धेरै भइसकेको छ । पछिल्लो समय उनीहरूबीच प्रतिस्पर्धाको शैलीमा शुभकामना सन्देश आउन थालेका छन् । यसरी शुभकामना दिने प्रचलन अमेरिकीहरूले अघि बढाएका हुन् ।

यसपालि अमेरिकी राजदूत र्‍यान्डी बेरीले विजयादशमीको दिन शुभकामना लेखेलगत्तै भारतीय राजदूत विनयमोहन क्वात्राले पनि शुभकामना लेखे । उनले यसअघि भारतीय दूतावासको ट्विटर ह्यान्डलबाट शुभकामना लेख्थे । यसपटक उनले आफ्नो ह्यान्डल उपयोग गरे । त्यसको केही बेरमै चिनियाँ राजदूतले आफूले गाएको ‘रेशम फिरिरी’ गीत अपलोड गरिन् ।

विजय दशमीको दिन सोमबार अमेरिकी राजदूत बेरीले बिहानै सात बजेर केही मिनेटमा शुभकामना ट्विट गरे भने त्यसको दुई घण्टापछि भारतीय राजदूत र तीन घण्टापछि चिनियाँ राजदूत होउ यान्छीले ट्विटेकी हुन् । अन्य राजदूतहरूले पनि शुभकामना दिने गर्छन् । यी तीन राजदूतबीच भने काठमाडौंमा सबै विषयमा प्रतिस्पर्धा र देखासिखी चल्ने गर्छ । 

अमेरिकी राजदूतले चार दिनअघि पुरानो दसैँ भिडियो राख्दै शुभकामना दिएका थिए । त्यही दिन राजदूत होउले पनि शुभकामना लेखेकी थिइन् । अमेरिकीहरू नेपाली चाडपर्वमा शुभकामना दिने मात्र होइन, यहाँको धरोहरको जीर्णोद्धार पनि गर्ने गर्छन् । उनीहरू पहिलेदेखि यसमा सक्रिय छन । भारतले पनि अमेरिकी शैली पछ्याएको छ । २०७१ को भूकम्पपछि चीनले पनि यहाँका धरोहर जीर्णोद्धारमा सक्रियता देखाएको छ । 

यही प्रतिस्पर्धाले पछिल्लो समय उनीहरूले दिने शुभकामना र शैलीबारे पनि छलफल हुन थालेको छ । राजनीतिक र कूटनीतिक वृत्तमा उनीहरूका ट्विटबारे छलफल हुने गर्छ । अमेरिका, चीन र भारतका राजदूतहरूले यस वर्ष मात्र होइन, वर्षौंदेखि शुभकामना दिने गरेका छन् । तर शैलीमात्र फरक भएका हुन् । पत्र लेखेर दिने शुभकामना अब ट्विटरमा आउन थालेका हुन् । दूतावासको भित्तामा लेखेर दिने शुभकामना सामाजिक सञ्जालको भित्तामा आउन थालेका हुन् । 

उनीहरूले नेपाली नयाँ वर्षमा त आफ्नो मुलुकको राष्ट्रप्रमुख वा विदेश मन्त्रीको शुभकामना नै मगाउने गर्छन् । राष्ट्रिय दिवसमा दिने शुभकामनाभन्दा यस्ता सांस्कृतिक पर्वमा दिने शुभकामनाको छुट्टै किसिमको भावनात्मक सम्बन्ध हुनेगर्छ ।

सायद यही कारण शुभकामनाको शैली परिवर्तन भएको वा त्यसतर्फ कूटनीति मोडिएको हो । अमेरिकी राजदूतले दसँैमा टिका–जमरा लगाएको तस्बिर राख्न थालेको धेरै भइसक्यो । तर पछिल्लो समय चीन र भारतले पनि यही शैली अपनाएका छन् । 

यद्यपि भारतले दसैँमा आफ्ना नजिककालाई शुभकामना दिने र दसैँमा निम्तो दिएर ‘लन्च–डिनर’ खुवाउने कूटनीति त थियो नै । बेरीले आफूले दसैंमा टिका लगाएको र आफ्नालाई लगाइदिएको तस्बिर पोस्टिँदै लेखेका छन्, ‘२०७७ सालको विजयादशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिसनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं ।’

उनले तस्बिर भने पुरानै राखेका हुन् । यसअघिका अमेरिकी राजदूतको तस्बिर पनि केही दिनअघि सामाजिक सञ्जालमा आएका थिए । अमेरिकी राजदूतको शुभकामना आउने गरेकाले सबैको ध्यान जाने पनि गर्छ ।

‘असत्य माथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयादशमीको शुभअवसरमा नेपालका साथीहरूलाई हार्दिक शुभकामना’, भारतीय राजदूत क्वात्राले ट्विटरमा लेखेका छन्, ‘यस चाडले तपाई र तपाईंको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् ।’

