सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

भुलबस श्री ५ को सरकार भनेकोमा क्षमा चाहन्‍छु : मन्त्री थापा

काठमाडौँ : खानेपानीमन्त्री मणि थापाले सुर्खेतमा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा भएको गल्तीप्रति क्षमा मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै मन्त्री थापाले नेपाल सरकार भन्‍नु पर्नेमा अन्यथा भएको भन्दै माफी मागेका हुन् । सुर्खेतमा नेकपा ओली समूहले गरेको भेलामा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री थापाले श्री ५ को सरकार भन्दै भाषण गरेका थिए ।

‘शनिबार नेपाल कम्युनिष्ट पार्टी ओली समूहले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्‍नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ’ मन्त्री थापाले लेखेका छन्, ‘मेरो पुरै राजनीतिक जीवन क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

सामाजिक सञ्जालमा भाइरल बनेको मन्त्री थापाले बोलेको भिडियो क्लिप सेयर गर्दै धेरैले उनको आलोचना गरेका छन् ।

र, यो पनि पढ्नुहोस :

ओली सरकारका दुई मन्त्रीको भाषण : श्री ५ को सरकारदेखि हाम्रो अध्यक्ष प्रचण्डसम्म (भिडियोसहित)​