सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

उत्साहविनाको अस्ट्रेलियन ओपन

काठमाडौँ : अस्ट्रेलियन ओपनलाई ‘हयाप्पी स्लाम’ भनिन्‍छ । सबै ग्रान्डस्लाममा दर्शकको उत्साहजनक उपस्थिती हुनेभए पनि अस्ट्रेलियन ओपनको वातावरण विशेष मानिन्‍छ । तर यसपटक अंग्रेजी वर्षको पहिलो ग्रान्डस्लाम प्रति उत्साह उस्तै छैन । कोभिड-१९ महामारीका कारण विश्वनै आक्रान्त भएको बेला सुरु हुन लागेको प्रतियोगितामा कयौँ नाम चलेका खेलाडी हुने छैनन् भने दर्शकको संख्या पनि ब्यापक कटौति गरिएको छ ।

यद्यपि नोभाक जोकोभिच र सेरेना विलियम्स जस्ता स्टारले सोमबारबाट सुरु हुने प्रतियोगितालाई निरश हुन नदिने अनुमान गरिएको छ । सर्बियन जोकोभिच नौऔँ पटक अस्ट्रेलियन ओपनको उपाधि जित्ने लक्ष्यका साथ मेलबर्न पार्कको कार्टमा उत्रनेछन् । त्यस्तै, विलियम्स मार्गेट कार्टले २४ ग्रान्डस्लाम जितेर राखेको कीर्तिमान तोड्न धेयमा हुनेछिन् ।

उल्लेखित स्टारहरुको खेल हेर्न पुग्ने दर्शकका लागि मास्क अनिवार्य गरिएको छ भने मैदान वरिपरी ‘सेनिटाइजिङ स्टेसन’ हरु स्थापना गरिएको छ । त्यसो त यसपटक यस प्रतियोगिता हेर्ने दर्शकको संख्या आधा घटाइएको छ । कोभिडकै कारण विम्बल्डन स्थगित भएको र यूएएस ओपन पनि दर्शकबिना खेलाइएको परिपेक्ष्यमा अस्ट्रेलियन ओपनमा आधा दर्शकसंख्या राख्‍ने निर्णय स्वागत योग्य भएको खेल विश्लेष्कहरुको भनाई छ ।

विश्वका ठूला खेल प्रतियोगिताहरु दर्शकविना नै आयोजना भइरहेको बेला अस्ट्रेलियन ओपनले दर्शकलाई स्वागत गर्नुका कारण आयोजक मुलुकको कोभिड सम्बन्धि नियमलाई मानिएको छ । अस्ट्रेलियन सरकारले लागू गरेको कडा नियमका कारण सो मुलुक अन्य मुलुकहरुको दाँजोमा सुरक्षित बनेको छ । जसका कारण अस्ट्रेलियन ओपनमा दर्शक फर्काउन सहज भएको हो । तथापि अस्ट्रेलियन टेनिस संघका अधिकारी भने कोभिडले प्रतियोगितामा असर पुर्‍याउनेमा शसंकित छन् ।

यस पटकको अस्ट्रेलियन ओपन निर्धारित तालिका भन्दा ती साता ढिलो आयोजना गर्न लागिएको हो । प्रतियोगितामा भाग लिन आएका सबै खेलाडी, प्रशिक्षक तथा अन्य अफिसियललाई १४ दिनको अनिवार्य क्‍वारेन्टाइनको नियम लागू गरिएको थियो । त्यसपछिको वार्म-अप खेल तालिका र अभ्यासले खेलाडीहरुलाई ब्यस्त बनायो ।

अस्ट्रेलियन ओपन आलोचनाबाट बच्‍न भने सकेको छैन । टेनिस खेलाडीहरुले क्‍वारेन्टाइन नियमका विषयमा प्रतियोगिता आयोजकको आलोचना गरेका छन् भने मेलबर्न बासिन्दा पनि पनि अस्ट्रेलिया बाहिरबाट आउने खेलाडी तथा प्रशिक्षकले कोभिडको जोखिम बढाउने भन्दै विरोधमा उत्रिए । जसको प्रतिक्रिया स्वरुप प्रतियोगिता निर्देशक क्रेग टाइलेले आवश्यक परे प्रतियोगिता स्थगित गर्ने अभिब्यक्ति दिए ।