गण्डकी प्रदेश सभा बैठकको तीन वर्ष : यस्तो छ सांसदको अनुभव
२२५ बैठक, ४२ विधेयक पारित

पोखरा : २०७४ मंसिर १० र २१ गते भएको चुनावले गण्डकीमा पनि प्रदेश सभा स्थापित गर्यो । पहिलोपटक सांसद भएर सदन छिरेकाहरु दंग देखिन्थे । माघ ७ गते सपथ ग्रहण कार्यक्रममा उनीहरुको अनुहार हँसिलो देखिन्थ्यो । आफ्नो जीवनको नयाँ आयाम जिउँदै अरु जनताका जीवन पनि सुधार्ने बाचासहित चुनाव जितेका उनीहरु माघ २२ गते पहिलोपटक सदनको बैठक बसे । पहिलो बैठकबाट सर्वसम्मतले प्रदेश सभा सञ्चालन नियमावली पारित भयो ।
प्रदेश सभा बैठक बसेको बिहीबार ३ वर्ष पुग्यो । प्रदेश सभामा अहिलेसम्म २२५ बैठक बसेको छ । प्रदेशसभाले ४६ विधेयक पारित गरेको छ । पारित भएकामध्ये ४२ विधेयक प्रमाणित भएका छन् । विकास प्राधिकरण, खेलकुद, प्रहरी र कृषि व्यवसाय प्रवद्र्धन विधेयक प्रमाणीकरण हुन बाँकी छन् । प्रदेश सभाको पहिलो बैठकमा रोमाञ्चित हुँदै पुगेका सांसदहरुको हर्ष र उत्साह ३ वर्षपछि कस्तो छ त ? सांसदहरुको अनुभव यस्तो छः
पार्टीको विवादले नमिठो अनुभव
मित्रकुमारी गुरुङ सुवेदी (नेकपा)
अहिलेसम्म प्रदेश सभा बैठक एकदमै उत्साहजनक छ । प्रदेश सभा बैठकहरु राम्रै तरिकाले बसेका छन् । हाम्रा कुराहरु राख्न पाएका छौं, जनताका मुद्दाका कुरामा होस् वा दलीय हिसाबले होस्, हामीले आफ्नो कुरा निर्धक्क राखेका छौं । प्रदेश सभाका बैठक सबै सकारात्मक छन् । माननीयहरुको सोच सबैको एउटै थियो, छ । प्रदेश सभाका बैठकमा उठाएर पास भएका केही योजनाहरुमा भेद होलान्, तापनि हामी जुन मुद्दा उठाएर आयौं, तिनीहरुको सुनुवाइ हुँदैछन् । बीचमा केही गज्याङगुजुङ आए, भइरहेका छन्, तरपनि प्रदेश सभाको मर्म मरेको छैन । म समानुपातिकको बाटोबाट आएँ । यो मेरा लागि पहिलो अनुभव थियो ।
मैले मेरो क्षेत्रका जनताका कुरा राख्न पाएँ । मैले आफ्नो ठाउँमा राम्रा योजना ल्याउन सक्छु भन्ने थियो । हामीले जे जति कुरा प्रदेश सभामा उठायौं, सबै सुनुवाइ भएका छन् भन्ने मेरो अनुभव हो । प्रदेश सरकारले हामी माननीयहरुको मन मारेको छैन । म जिल्ला कमिटीहरुमा बसेर राजनीति गरिरहेकाले पनि सभामा कसरी प्रस्तुत हुने भन्ने ज्ञान थियो । माननीयहरुले दिदी भनेर सम्बोधन गर्दा आत्मीयता जाग्थ्यो । पछिल्लो समय पार्टीभित्रको विवादले गर्दा नमिठा अनुभव पनि भएका छन् । रोस्टममा पुगेर बोल्दा हिजो राम्रो भन्नेहरुले पछिल्लो समय नराम्रो भयो भनेका कारण अफ्ठेरो हुने रहेछ ।
विभेदका कुरा राख्दा सुनुवाइ भएन
डोबाटे विश्वकर्मा (नेपाली कांग्रेस)
