सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

राम्रो काम गर्नेलाई प्रोत्साहन:  ८० भन्दा बढी अंक ल्याउनेलाई २५ हजार रुपैयाँ

काठमाडौं : कार्यसम्पादनमा उत्कृष्ट नतिजा हासिल गर्ने पदाधिकारीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । कार्यसम्पादन मुल्यांकनमा ८० अंकभन्दा बढी अंक ल्याउने पदाधिकारीले २५ हजार रुपैयाँसम्‍म पुरस्‍कार पाउने भएका हुन् ।

यो व्यवस्थासहित सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली जारी गरेको छ । बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि विभागीय प्रमुख वा जिम्मेवार व्यक्तिले सचिव वा विभागीय प्रमुखसँग कार्यसम्पादन करार गर्नुपर्छ । कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट ठहरिएका पदाधिकारीलाई पुरस्कृत गर्ने व्यवस्था गरेको छ ।

आर्थिक कार्यविधि नियमावली, २०५५ ले समेत पुरस्कार दिने व्यवस्था उल्‍लेख गरेको थियो । तर, कार्यसम्पादन मुल्यांकन र पुरस्कारको व्यवस्थालाई निर्धारण भने गरेको थिएन ।

यसरी हुन्‍छ कार्यसम्पादन मुल्‍यांकन

कार्यसम्पादन करार कार्यान्वयन भए वा नभएको सम्बन्धमा मुल्‍यांकन गर्दा सम्‍पूर्ण क्रियाकलाप वा उपलब्धिलाई कुल सय अंक कायम गरिन्छ । कुल अंकमा ८० वा सोभन्दा बढी अंक ल्याउनेलाई उत्कृष्ट मानिने नियमावलीमा उल्‍लेख छ ।

६५ भन्दा कम अंक ल्याउने पदाधिकारीलाई सन्तोषजनक भनिएको छ । ५० भन्दा बढी अंक ल्याउनेलाई सामान्य मानिएको छ भने ५० भन्दा कम अंक ल्याउनेलाई कमजोर मानिने उल्लेख छ । कमजोर मुल्यांकन भएका पदाधिकारी वा कर्मचारीलाई विभागीय कारबाही गर्ने नियमावलीमा भनिएको छ ।

उत्कृष्ट कार्यसम्पादन मुल्यांकनमा कर्मचारीको समेत उत्कृष्ट योगदान रहेको पाइएमा कार्यालयका बढीमा तीन जनालाई पुरस्कार दिने उल्लेख छ । उत्कृष्ट ठहरिएका आयोजना वा कार्यक्रम सञ्‍चालन गर्ने कार्यालय प्रमुखहरूमध्ये वर्षमा एकजनालाई पुरस्कार दिने भनिएको छ ।