शुक्रबार २२ चैत, २०८१
Friday, April 04, 2025

दुर्गममा बर्थिङ सेन्टर, अस्पतालमै बच्चा जन्माउनेलाई पाँच हजार भत्ता

तुलसीपुर उपमहानगरपालिकाको नगरप्रमुखका रूपमा निर्वाचित भएपछि घनश्याम पाण्डेले स्थानीय सरकार सञ्चालन ऐन अन्डरलाइन गरेर पढे  ।  स्थानीय निकायलाई संघीयताले स्थानीय तहका रूपमा अधिकार सम्पन्‍न बनाएको थियो । उनीसँग २०५४ सालमा उपमेयर हुनुको अनुभव त थियो तर अधिकार र जनअपेक्षाको दृष्टिले निकै फरक थियो ।

दाङ जिल्लाको घोराही र तुलसीपुर जुम्ल्याहा उपमहानगरपालिका मानिन्‍छन् । दुईवटै स्थानीय तह एकैपटक उपमहानगरपालिका भएका थिए । जननिर्वाचित जनप्रतिनिधि आउनुभन्दा अगाडि कार्यसम्पादन मूल्यांकनमा घोराही सधैँ अब्बल आउने अनि तुलसीपुर सधैँ अन्तिममा । ‘चुनौती होइन, नराम्रोलाई राम्रो गर्ने मसँग उचित अवसर थियो,’ पाण्डेले भने । उनले त्यही अवसर छोपेर रोडम्याप बनाए ।

घर आँगनको सरकार भएकाले जनताका सानाभन्दा साना कुरा पूरा गरिदिनुपर्ने दायित्व अनि अर्कातिर उपमहानगरपालिकाको दीर्घकालीन प्रभाव पार्ने योजना अगाडि बढाउने चुनौती । पाण्डेले सबै कुरालाई पहिलो चरणमा सूक्ष्मतम ढंगले अध्ययन गरे, विश्लेषण गरे, पढेर र परेर सिकेकाहरूलाई भेटे । संघीयतासँगै जनताका आकांक्षाहरू बाक्लिएका कारण उनलाई गर्दै सिक्दै अगाडि बढ्ने अवसर पनि थिएन ।

पाँच वर्षमा गर्ने महत्वपूर्ण योजनाको वर्गीकरण गरेर उनले काम अगाडि बढाए । उनको पहिलो प्राथमिकतामा पर्यो स्वास्थ्य । विभिन्‍न विकट गाविसहरूलाई गाभेर उपमहानगरपालिका बनाइएको तुलसीपुरमा डोकोमा बोकेर स्वास्थ्य उपचार गर्न आउने समस्या थियो, कतिपय ठाउँमा । १९ वटै वडामा स्वास्थ्य चौकी खोले । दुर्गम भेगमा बर्थिङ सेन्टर सञ्चालन गरे । गर्भवती महिलालाई अनिवार्य अस्पतालमै बच्चा जन्माउन प्रेरित गर्न ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने अभियान चलाए ।

नियमित चेकजाँच र अस्पतालमै बच्चा जन्माउन थालेपछि मातृशिशु मृत्युदर शून्यमा झर्यो । सरकारले सबै स्थानीय तहमा अस्पताल बनाउने भनेर देशैभर शिलान्यास गर्दा तुलसीपुरले भने मेट्रो अस्पतालको उद्घाटनको तयारी गर्दैछ ।

दोस्रो प्राथमिकतामा थियो, शिक्षा । तुलसीपुर उपमहानगरपािलकाभित्र ५० हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्थे तर प्राविधिकका साथै अलि फरक विषय अध्ययन गर्नुपर्यो भने टाढा जानुपर्ने बाध्यता थियो । उनले प्राविधिक विषय अध्यापन गराउने सामुदायिक विद्यालयलाई १० लाख रुपैयाँ अनुदान दिने योजना ल्याए ।