संविधानले संघीयतामा लगेपछि प्रदेश सरकारको महत्वपूर्ण भूमिका सुनिश्चित गर्यो । २/४ लाख बजेट माग्न केन्द्रमा हात थाप्नुपर्र्ने अवस्था थियो । तर अहिले जनताले सोझै हामीकहाँ आएर आफ्नो कुरा राख्न सक्छन्, बजेट माग्न केन्द्रमै धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । तथापि प्रदेश सभाले अहिलेसम्म आफ्नो अधिकार प्राप्त गर्न सकेको छैन । निजामती ऐन लागु हुन सकेको छैन, कर्मचारी खटाउन पनि सरकारलाई नै आपत छ । कमी कमजोरी भएपनि संघीयताका बलमा जनताले जनप्रतिनिधिसँग ठाडो सम्पर्क गर्न पाएका छन् ।
पहिलोपटक संसद भवनमा बैठकका लागि जाँदा हामीमा औधी उत्साह थियो । सदनमा आफ्ना कुरा राख्न पाउँदा जनतासँग नजिक भएको महसुस गर्थ्यौँ । जनताको उन्नति प्रगति हुने भो भनेर मनमनै गदगद थियौं । तर काम गर्दै जाँदा हाम्रा केही मागहरु सुनुवाइ नहुँदा निराशा जाग्दै गएको छ । जस्तै उदाहरणका लागि हामीले गत बर्खे अधिवेशनमा कोरोना सम्बन्धी संकल्प प्रस्ताव लग्यौं । त्यसलाई बहुमतका हातबाट फेल गराइयो । अल्पमत नै किन नहोस् सदनले राम्रा योजना पास गर्न सक्नुपर्छ । म आफू पनि दलित समूहबाट भएकाले जातीय मुद्दाहरु उठाउने गरेकै छु । अरु विषयमा केही सुनुवाइ भए पनि यो विषयमा भने सुनुवाइ हुन सकेको छैन । पहिलो वर्ष दलितहरुका लागि सिप अभिवृद्धिका लागि ५ लाख रुपैयाँ विनियोजन गरियो । फ्रिज भएर गयो । दोस्रो वर्ष १ करोड फ्रिज गराएर रकमान्तर गराइयो । दलितहरुका लागि भनेर ल्याइएको बजेटमा पछि कार्यविधि नै बनाएर सबै समूहले प्रयोग गर्न पाउने बनाइयो । विभेदका कुराहरु राख्दा सुनुवाइ नभएको अनुभव गरेको छु ।
जनमुखी कानुन बनाउन सकेनौँ
धनमाया लामा पोखरेल (जनता समाजवादी)
नेपाल संघीयतामा गएपछि चुनावमा हामी गयौं । हिजो एकात्मक प्रणालीमा रहँदा जेजे कुरा छायाँमा परे, जे माथि आउन सकेनन्, उनीहरुलाई उठाउने जिम्मा हामीसँग आयो । चुनावमा जे घोषणा गरेर गयौं तिनीहरुलाई हामी उठाउँछौं भन्नेमा हामी दृढ थियौं । सपथ ग्रहण गर्दा हामीमा ती घोषणा पूरा गर्नुपर्छ भन्नेमात्र थियो । संघीयताको पहिलो अभ्यास भएकाले हामीलाई आफैंमा पनि नौलो थियो । दलित महिला जनजातिलाई पनि ३३ प्रतिशत कोटा छुट्याएर गयौं । केन्द्रीकृत राजनीतिक सत्ताबाट हामी जनताले पाउन नसकेका सुविधा जनतालाई दिने काम हाम्रो हो । गाउँगाउँमा सिंहदरबार भनेर गएकाले हामीले जनतालाई सिंहदरबारका अधिकार दिनुपर्छ । हामीसँग कानुन थिएनन्, संघीयता फस्ट फेजमै थियो । यो ३ वर्ष हामीले कानुन बनाउँदैमा बितायौं । मेरो पार्टीको उपस्थिति संसदमा संख्याका आधारमा कम होला, तर विषय र हामीले उठाएका मुद्दा कमजोर छैनन् ।
