स्थानीय तहमा सूचनाको हक कार्यान्वयनमा समस्या

बाँके : बाँकेका स्थानीय सरकार तथा सार्वजनिक निकायले स्वस्फूर्त रूपमा प्रकाशन गर्नुपर्ने सूचना प्रकाशन नगरेको पाइएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ मा हरेक सार्वजनिक निकायले सम्पादन गरेका काम तथा प्रवाह गर्ने सेवा र कार्यालयसँग सम्बन्धित सूचनाको हरेक ३/३ महिनामा स्वतस्फूर्त रूपमा प्रकाशन गर्नुपर्ने प्रावधान छ, तर बाँकेका सार्वजनिक निकायले सो प्रावधानको कार्यान्वयन गरेका छैनन् ।
सूचनाको हक सम्बन्धीको ऐन २०६४ को परिच्छेद २ को दफा ५ को उपदफा ४ मा सार्वजनिक निकायले कार्यालयका सूचना त्रैमासिक रूपमा अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने भनेको छ । तर, कार्यान्वयनका लागि सार्वजनिक निकायहरुले चासो देखाएका छैनन् । ऐनमा व्यवस्था भए बमोजिम बाँकेका धेरै सरकारी कार्यालयहरुले सूचना अधिकारीको व्यवस्था गरेको भएपनि सूचना प्रवाहमा भने ध्यान दिएको पाइँदैन ।
आफ्नो कार्यालयसँग सम्बन्धित सूचनाहरु जनताले थाहा पाउने गरी प्रवाह गर्नु पर्छ र प्रकाशन गर्नुपर्छ भन्ने इच्छाशक्ति र अपनत्व कार्यालय प्रमुखलाई नहुँदा स्वस्फूर्त सूचना प्रकाशन गर्न नसकिएको सरकारी कार्यालयका सूचना अधिकारीहरु बताउँछन् ।
सूचनाको हक सम्बन्धीको ऐनले सार्वजनिक निकायले निकायको स्वरूप र प्रकृति, निकायको काम, कर्तव्य र अधिकार, निकायमा रहने कर्र्मचारी संख्या र कार्य विवरण, निकायबाट प्रदान गरिने सेवा, सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी, सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि, निर्णय गर्ने प्रक्रिया र अधिकारी, निर्णय उपर उजुरी सुन्ने अधिकारी, सम्पादन गरेको कामको विवरण, सूचना अधिकारी र प्रमुखको नाम र पद, ऐन, नियम, विनियम वा निर्देशिकाको सूची, आम्दानी, खर्च तथा आर्थिक कारोबारलगायतका विषयका सूचनाहरु अद्यावधिक गरी प्रकाशन गर्नु पर्ने भनेको छ ।
सूचना स्वतः प्रकाशन गर्न कार्यालय प्रमुख र शाखा प्रमुखबाट सहयोग नपाएको सूचना अधिकारीहरुको गुनासो छ । कार्यालयमा सूचना अधिकारी तोक्ने तर सूचना अधिकारीले गर्नुपर्ने काममा कार्यालय प्रमुखले महत्व नदिएको देखिन्छ ।
सूचना अधिकारीको रूपमा कर्मचारीलाई जिम्मेवारी सुम्पिएको भए पनि नागरिकहरुले सूचना मागेको खण्डमा सूचना दिनेबाहेक कार्यालयले स्वतः प्रकाशन गर्दैनन् । कतिपय कार्यालयहरुले त नागरिकले मागेको सूचना समेत दिन आनाकानी गर्छन् । कतिपय कार्यालयका सूचना अधिकारीसँग त कार्यालयकै आधिकारिक सूचनाहरु हुँदैन ।
सार्वजनिक सेवा प्रवाह बारे हरेक ३/३ महिनामा सबै सार्वजनिक निकायले स्वतः सूचना प्रकाशन तथा प्रसारण गर्नु पर्ने कानुनी प्रावधान हुँदासमेत बाँकेका सरकारी कार्यालयहरूले कानुनको पालना गर्न नसकेको सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीको भनाइ छ ।
कार्यालयका सबै शाखा तथा कर्मचारीहरुले आफूसँग भएका सूचनाहरु सूचना अधिकारीलाई उपलब्ध गराउनु पर्छ भन्ने बुझाइ नहुँदा कतिपय कार्यालयहरुमा सूचना अधिकारी नाम मात्रैका रहेका छन् ।
बैजनाथ गाउँपालिका बाँकेका सूचना अधिकारी तप्तराज आचार्यले कार्यालयका सूचनाहरु नागरिकहरुले जानकारी पाउने गरी स्वतः प्रकाशन गर्नुपर्छ भन्ने इच्छा शक्तिको अभावले ऐनमा भएको व्यवस्थाको कार्यान्वयन हुन नसकेको बताउँछन् ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दीर्घराज उपाध्यायले ऐनमा भएको व्यवस्था बमोजिम बाँकेमा सूचना प्रवाह गर्ने संस्कारको विकास भइनसकेको बताउँछन् ।
नेपालको संविधानले समेत नेपाली नागरिकलाई सूचना माग्ने र पाउने हकको व्यवस्था गरेको छ । सार्वजनिक निकायहरुले कानुनमा भएको व्यवस्थाको कार्यान्वयन गर्न नसक्नु सार्वजनिक निकायको लाचारीपन हो ।
सूचनाको हक सम्बन्धी ऐनको कार्यान्वयन गराउने निकाय राष्ट्रिय सूचना आयोगले सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीहरुलाई बारम्बार अभिमुखीकरण गर्ने र ऐनको कार्यान्वयन गर्न निर्देशन दिएको भए पनि सार्वजनिक निकायले आफ्नो प्राथमिकतामा राख्न नसक्दा सूचनाको हक सम्बन्धीको ऐनको कार्यान्वयनमा समस्या देखिएको छ । कानुनको पालना गरी नेपाली नागरिकको सूचना पाउने हक सुरक्षित गर्न सार्वजनिक निकायले ध्यान दिन जरूरी छ ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया