बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

पौडेलसहितका नेताको मागबारे छलफल गर्न देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौं : कात्तिक २१ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा तय गर्न कात्तिक १७ गते नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्‍ने भएको छ ।
 
सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताहरूको बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला कोषाध्यक्ष सितादेवी यादवसहित २७ केन्द्रीय सदस्यले गत असोज १२ गते बुझाएको ‘पार्टी विधान सम्मत सञ्‍चालन गरी १४ औं महाधिवेशशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सृजना गरियोस्’ शीर्षकको पत्रका विषयमा पनि छलफल हुनेछ ।
 
संस्थापन पक्षीय केन्द्रीय सदस्य एनपी साउदले नेपा पौडेलसहितका नेताहरूले महाधिवेशनका सन्दर्भमा बुझाएको पत्र, महाधिवेशनबारे केन्द्रीय समितिमा लैजाने एजेण्डा र समसामयिक राजनीतिका विषयमा छलफल गर्न सभापति देउवाले शीर्ष नेताहरुको बैठक बोलाएको जानकारी दिए । ‘सोमबार बोलाइएको शीर्ष नेताहरुको बैठकमा नेता रामचन्द्र पौडेलसहितका नेताहरुले बुझाएको पत्र, महाधिवेशन र समसामयिक राजनीतिका विषयमा छलफल हुन्छ,’ साउदले इकागजसँग भने, ‘केन्द्रीय कार्यसमिति बैठकमा मतैक्यता कायम गर्न सभापतिले नेताहरूसँग छलफल गर्न थाल्नुभएको हो ।’
  
गत असोज १७ गते पनि देउवाले शीर्ष नेताहरूसँग पौडेलको पत्रका विषयमा छलफल गरेका थिए । पत्रबारे सहमति बनिनसक्दै केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहितका ७ केन्द्रीय सदस्यलाई कोभिड-१९ को संक्रमण देखिएपछि बैठक स्थगित भएको थियो । नेताहरूलाई कोरोना संक्रमण देखिएपछि कांग्रेसले महाधिवेशनबारे छलफल गर्न असोज १९ र २५ मा बोलाएको केन्द्रीय समिति बैठक स्थगित गरेको थियो ।
 
पदाधिकारी, पूर्वपदाधिकारी र शीर्ष नेताहरूलाई देउवाले आफ्नो निवास बुढानिलकण्ठमा बोलाएका हुन् । देउवाले बिहीबारमात्रै २१ कात्तिकमा केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । केन्द्रीय समितिमा कोरोना महामारीका कारण निर्धारित मिति फागुन ७-१० गते पार्टीको १४ औं महाधिवेशन गर्न असम्भव भएपछि कसरी अगाडी बढ्ने भन्‍ने विषयमा छलफल हुने केन्द्रीय सदस्य साउदले जानकारी दिए । 

१३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाको ४ वर्षे कार्यकाल गत फागुन १९ गते सकिएको थियो । केन्द्रीय कार्यसमितिको बहुमतबाट ‘विशेष परिस्थिति’ देखाएर एक वर्ष कार्यसमितिको म्याद थप्‍न मिल्ने क्लज प्रयोग गरी आगामी फागुन १९ गतेसम्म थपिएको थियो । थपिएको एक वर्षमा पनि महाधिवेशन गर्न नसक्ने अवस्था भएपछि कांग्रेस पुनः संविधानमा भएको व्यवस्था प्रयोग गरी केन्द्रीय कार्यसमितिको म्याद थप्‍न र महाधिवेशनको समय सार्ने तयारी गरिरहेको छ । 

कांग्रेसले अब संविधानत ६ महिना यो कार्यसमितिको म्याद बढाउन सक्छ । ६ महिना थप्दा भदौ १९ सम्म देउवा नेतृत्वको कार्यसमिति कायम रहन्छ ।