म विधायन समितिमा पनि छु । अहिलेसम्म हामीले ४२ कानुन ड्राफ्ट गर्र्यौं । म आफैं विधायन समिति सदस्य भएपनि ती कानुन जनमुखी छैनन् भन्ने मलाई लाग्छ । जनताका सेवासुविधा हकहितका लागि हामीले कानुन कुन बनायौं त ? स्वास्थ्य, शिक्षाका लागि कुन कानुन बनायौं ?कानुनका लागि मात्र कानुन बनाए जस्तो भान हामीलाई नै हुन्छ । जे होस, एकात्मक प्रणालीबाट आज हामी शक्ति विकेन्द्रीकृत गरेका छौं । खर्चिलो छ, आफ्नै वित्तीय स्रोत छैन । हामीले देश ठूलो भएर, जनसंख्या ठूलो भएर संघीयता ल्याएका होइनौं, विविधतालाई सम्बोधन गर्न ल्याएका हौं । काम भइरहेका छन्, निराश हुनुपर्ने अवस्था भने छैन ।
केही हदसम्म निखारिएका छौं
पियारी थापा (राजमो)
सुरुमा जाँदा संसदको अनुभव थिएन । केही पूर्वमाननीयहरु हुनुहुन्थ्यो, उहाँहरुलाई केही सहज थियो । हामीलाई कसरी कुरा उठाउने, कसरी प्रस्तुत हुने ज्ञान धेरै थिएन । अझ हामीलाई त सुरुमा प्रदेशका कुरा उठाउने कि देशको समग्र विषय उठाउने भन्नेमै दुविधा थियो । पछि प्रदेशका विशिष्ट पक्षहरु उठाउँदै गएपछि जनताका कुरा पनि सदनमा उठ्न लाए । हामी सांसहरु पनि आफैं निखारिनुपर्ने बाध्यता थियो । अहिले केही हदसम्म निखारिएका छौं । भलै हाम्रा कुरा कार्यान्वयन हुनु फरक पाटो होला । हामी त जनताका कुरा उठाउन मात्र बसेका हौं, कुरा उठाउने त्यसको फलो अप गर्नुपर्ने काम हाम्रो हो । अहिले ३ तहका सरकारमध्ये जनताको ध्यान भएको सरकार प्रदेश सरकार नै हो ।
केन्द्र सरकार त उनीहरुका लागि टाढा छ । हामीले त्यही भएर प्रदेश सभामा जनताका मुद्दा उठाउन थाल्यौं । जनता नजिक भएकाले प्रदेश सभाले जनताका कुरा मात्र सुन्छ भन्ने थियो, आमूल परिवर्तन गर्छ भन्ने आम मानिसमा थियो । तर अहिले केही पार्टीहरुको आन्तरिक खिचातानीले र आवश्यक समन्वयको अभावमा क्षेत्राधिकारका कुरामा प्रदेश सभा कमजोर बनेको छ । पहिलोपटक बैठकमा जाँदा हामीमा कति उत्साह थियो । तर अहिले त्यो उत्साह हराइसक्यो । जनताका कुरा भन्दा आफ्ना कुरा मात्र राख्ने थलो बनेको छ प्रदेश सभा । हामीले कुरा राख्छौं तर त्यसको सुनुवाइ हुँदैन । अहिलेसम्म त जिरो सुनुवाइ छ । विधेयक, कानुन बनाउँदा पनि सरकारलाई आवश्यक पर्दा बनाउने अरु जनताका मुद्दामा नबनाउने परिपाटी हाबी देखिन्छ । बनेका पनि कार्यान्वयन भने हुन सकेका छैनन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया