शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

अधिनायकवादी सरकारी चिलबाट बचाऔँ

‘सरकार भनेको चील हो, अदालत भनेको चल्लाको माउ हो’ पूर्वप्रधान न्यायाधीश हरिप्रसाद प्रधानले उहिल्यै भनेका थिए, ‘माउले चीलबाट बचाउन चल्लालाई छोपेझैँ अदालतले सरकारी अधिनायकवाद र हस्तक्षेपबाट जनताको रक्षा गर्छ ।’ शक्तिशाली कार्यकारिणी पात्रहरुका कुटिल चाल, झेल र कपटपूर्ण खेलको मिहिन विश्लेषण गरी पूर्वप्रधान न्यायाधीश प्रधानबाट यो अभिव्यक्ति आएको देखिन्‍छ ।

राज्य संयन्त्र सधैंभरि यही चालमा हुन्‍छ । न्यायिक धरोहरले त्यो चालमा चुकुल लगाउनुपर्ने हुन्‍छ । अपवादबाहेक सरकारको चाहना स्वेच्छाचारी र अधिनायकवादी चरित्रकै हुन्‍छ, मात्रा मात्र धेरैथोर हुन्‍छ । त्यहीकारण कार्यकारिणी अधिनायकवादी सोचलाई तह लगाउँदै संविधान र संविधानप्रदत्त स्वतन्त्रता, हक-अधिकारको रक्षा गर्नु अदालतको दायित्व हुन्‍छ ।

दुर्भाग्य, सर्वोच्च अदालतकै चार पूर्वप्रधान न्यायाधीशविरुद्ध ‘अदालतको अपहेलनामा सजाय’ मागिएको रिट निवेदन दर्तासँगै ‘स्वतन्त्रताको पहरेदार’बाट त्यो मर्म र यथार्थ बुझ्‍न अमसर्थ भएझै प्रतीत हुन्‍छ । सर्वोच्च अदालत प्रशासनले पूर्व पहरेदारविरुद्ध यसरी सजिलै ‘अपहेलना रिट’ दर्ता गरेपछि समाज तरंगित बन्‍न पुगेको छ । सँगै न्यायिक इतिहासमा के लेखिन्‍छ र समाजमा कस्तो सन्देश जान्‍छ ? जिज्ञासा जाग्‍नु स्वाभाविक हो ।

संविधान-कानुनका व्याख्याता पूर्वप्रधान न्यायाधीशविरुद्ध त सजिलै ‘अपहेलना’को रिट दर्ता हुन्‍छ भने अरु नागरिकको स्थिति के होला ? संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता र नागरिक स्वतन्त्रताको हविगत के हुन्‍छ ? संविधानप्रदत्त स्वतन्त्रतामाथि यसरी सजिलै खेलबाड हुन्‍छ ? आफ्‍नै चार पूर्व अभिभावकविरुद्ध सहज रिट दर्ता गरेपछि अनेकन्‌ शंका-आशंकासहित मानिसका मनमा अनगन्ती प्रश्न उब्जिएका छन् ।

चार पूर्वप्रधान न्यायाधीश जसले संविधान र कानुनका व्याख्यामै जीवन बिताए, त्यसैका आधारमा न्याय/अन्याय छुट्टाए । तिनले आफ्नो न्यायिक जीवनकालमा नागरिक हक-अधिकार र स्वतन्त्रताका सन्दर्भमा अनगन्ती नजीर स्थापित गराए ।

चार पूर्वप्रधान न्यायाधीश जसले संविधान र कानुनका व्याख्यामै जीवन बिताए, त्यसैका आधारमा न्याय/अन्याय छुट्टाए । तिनले आफ्नो न्यायिक जीवनकालमा नागरिक हक-अधिकार र स्वतन्त्रताका सन्दर्भमा अनगन्ती नजीर स्थापित गराए । यसरी जीवनको उत्तरार्द्धमा ‘अपहेलनाको मुद्दा’ बोक्नुपर्दा उनीहरुको मनस्थिति कस्तो भयो होला ?

संविधान र कानुनका ज्ञाता पूर्वप्रधान न्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीको संयुक्त विज्ञप्तिमा खालि संविधानको धारा मात्र केलाइएको थियो । जसमा ‘प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनका सन्दर्भमा आफूमा अन्तर्निहित रहेको भन्‍न अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवथा देखिँदैन’ भनेका थिए । अर्थात्, संविधानमा नभएको धारा प्रयोग गरी कसरी प्रतिनिधि सभा विघटन गर्न मिल्छ भन्‍ने उनीहरुको संवैधानिक बोली थियो ।

त्यो विज्ञप्तिले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पारेको जिकिरसहितको रिटलाई अदालत प्रशासनले सहजै दर्ता गरेको छ । त्यसरी दर्ता गरिँदा न्यायिक धरोहरलाई कस्तो असर पर्छ र पार्छ भन्‍ने ख्याल गरेको देखिँदैन । अझ त्यो विज्ञप्तिमा अदालत शब्द कहीँ-कतै परेको छैन र अदालतलाई दबाब दिएको पनि देखिँदैन, उनीहरुले अभिव्यक्ति स्वतन्त्रताको उपभोग मात्र गरेका हुन् । तर, कार्यकारिणीकै दाउपेच पूर्ति गर्न सर्वोच्च अदालत प्रशासनले रिट दायर गरेर आशंका निम्त्याएको छ ।

यसको मूल उदेश्य भनेको प्रतिनिधि सभा विघटनको विपक्षमा मत राख्‍न नदिनु हो । पूर्वप्रधान न्यायाधीशलाई यसरी बोलीमा अंकुश लगाइन्‍छ भने स्वाभाविक रुपमा आमनागरिक भयभित हुन्‍छन् नै । संविधान सभा निर्मित संविधानको धारा केलाउने र बोल्ने अधिकारमा रोक लगाउने नियोजित चालबाजीकै रुपमा यसलाई हेरिँदै छ ।

पूर्वप्रधान न्यायाधीशविरुद्ध ‘अपहेलना’मा अदालतमा उभ्याइयो भने संविधानको रक्षक, अनि स्वतन्त्रताको पहरेदार न्यायिक धरोहरप्रति प्रश्न उब्जन्‍छ नै । त्यसकारण सर्वोच्च अदालतले रिटलाई हलुका ढंगले लिनु हुँदैनथ्यो र हुँदैन पनि । पूर्वप्रधान न्यायाधीश हरिप्रसाद प्रधानको अभिव्यक्तिझैँ अदालतले ‘अधिनायकवादी सरकारी चिल’बाट नागरिक स्वतन्त्रता जोगाउनुपर्छ । त्यो हस्तक्षेपकारी सरकारी चिललाई चल्ला खान आऊ भन्‍ने शैलीमा प्रस्तुत हुने हो भने कुनै दिन माउमाथि आक्रमण गर्नेछ ।