बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

राजा महेन्द्र–वीरेन्द्रका सारथि खनाल रहेनन्

काठमाडौं : राजदरबारमा ३५ वर्षे दीर्घसेवामा संलग्न रेवतीरमण खनालको निधन भएको छ । उनको मंगलबार साँझ निधन भएको हो । उनी दम र मधुमेहको बिरामी थिए । राजा महेन्द्रको पालामा दरबारको सेवामा प्रवेश गरेका खनाल वीरेन्द्र राजा हुँदा प्रमुखसचिव थिए । 

खनाल मुलुकमा पञ्चायती व्यवस्था आगमनसँगै २०१७ फागुन १५ मा जनसम्पर्क अधिकृतका रूपमा राजदरबार सेवामा संलग्न भएका थिए । उनी २०५२ वैशाख १ मा राजा वीरेन्द्रको प्रमुखसचिवको जिम्मेवारी पूरा गरी अवकाश लिएका थिए ।

कानुन र साहित्य दुवै लेखनयात्रामा संलग्न खनालले मदन पुरस्कारसमेत पाएका थिए । उनका ‘विश्वका प्रमुख कानुन प्रणाली’, ‘नेपालको कानुनी मस्यौदा’, ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानुन’,  ‘रिट निवेदन सिद्धान्त र विवेचना’ तथा ‘समालोचना र फैसला’ लगायत पुस्तक छन् । 

‘दरबारका कुुरा’ समेट्दै चार वर्षअघि ‘अनुभूति र अभिव्यक्ति’ स्मरण पुस्तक चर्चित थियो । जुन पुस्तकले दरबारको शासकीय शैलीबारे केही पाटा पनि उजागर गरेको थियो । 

दरबारका कुरा भएको हुँदा मृत्युपछि सार्वजनिक गर्ने गरी ‘सिलबन्दी’मा राखिएको भनिए पनि उनकै जीवनकालमा पुस्तक सार्वजनिक भयो । उनले भूमिकामै लेखेका थिए, ‘लेखेर गोप्य सिलबन्दी गरेर राख्छु । मेरो शेषपछि प्रकाशित गरे हुन्छ ।’तर, उनकै जीवनकालमा राजतन्त्रको विधिवत् अन्त्य भइसकेपछि २०७३ मा उनको पुस्तक सार्वजनिक भएको थियो ।