किन ट्रम्पको विरोधमा छ हलिउड ?

काठमाडाैं : अमेरिकाको नयाँ राष्ट्रपतिका लागि डेमोक्रयाटको तर्फबाट जो बाइडनको नाम सर्वसम्मत भएसँगै हलिउडका टप सेलिब्रेटी उनको समर्थनमा उत्रिए । यसरी खुलेरै जोय बाइडनको पक्षमा लाग्नेमा टेलर स्विफ्ट, मडोना, कार्डी बी, टम हयांक्स, जर्ज कुलुनी आदि मुख्य थिए ।
अझ टेलर स्विफ्टले त भि म्यागजिनको सम्पादकीयमा जोय बिडेन र डेमोक्रयाटको तर्फबाट उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई भोट दिन अनुरोध गरिन् र सो पोस्ट १ अर्बभन्दा ज्यादा फ्यान भएको इन्स्टाग्राममा पनि पोस्ट गरिन् ।
आफूलाई स्वतन्त्र बताउने ड्वाने जोनसन पनि पनि यो पटक स्वतन्त्र रहन चाहेनन् । इन्स्टामा सबैभन्दा धेरै फ्लोअर भएका जोनसनले भिडियोमार्फत जो बाइडेन र कमला ह्यारिस आफ्नो देशको नेतृत्व गर्न सबैभन्दा उपयुक्त अनुहार रहेको दाबी गरे ।
चुनाव नजिकँदै गर्दा जोय बिडेनको पक्षमा खुल्ने हलिउड सेलिब्रेटीको संख्या बढ्दो छ । योसँगै प्रश्न पनि उठेको छ, ‘आखिर किन ट्रम्पको विरोधमा छ हलिउड ?’
‘सेलिब्रेटोक्रेसी’का लेखक कुपर लरेन्सका अनुसार हलिउड जहिले पनि ‘उदारता’को पक्षमा खडा हुन्छ । ‘तर, ट्रम्पले ‘कट्टरपन्थी’ धारको प्रतिनिधित्व गर्छन्,’कुपर भन्छिन्, ‘ मुख्य कारण यही नै हो कि हलिउड दोस्रो कार्यकालका लागि ट्रम्प दोहोरिएको देख्न चाहान्न ।’
अमेरिकामा केही महिना अघिसम्म ‘ब्ल्याक लाइभ्स म्याटर’को प्रदर्शन व्यापक थियो । अफ्रिकन मुलका जर्ज फ्लोयडलाई गोरा प्रहरीले बीच सडकमा गोली हानेर मारेपछि भडकिएको हिंसाले ट्रम्पको सातो खाएको थियो । यो समयमा थुप्रै हलिउड सेलिब्रेटीले सोसल मिडियामा मात्र यो आन्दोलनको समर्थन गरेनन्,
सशरीर प्रदर्शनमा उपस्थिति पनि भए । तर, यो आन्दोलनलाई ट्रम्पले ‘घृणाको प्रतीकको रूपमा टिप्पणी गरेका थिए । यसले पनि सेलिब्रेटीलाई नराम्ररी भड्काएको थियो । यसैको परिणाम हुनसक्छ, अधिकतर सेलिब्रेटी ट्रम्पको हारको कामना गरिरहेका छन् ।
कोभिड–१९लाई नियन्त्रण गर्ने मामलामा पनि ट्रम्प सरकार चुकेको सेलिब्रेटीको विश्लेषण छ । लाखौंको ज्यान जाँदा पनि ट्रम्प रोग नियन्त्रणका लागि सक्रिय हुनुभन्दा कोभिडलाई ‘चाइनिज भाइरस’ भन्नमा रमाइरहेका थिए । ट्रम्पको यो खेलाँची पनि सेलिब्रेटीलाई मन परेको छैन । त्यसैले सेलिब्रेटी चाहान्छन्, ट्रम्प ह्वाइट हाउसमा फेरि छिर्न नपाऊन् ।
