सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

ओली सरकारका दुई मन्त्रीको भाषण : श्री ५ को सरकारदेखि हाम्रो अध्यक्ष प्रचण्डसम्म (भिडियोसहित)

काठमाडौँ : अग्रगामी सोच राख्‍ने र विचारप्रति अडिग रहने नेताका रुपमा परिचित तर कामचलाउ सरकारमा गएर खानेपानी मन्त्री बनेका नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले श्री ५ को सरकार भनेपछि विवादमा तानिएका छन् । सुर्खेतमा शनिबार आयोजित कार्यक्रममा कर्णाली प्रदेश ईन्चार्ज समेत रहेका थापाले गणतन्त्रकालमा राजतन्त्रको झल्‍को दिने गरी ओली समूहको भेलामा श्री ५ को सरकार भनेका थिए ।

उनले सम्बोधनको सुरूमा भने ' जो यहाँ आशिन हुनुहुन्छ, सुर्खेतका जनसमुदायहरूलाई स्वागत गर्दछु । सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ। र सुर्खेतका आदरणीय जनसमुदायहरू, म सबैलाई नेकपा स्थायी कमिटीको तर्फबाट र श्री ५ को सरकारबाट यो कार्यक्रममा...।' थापाले यति भनेपछि मञ्‍चमा बसेका एकले गल्ती बोलेको बताएपछि उनले भने 'ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईहरूलाई लालसलाम भन्‍न चाहन्छु ।'

तत्कालिन नेकपा माओवादीमा भूमिगत भएरै संविधानसभा, गणतन्त्र र संघीयताका लागि लडेका थापा नेकपा विभाजनपछि पुष्पकमल दाहाल समूह छाडेर कामचलाउ सरकारका मन्त्री बनेका थिए । सामाजिक सञ्जालमा भाइरल बनेको मन्त्री थापाको यो भिडियो क्लिपलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । प्रतिनिधि सभा विघटन गरेर सर्वत्र आलोचित बनेका कामचलाउ प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘श्री ५ को सरकार’ भन्‍नुले मन्त्री थापाको दिमागमा जनता नभई ओली मात्रै रहेको देखाउँछ ।

सुर्खेत तथा कर्णालीमा ओली समूह अल्पमतमा छ । अल्पमतमा रहेकै कारण ओली समूह सुर्खेतले वीरेन्द्रनगरको बीच बजारमा कार्यक्रम गर्न सकेन् । ओली समूहका नेता यामलाल कँडेलको घर नजिकै रहेको भैरव मावि नजिकै कार्यक्रम गरिएको थियो ।

अर्को गुटको कार्यक्रम भएकाले दाहाल-नेपाल समूहका नेताहरू गएनन् । दाहाल-नेपालकै बहुमत रहेको सुर्खेतमा कार्यक्रम विथोलिने डरले ओली समूहले वीरेन्द्रनगरको बीच बजारमा कार्यक्रम गर्न नसकी कुनामा लिएर मञ्च राख्नु परेको स्थानीय नेताहरूको टिप्पणी छ ।

त्यही कुनामा बनाइएको मञ्चमा पनि प्रमुख अतिथी बनेका खानेपानी मन्त्री थापाले ओली सरकारलाई ‘श्री ५ को सरकार’ भनेपछि झन आलोचित बन्यो । जनसभामा धेरै कार्यकर्ता समेत जम्मा गर्न नसकेको सुर्खेती ओली समुहका नेताहरू अहिले मन्त्री थापाको भिडियोका कारण बाहिर खुलेर बोल्न सकेका छैनन् ।

त्यसो त कामचलाउ सरकारका युवा तथा खेलकुद मन्त्री दावा तामाङको पनि करिब एक महिनाअघि जिब्रो चिप्लिएको थियो । दाहाल समूह छाडेर ओली समूहबाट मन्त्री बनेका तामाङले एक कार्यक्रममा हाम्रो अध्यक्ष प्रचण्ड भनेपछि कार्यक्रममा सहभागी सबै हाँसे ।

सबै हाँसेपछि उनले बल्‍ल भेउ पाए र भने 'सरी हाम्रो अध्यक्ष केपी शर्मा ओली जो १४ वर्ष जेलमा बसेर आउनु भएको छ म यहाँबाट हाम्रो अध्यक्ष ओलीलाई स्यालुट गर्न चाहन्छु । उहाँ गोली जस्तो भाषणले हामी युवाहरू तात्‍ने छौँ र सिन्धुपाल्चोकलाई हामी जुरुक्‍क उठाउने छौँ ।'