उनले एउटा कार्ड नै बनाएर आफ्नो तस्बिरसहितको शुभकामना दिएका हुन् । एएमबीभीएमक्वात्रा ट्विटर हयान्डलबाट यो उनको पहिलो ट्विटका रुपमा शुभकामना आएको छ । उनको शुभकामनापछि चिनियाँ राजदूत होउको पनि शुभकामना आयो । उनले अलिक फरक शैली अपनाइन् ।

नेपाली चर्चित गीत आफैँले गाएको भिडियोसहित शुभकामना दिएकी हुन् । नेपाली चर्चित गीत रेशम फिरिरीलाई केही फरकपनमा गाएर शुभकामना दिएकी हुन् । हुन त, उनले चार दिनअघि नै दसैं शुभकामना दिएकी थिइन् । उनले लेखेकी थिइन्, ‘बडादसँैको उपलक्ष्यमा सबै नेपाली दाजुभाइ दिदी–बहिनीहरूलाई सुख, समृद्धि र उन्नतिका लागि मंगलमय शुभकामना ।’

अमेरिकी दूतवासमा मात्र होइन, काठमाडौंमा रहेका अन्य मुलुकका दूतावासले पनि नेपाली चाडपर्वलाई नजिकबाट नियाल्ने तथा कतिपयले आफ्नो मुलुकका कार्यकारीको सन्देशसमेत उपलब्ध गराउने गर्छन् । केही वर्षयतादेखि अमेरिकाले नेपाली नयाँ वर्ष र अन्य ठूला चाडपर्वमा शुभकामना दिने गरेका छन् ।

राजदरबारको उपस्थिति रहँदासम्म यस्तो कार्यक्रम आदान–प्रदान दरबारमाझ हुने गरेको परराष्ट्र अधिकारी स्मरण गर्छन् । विदेशीका सन्देश दरबारले बाहिर ल्याए मात्र पत्रिकामा आउँथ्यो । तर अब त प्रविधिका कारण तुरुन्तै सार्वजनिक हुने गर्छ ।

विशेषगरी सम्बन्धित मुलुकले सामाजिक सञ्जालको उपयोग गर्दै तत्काल बाहिर ल्याउने गरेको छ । अमेरिकीसँगै भारतीय, चिनियाँ, बेलायती, फ्रेन्च, पाकिस्तानी, रसियन, जर्मन, कतार लगायतले पनि दूतावासमा शुभकामना आदान–प्रदान गर्ने गरेका छन् ।

राजदूतावासहरूले नेपालीको चाडलाई कुनै न कुनै रूपमा स्मरण गरिरहेका हुन्छन् । तीमध्ये अधिकांशले स्तर अनुरुपको ह्विस्की, भोड्का, वाइन, मिठाई र नट्ससमेत निकटस्थ तथा राजनीतिक नेतृत्वलाई दिने गरेका छन् । आर्कषक प्याकिङमा शुभकामना कार्डसहित त्यस्तो उपहार पठाउने प्रचलन पनि छ । मुस्लिम धर्मावलम्बी मुलुकले नट्स र मिठाई, पश्चिमा मुलुक र भारतीयले ह्विस्की वितरण गर्ने गरेको धेरै भइसकेको परराष्ट्र अधिकारीहरू नै बताउँछन् ।

दसैँ शुभकामना भेटेर वा मोबाइलको मेसेजमा होइन मेसेन्जर, इमो, ह्वाट्सअप, इन्स्टा–फेसबुक–ट्विटर–विच्याटको वालमा आउँछ । 

‘नेपालस्थित कूटनीतिक नियोगले आफ्ना शुभचिन्तकलाई दसैँ मा उपहारका लागि उपलब्ध गराउन भन्दै विविध ब्रान्डका ह्विस्की, भोड्का, वाइनको माग बढाउने गर्छन्,’ परराष्ट्र मन्त्रालयका कन्सुलर विभागका एक अधिकारीले भने, ‘दूतावासका नाममा भित्रिएका विदेशी मदिरा जथाभावी बेचबिखनसमेत हुन थालेपछि सरकारले कोटा नै तोकेका कारण चाडपर्वका समयमा बढी नै कोटा बढाएर यस्ता मदिरा मगाउने गर्छन् ।’

नेपालस्थित कूटनीतिक नियोगका अधिकारीले दसैँ तथा नयाँ वर्षमा भेटेर, पोस्टकार्ड तथा फूलको गुच्छा साटासाट गर्ने चलनमा पनि सूचना प्रविधिले बदलाव ल्याइदिएको छ । कूटनीतिक नियोगको यो शैलीलाई सफ्ट पावरका रूपमा बुझ्न सकिन्छ । 

दसैँ शुभकामना भेटेर वा मोबाइलको मेसेजमा होइन मेसेन्जर, इमो, ह्वाट्सअप, इन्स्टा–फेसबुक–ट्विटर–विच्याटको वालमा आउँछ । हुन त, यसपालि कोभिड–१९ को महामारीले यसै पनि टिकाटालालाई समेत प्रविधिकै पर्दामा खुम्च्याएको थियो, शुभकामनाको त के कुरा गराई भयो र !  

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस