गणतन्त्र आए पनि मुलुकपञ्चायतभन्दा पछाडि धकेलियो : शहीद पत्नी काशीदेवी

जनकपुरधाम : प्रजातान्त्रिक योद्धा दुर्गानन्द झाको शहादतको ५७ वर्ष पूरा भएको छ । गणतन्त्र निम्ति आन्दोलनमा होमिएका दुर्गानन्द झालाई २०२० माघ १५ मा तत्कालीन राजा महेन्द्रले फाँसी दिएका थिए । पञ्चायती शासकले जनकपुर राजा महेन्द्रमाथि २०१८ माघमा बम प्रहारको अभियोगमा झालाई पक्राउ गरिएको थियो । जतिबेला झा १९ वर्षका मात्र पिथए । झाले कडा सुरक्षाकाबीच जनकपुरस्थित जानकी मन्दिरको प्रांगणमा बम (ग्राइनेट) प्रहार गरेका थिए ।
उनको सपनाअनुरुप मुलुकमा गणतन्त्र त आयो । तर, झाले सपना देखेको जस्तो गणतन्त्र भने अझैं आउन नसकेको शहिद झाकी पत्नी काशीदेवी झा बताउँछिन । गणतन्त्रमा पनिपञ्चायतभन्दा निरंकुश शासकहरू हाबी रहेको उनको भनाइ छ । फाँसीको अघिल्लो दिन सासु सुकुमारी देवीसँगै त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा भेट्न गएकी थिइन् । त्यतिबेला आमालाई सम्झाउँदै झाले भनेका थिए, ‘आमा नरोऊ मुलुकमा गणतन्त्र आउँछ । त्यसबेला सबै नेपालीको अनुहारमा देखिएको खुसीले आफ्ना छोराप्रति तिमीलाई गर्व लाग्नेछ ।’
त्यो माघ १४ गते स्मरण गर्दै काशीदेवीले भनिन् । आफ्नो अन्तिम भेटलाई सम्झिदै उनले भनिन, ‘तपार्इँलाई फाँसीको सजाय भएको छ । तर उहाँको अनुहारमा कुनै भय-त्रास र डर देखिएको थिएन । भन्नुभयो, गणतन्त्रका लागि सुलीमा चढन तयार छु ।’
नेपालमा गणतन्त्र आएको १२ वर्ष बितिसक्दासमेत नागरिकलाई आभास नभएको उनले गुनासो गरिन् । मुलुक पञ्चायतकाल भन्दा पनि निकै पछाडि धकेलिएको उनको अनुभव छ । ‘मुलुकको वर्तमान परिस्थिति हेर्दा लाग्छ गणतन्त्रका लागि श्रीमानले दिएको बलिदानी खेर गएको छ,’ उनले दुखेसो पोखिन् ।
घटनापछि उनी भारत बिहारको उमगाउँ भागे । उनका आफन्त र कांग्रेसका नेता कार्यकर्तासहित ५६ जना व्यक्तिलाई पक्राउ गरियो । पक्राउ परेकाहरूलाई प्रहरीले यातना दिइरहेको थाहा पाएपछि उनले आत्मसमर्पण गरेका थिए । आत्मसर्मपण गरेको भोलिपल्ट उनलाई सुन्धरास्थित भद्रगोल कारागारमा पठाइ राज्यद्रोहको मुद्दा चलाइयो । उनीसँगै अरविन्द ठाकुर र दलसिंह थापाले पनि गिरफ्तारी दिएका थिए ।
उनीहरूको मुद्दा हेर्न राजाको आदेशमा एक छुट्टै छानबिन आयोग (न्यायिक समिति) गठन गरियो । त्यति मात्र होइन त्यो बेला ब्राम्हणलाई मृत्युदण्ड दिने व्यवस्था कानूनमा नभएका कारण कानून समेत संशोधन गरिएको थियो । जनकपुरका वरिष्ठ पत्रकार राजेश्वर नेपालीका अनुसार, सरकारले बम काण्डको अध्ययन गर्न विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो ।
त्यो आयोगले २०१९ भदौ १९ मा प्रतिवेदन बुझायो । प्रतिवेदनले दुर्गानन्द झा, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव दिएको थियो । तर ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने कानुनमा उल्लेख थियो । कानुनमा त्यस्तो कुरा उल्लेख भएको थाहा पाएर परिवारका सदस्यहरूले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएका थिए ।
सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा उजुरीकर्तालाई झिकाउन आदेश दिए । त्यही सालको फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णय सदर गरे । २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजायँ दिने व्यवस्था भयो ।
२०२० माघ १५ मा राति दुर्गानन्दलाई त्रिपुरेश्वरस्थित रूखमा झुण्ड्याएर फाँसी दिइयो । फाँसीका क्रममा दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख्न भनिएको थियो तर उनले मृत्युदण्डलाई शिरोधार्य गरे । उनलाई फाँसी दिएपछि श्रीमती काशीदेवी र उनको आमालाई जानकारी दिइएको थियो । दुर्गानन्दकी आमाले लास मागे पनि दिइएन । पछि परिवारले कुशको लास बनाएर भारतको गयामा उनको अन्तिम संस्कार गरेका थिए ।
काशीदेवीको अवस्था
गणतन्त्र शहिद पत्नी काशीदेवी झाको अवस्था निकै खराब छ । ७३ वर्षीया काशीदेवी छोरी र भातिजमा आश्रित छिन् । वृद्ध अवस्थाका कारण उनी प्रायः बिरामी भइरहन्छिन् । तर सरकार वा कुनै दलका नेताले उनको हालखबर सोध्दैनन् । काशीदेवीको आर्थिक गुजारा पुर्खौली जग्गाबाट भइरहेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि समेत उनी जनकपुरमा बस्दै आएकी छोरी र काठमाडौंमा बस्दै आएका भातिज डा. जिवेन्द्र झामा आश्रित छिन् ।
केही वर्षअघिसम्म नेपाली कांग्रेस र तत्कालीन राष्ट्रिय जनता पार्टीले बलिदानी दिवस मनाउने गर्थ्यो । तर उनको बलिदानी दिवस मनाउनसमेत छाडिएको छ । हुन त निकै आलोचना हुने थालेपछि कांग्रेसका केही कार्यकर्ताले यसवर्ष प्रक्रिया पूरा गर्न उनको शालिकमाथि पुष्प अर्पण गरेका थिए ।
२०७२ को गणतन्त्र दिवसका दिन मन्त्रिपरिषदबाट उनलाई शहिद घोषणा गरिएको थियो । यसअघि पहिलो संविधानसभामा तत्कालीन तमलोपाबाट समानुपातिक सांसद भएकी काशीदेवी झालाई कानुन राज्यमन्त्रीसमेत बनाएको थियो । तर त्यो पार्टी राजपा हुँदै जसपा भएपछि कोही उनको अवस्था सोधखोज गर्न आएका छैनन ।
काशीदेवीले भनिन्, ‘मन्त्रीबाट हटेपछि न तमलोपा (अहिलेको जसपा) ले खोजेको छ न कांग्रेसले नै ।’ तत्कालीन राजपाबाट शहिद झाको नाम भजाएर राजेन्द्र महतोले प्रतिनिधिसभाको चुनावसमेत जिते । तर उनले झाको नाममा प्रवेशद्वार बनाउन बाहेक केही गर्न सकेनन् ।
तमलोपा सरकारमा भएको बेला दुर्गानन्द झाको नामबाट उनको गाउँ जटहीमा अस्पताल बनाउने निर्णय गराएइको थियो । तर हालसम्म त्यो अस्पताल बन्न सकेको छैन । त्यति मात्र होइन जनकपुरमा समेत दुर्गानन्द झाको सालिक राख्ने निर्णय भएको छ । सालिक तयार पनि भइसकेको छ तर कहाँ राख्ने भनी निर्णय अझैसम्म टुंगिएको छैन ।
को थिए शहिद झा ?
जनकपुरबाट १४ किलोमिटर दक्षिण नेपाल-भारत सिमानामा रहेको हालको नगराइन नगरपालिकास्थित जटही गाउँमा देवनारायण झा र सुकमारी देवीको सन्तानको रुपमा १९९९ वैशाख १४ गतेका दिन शहिद दुर्गानन्दको जन्म भएको थियो । बाल्यकालमै उनका पिता देवनारायणको निधनपछि घरको एक्लो सन्तान भएकाले मेट्रिक पढ्दा पढ्दै २०१७ सालमा १४ वर्षीया काशीदेवी झासित उनको विवाह भएको थियो ।
बुबाको निधनपछि झाको पालनपोषण आमा सुकमारी देवीकै रेखदेखमा भएको थियो भने गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उभगाँवस्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षा दिक्षा भयो । एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर प्रजातान्त्रिक संघर्षमा उनी लागेका थिए । श्रीमती र वृद्ध आमाले आवश्यक हेरचाह गर्न नसकेपछि मृत बच्चा जन्मेको थियो । हाई स्कुलमा अध्ययनरत दुर्गानन्द छात्रवासमा बसेको बेला नै राजनीतिमा होमिएका थिए । राजनीतिमै अधिकांश समय बित्ने हुनाले श्रीमती काशीदेवीसित उनको भेट महिनामा एक दुई पटक मात्र हुन्थ्यो ।
२०१७ पुस १ गते राजा महेन्द्रले चालेको निरंकुश कदमविरुद्धमा कांग्रेसले सुरु गरेको आन्दोलनमा झा प्रजातन्त्र हत्या गर्नेलाई नछाड्ने र मुलुकमा गणतन्त्र स्थापना गर्ने निर्णयसहित होमिएको पत्रकार नेपाली बताउँछन् । भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका कांग्रेस नेता सरोज कोइरालाको सम्पर्कमा पुगी उनले राजामाथि बम प्रहार गर्ने योजना बनाएका थिए । योजना अनुरुप २०१८ माघमा तत्कालीन राजा महेन्द्र जनकपुर भ्रमणमा आएका बेला उनले बम प्रहार गरेका थिए ।

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

मुख्यमन्त्रीलाई बुझाइयो प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन

‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

पतञ्जली जग्गा प्रकरण अदालतको विषय बन्योः सम्मानित नेता खनाल

चिनियाँ भाषा प्रशिक्षणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने

बजेटले आशा र उत्साह ल्याउन नसकेको प्रतिपक्षको टिप्पणी

प्रतिक्रिया