सन् २००८ मा बाराक ओबामा राष्ट्रपतिमा चुनिँदा धेरैले यसको श्रेय ओपरा विन्फ्रीलाई दिएका थिए । ओपराले डेमोक्र्याटको तर्फबाट राष्ट्रपतिको उम्मेदवारका लागि ओबामा र हिलारी क्लिन्टनबीचको प्रतिस्पर्धामा ओबामालाई सपोर्ट गरेकी थिइन् र पपुलर भोटमा उनले हिलारीभन्दा १० लाख ज्यादा मत पाएका थिए । पछि ओबामाले राष्ट्रपतिको चुनाव जितेपछि उसबेला देशको राष्ट्रपति ओपराले छानेको भनेर ठट्टा गर्ने गरिएको थियो ।
तर, अघिल्लो राष्ट्रपति चुनावमा सेलिब्रेटीको पनि केही लागेको थिएन । सेलिब्रेटी भोटमा अहिले जो बिडेनले ट्रम्पलाई सजिलै हराएजस्तो हिलारी क्विन्टनले पनि ट्रम्पलाई छेउछाउ पनि आउन दिएकी थिइनन् । उनका लागि सहयोग जुटाउने हस्तीमा जस्टिन टिम्बरलेक, जर्ज कुलुनी, जेनिफर एनिस्टन जस्ता कलाकार सामेल थिए । क्लिनटनलाई लेडी गागा, किम कार्दसियन, स्कारलेट जोन्सन, केटी पेरी, बियोन्से, जेनिफर लोपेजजस्ता कलाकारले भोट दिन अपिल गरेका थिए ।
पपुलर भोटमा पनि ट्रम्पभन्दा लाखौंको संख्यामा हिलारी अगाडि रहेको दाबी गरिएको थियो तर यसका बावजुद उनले राष्ट्रपतिको कुर्सीमा बस्ने सौभाग्य पाइनन् । यसपछि पनि सिनेटरको चुनावका केही उदाहरण छन् जहाँ सर्वसाधारणले सेलिब्रेटीले जिताउन चाहेका उम्मेदरवार हराइदिएका छन् । तर, यसको मतबल उनीहरूको कुरा सुन्दैनन् भनेर निष्कर्ष निकाल्नु गलत हुने कुपर बताउँछिन् ।
‘पहिलो कुरा त आजभोलि सेलिब्रेटी सिधा सिधा हामीसँग कुरा गरिरहेका छन् । उनीहरूको फोटो वा भिडियो पब्लिसिस्टले हैन, सामाजिक सञ्जालमा उनीहरूले आफैं पोस्ट गर्छन् जुन नाटकीय लाग्दैन,’ कुपरको तर्क छ, ‘ यसले हामीमा निकटताको भ्रम जस्तो हुन्छ ।’ आजकल सेलिब्रेटीले बच्चाबच्ची, लभ रोमान्स र ब्रेकअपका खबर सबै निर्धक्क सेयर गर्छन् जसले उनीहरूलाई नजिकबाट चिनेको महसुस गराउँछ ।
हामी उनीहरूको विश्वास गर्न थाल्छौं । कुपर भन्छिन् ‘ म मेरो छिमेकीलाई चिन्दा पनि चिन्दिन तर मलाई किम कार्दसियनको बारेमा सप्पै कुरा थाहा छ । यदि उनले बाइडेनलाई भोट गर भनेर भन्छिन् भने राजनीति थाहा नपाएको मान्छे उनको कुरा मान्न पनि सक्छ ।’
त्यसो त ट्रम्पको पक्षमा पनि सेलिब्रेटी नभएका होइनन् । क्रिस्टी एली, स्टेसी डास, रिक ह्यारिसनलगायतका हलिउड सेलिब्रेटी ट्रम्पले दोहो-याएर जित्नु पर्ने पक्षमा छन् । तर, विश्वले चिनेका अधिकांश हलिउड सेलिब्रेटी भने ट्रम्पको विरोधमै देखिएका छन् । (एजेन्सीहरूको सहयोगमा)

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया