शक्ति प्रदर्शनको होडबाजी : नाटकै हो ! नौटंकी नै हो...!

काठमाडौँ : प्रतिनिधि सभा विघटनपछि मुलुकको राजनीतिक वृत्त दुई धारमा विभाजित भयो। एउटा धार विघटनको पक्षमा उभियो भने अर्को विपक्षमा ।
नागरिक समाज, मिडिया, मुद्दिजिवीहरू प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए। प्रधानमन्त्री केपी शर्मा ओली निकटको सयन्त्र भने यसको पक्षमा उभियो । यो मुद्दामाथि सर्वोच्च अदालतले सुनुवाइ गरिरहेको छ। गम्भीर संवैधानिक व्यख्या गर्ने जिम्मेवारी पनि सर्वोच्चले नै हो । तर, अहिले यो विचाराधीश विषयलाई लिएर शक्ति प्रदर्शनको होडबाजी चलेको छ ।
शक्ति प्रदर्शनको यही होडबाजीमा होमिएको नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह पनि। शनिबार धनगढीमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्यो । समूहको नेतृत्व गरिरहेका दाहाल र नेपालसहितका नेताले सम्बोधन गरे । विरोध सभामा मानिसहरूको उपस्थिति पनि उल्लेख्य देखियो । त्यसअघि शुक्रबार र बिहीबार नेकपा दाहाल–नेपाल समूहले विराटनगर र बृटवलमा विरोध सभा गरेको थियो ।
दाहाल–नेपाल समूहले धनगढीमा विरोध सभा गरिरहँदा प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली भने चितवनमा थिए । नेकपा चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली चितवन पुगे । उनीसहित गृहमन्त्री रामबहादुर थापासहितका नेतालेसम्बोधन गरे । चितवनको सभामा पनि जनमास राम्रै थियो ।
शक्ति प्रदर्शनको शृंखला
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि ओली समर्थित बाहेक नेकपाकै दाहाल–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी, विवेकशील साझा पार्टीलगायत नागरिक समाजसमेत आन्दोलित छ ।
दाहाल–नेपालले समूहले पुस १० माइतीघरमा विरोध प्रदर्शन गरेको थियो । विरोधमा अध्यक्षद्वय दाहाल–नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका थिए । जसको व्यापक चर्चा र आलोचनासमेत भयो ।
विरोधलार्ई विस्तार गर्दै १४ गते काठमाडौंसहित देशव्यापी विरोध सभा गर्यो । माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शनसहित वृहत् विरोध सभा गरेको समूहले त्यसलाई निरन्तरता दिइरहेको छ । ९ गतेको सभामा शक्ति देखाउन उपत्यका आसपासका जिल्लबाटसमेत कार्यकर्ता ल्याइएको थियो । समूहले दैनिक साना ठूला विरोध सभा जारी नै राखेको छ ।
समूहले माघ २८ गते पुनः काठमाडौंमा प्रदर्शन गर्दै छ । यसलाई समूहका अध्यक्ष पुष्पकमल दाहालले निर्णायक संघर्ष भनेका छन् । दोस्रो चरणको आन्दोलन बारे जानकारी दिँदै दाहाललले पेरिसडाँडाबाट २८ गतेको संघर्षलाई निर्णायक संघर्षको संज्ञा दिएका थिए ।
‘टाउकोमै हान्नुपर्ने स्थिति आयो । अन्त हानेर त्यति धेरै चोट पुग्दैन कि भन्ने सोचेर टाउकोमै हान्ने निष्कर्षमा पुगेका छौँ । काठमाडौंमा अझै ठूलो जनसभा र प्रर्दशन हुन्छ । निर्णायक संघर्ष हुन्छ,’ उनको भनाइ थियो । २८ गतेको प्रदर्शनलाई हालसम्मकै विशाल बनाउने योजना समूहको छ । प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्तिक रहेको समूहको ठहर छ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि दबाब दिन समूहले विरोध सभाहरू गरिरहेको छ ।
कांग्रेस र जसपाको छुट्टा छुट्टै प्रदर्शन
विघटनको विपक्षमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि छुट्टाछुट्टै विरोध प्रदर्शन गरिरहका छन् ।
विघटनको विरोधमा कांग्रेसले तेस्रो चरणको आन्दोलनको तयारी थालेको छ । पहिलो र दोस्रो चरणमा वडास्तरदेखि पालिका, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । विघटनको विरोधमा कांग्रेसले १३ पुसमा संसद् निर्वाचन क्षेत्रमा, २५ पुसमा प्रदेश सभा निर्वाचन क्षेत्रमा, ३ माघमा स्थानीय तहमा र ८ माघमा वडास्तरमा विरोध र्याली तथा विरोध सभा गरिसकेको छ ।
तेस्रो चरणको आन्दोलन अन्तरगत १९ माघमा भ्रातृ संस्थाहरूले र २४ माघमा शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा संयुक्त विरोध प्रदर्शन र कार्यक्रम गर्ने तथा ३ फागुनमा जिल्ला कार्यसमितिहरूले विरोध प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय तयारी गरेको छ ।
विघटनको विरोधमा जनता समाजवादीले पनि विरोध प्रदर्शन गरिरहेको छ । देशव्यापी पुस ८ मा प्रदर्शन गरेको जसपाले प्रधानमन्त्रीको पुतला दहनदेखि मसाल जुलुस निकाल्नेसम्मका कार्यक्रम गरिरहेको छ । जसपाले विरोध कार्यक्रमलाई निरन्तर जारी राखेको छ ।
कांग्रेस र जसपा मात्रै होइन विवेकशील साझा पार्टीसहित नागरिक समाज पनि आन्दोलित छ । विवेकशील साझाले रचनात्मक आन्दोलन गरिरहेको छ । नागरिक समाजले गत सोमबार बालुवाटार मार्च गरेको थियो ।
ओलीको काउन्टर सभा
प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा ओली समूह बाहेक सबै दल विरोधमा छन् । दल बाहेक नागरिक समाज पनि आन्दोलित छ ।
तर अनौठो के छ भने विघटनको पक्षमा रहेको ओली समूहले पनि शक्ति प्रदर्शनका नाममा आमसभा गरिरहेको छ । विघटनको विरोधमा रहेकाहरूलाई काउन्टर दिने हिसाबले देशका विभिन्न ठाउँमा आमसभाहरू गरिरहेको छ ।
यसको सुरुवात ओली समूहले सुदूरपश्चिमबाट गरेको थियो । सुदूरश्चिमको आम सभालाई सम्बोधन गर्न स्वयं प्रधानमन्त्री ओली पुगेका थिए । त्यसपछि समूहले दाङ, चितवनलगायतका विभिन्न ठाउँमा आम सभा सम्पन्न गरिसकेको छ । जहाँ सम्बोधन गर्न प्रधानमन्त्री ओली नै पुगेका थिए । यसबाहेक ओली समूहले विभिन्न जिल्लामा आमसभाहरू गरिरहेको छ ।
समूहले दाहाल–नेपाल समूहलाई काउन्टर दिने हिसाबले माघ २३ गते काठमाडौंमा सभा गर्दै छ । वाग्मती प्रदेश कमिटीको आयोजनामा हुने आमसभामा देशभरबाटै नेताकार्यकर्ता ल्याउने ओली समूहको तयारी छ । नारायाणहिटीअगाडि हुने उक्त सभाका लागि समूहले एक साताअघि देखि नै तयारी थालेको छ । ठूलो संख्यामा मानिसहरू उपस्थित गराउने समूहको तयारी छ ।
दाहाल–नेपाल पक्षले गरिरहेको विरोध सभालाई काउन्टर दिनेगरी आफूहरूले पनि आम सभा गर्न लागेको स्वयं प्रधानमन्त्री ओलीले नै बताएका छन् । गत शुक्रबार बबरमहलमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नै यसलाई काउन्टर सभाका रूपमा व्याख्या गरे । ‘साँघुरा गल्लीमा केही मान्छे जम्मा गर्दैमा आमसभा हुँदैन’, उनले भने, ‘आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ,’ उनको भनाइ थियो ।
सो भेलालाई सफल पार्न प्रधानमन्त्री ओलीले शुक्रबार महानगरको भेलामा समेत आह्वान गरेका थिए ।
मान्छे उतार्ने प्रतिस्पर्धा
विघटनको विरोधमा होस् वा विरोधीलाई काउन्टर दिन आम सभामा मान्छे देखाउने प्रतिस्पर्धा नै चलिरहेको छ । त्यसका लागि उनीहरूले आम सभा हुने स्थल आसपासका जिल्लाबाट समेत कार्यकर्ता ओसार्ने गरेका छन् । गाउँगाउँमा गाडी पठाएर भेलामा कार्यकर्ताहरू ल्याइरहेका छन् । यसमा विशेषगरी नेकपाकै दुई समूहबीच प्रतिस्पर्धा चलिरहेको छ ।
काठमाडौंमा हुने आम सभामा आसपालसका जिल्लबाट समेत मानिसहरू ल्याएर संख्या बढाउने काम दुवै समूहले गरिरहेका छन् । उपत्यका बाहिरका सभामा यही क्रम जारी छ । सभामा उपस्थित कार्यकर्ताको संख्या देखाएर नै उनीहरू मख्ख पर्ने गरेका छन् । दुवै समूहले सभामा मान्छे तान्न अनेक प्रयत्न गरिरहको छन् ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइका क्रममा छ । दुवै पक्षले दाबी गरेजस्तो विघटन संवैधानिक वा असंवैधानिक ? विघटन सदर हुन्छ वा प्रतिनिधि सभा पुनर्स्थापना ? यसको छिनोफानो संवैधानिक इजलासले गर्ने छ । उसो भए पक्ष र विपक्षमा शक्ति प्रदर्शन के का लागि ?
राजनीतिक विश्लेषक श्रीकृष्णअनिरुद्र गौतम दुवै पक्षले आफ्ना मुद्दा बलियो बनाउन शक्ति प्रदर्शन गरिहेको बताउँछन् । ओली पक्षले विघटन र चुनावको पक्षमा जनमत देखाउन र दाहाल–नेपाल पक्ष विघटन र पुनर्स्थापनाको पक्षमा जनमत देखाउन शक्तिप्रदर्शन गरिरहेको उनको भनाइ छ । ‘ओलीको त चुनावी तयारी हो । उहाँको सम्पूर्ण प्रयत्न चुनावमुखी छ,’ उनले भने, ‘अर्को पक्षले चुनावमा जाने जनमत छैन । पुनस्थापनाकै पक्षमा जनमत छ भनेर देखाउन खोजेकोे हो ।’
शक्ति देखाएर उनीहरूले दिन खोजेको राजनीतिक सन्देश चाहि के ? गौतम भन्छन्, ‘दाहाल–नेपाल पक्षको यसमा दुईटा आँकलन हुनसक्छ । भन्न नमिल्ने तर गर्न पर्ने । पूरै जनमतको खिलाफमा त अदालत पनि जान सक्दैन भन्ने आँकलन होला । अदालतलाई पनि मार्गदर्शन गर्ने गरी शक्ति प्रदर्शन गरेका होलान् । तर अदालतले हेर्ने भनेको त संविधान हो । राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास हो ।’
तर नेकपा इतर दलहरूले भने शक्ति प्रदर्शनमा ध्यान नदिएको उनको भनाइ छ । ‘कांग्रेसको त प्रदर्शनमा देखिनको लागि मात्रै हो,’ उनले भने, ‘तैले केही गरिनस् भन्लान भनेर मात्रै हो । एउटा लाइनमा कुरा गरिरहेको छैन । असंवैधानिक र अलोकतान्त्रित कदमको विरोध भन्छ । तर केको लागि भन्ने नै छैन । विघटन असंवैधानिक र अलोकतान्तिक भन्छ तर, के स्थापित गर्न खोजेको भनेको छैन । नेकपा इतरका कसैमा पनि गतिशिलता देखिँदैन ।’

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छः राष्ट्रपति पौडेल

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री ओली

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

प्रतिक्रिया