यस क्षेत्रका १० वटा विद्यालयले प्राविधिक विषय अध्यापन गराउन सुरु गरे । विद्यार्थी रोकिए । प्राविधिक जनशक्ति उत्पादन हुन थाले । उनले प्राविधिक शिक्षाको दायरा थप फराकिलो बनाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सँग उपमहानगरपालिकाको साझेदारीमा तुलसीपुर बहुप्राविधिक शिक्षालयमार्फत विभिन्‍न प्राविधिक विषय अध्यापन गराउन थाले । ‘सिटिइभिटीसँग स्थानीय सरकारले साझेदारी गरेर कलेज चलाउन सकिन्‍न भन्‍ने मोडालिटीको विकासका लागि विभिन्‍न चरणमा पहल गरेर सम्भव भयो’ अहिले देशैभर २ सय भन्दा बढी स्थानीय तहले यो मोडलबाट प्राविधिक शिक्षा सञ्चालन गरे पनि सबैभन्दा पहिलोपटक तुलसीपुरले नै सुरु गरेको थियो ।

शिक्षाकै विकासका लागि उनले तुलसीपुर मेट्रो कलेजमार्फत स्नातक तहमा कानुन विषयको अध्यापन भइरहेको पनि बताए । ‘विश्वविद्यालयसँग साझेदारीमा हामी नै नेपालको एकमात्र कलेज हौं’ उनले भने । शिक्षामा सबैले सिक्ने अर्को काम पनि भयो तुलसीपुरमा । कतै विद्यार्थी थोरै शिक्षक धेरै अनि कतै विद्यार्थी धेरै शिक्षक कम । उनले विद्यार्थी कम संख्या भएको विद्यालयलाई धेरै विद्यार्थी संख्या भएको विद्यालयमा मर्ज गरे । शिक्षक पनि मर्ज भए । सबै समस्या समाधान भयो । यही कुरा उनले शिक्षामन्त्रीका बीचमा राखे । एक वर्ष पहिला तुलसीपुरले सुरु गरेको मर्जको नीति सरकारले यो वर्ष लागू गर्नका लागि विद्यालयलाई अनुदानसमेत दिएको छ ।

मेयर घनश्याम पाण्डेले स्थानीय सरकार सञ्चालन ऐन अन्डरलाइन गरेर पढे ।

तुलसीपुरका सबै ठाउँमा बाटो विस्तार नहुनुका साथै कयौँ विकट वडामा बाटोसमेत पुगेको थिएन । जनताबाट कयौँ गुनासो आउने गरेको थियो । सबैका माग सम्बोधन गर्न सीमित बजेटले सम्भव पनि थिएन । उनले नयाँ योजना अगाडि सारे । तुलसीपुर पूर्वाधार विकास प्राधिकरणको गठन । वार्षिक २० करोड रुपैयाँ जति रकम सडक पूर्वाधारमा खर्च गरे पनि जनताको गुनासो सम्बोधन गर्न नसकेपछि उनले निर्माण यन्त्र खरिद गरे । अहिले तिनै यन्त्र प्रयोग गरेर १ हजार किलोमिटरभन्दा बढी सडक विस्तार गर्ने काम भएको छ भने वार्षिक ६० किलोमिटर सडक कालोपत्रेका लागि तयारी पूरा भएको छ । अहिले विभिन्‍न स्थानीय तहले यसको सिकोसमेत गरिरहेका छन् । ‘काम पनि भयो, साधन पनि जोडियो,’ उनले भने ।

तरकारीखेतीमा आत्मनिर्भर हुँदै गएको तुलसीपुर बजारमा किसानका लागि तरकारी बिक्री कक्ष थिएन उनले व्यवसायी र किसानलाई एकै ठाउँमा जोड्न कृषि बजार निर्माण गरे । जहाँ दैनिक ३ सय किसानहरूले तरकारी बिक्री गर्न सक्ने संरचना बनेको छ । अहिले यो बजार सबैका लागि सिकाइ बन्दै गएको छ ।

कोभिडका कारणले सबैजना घरमा बन्द थिए । हुने खानेका लागि केही दिनको बन्दले जीवनयापनमा खासै समस्या त पारेन । तर हुँदा खानेहरूका लागि भने निकै जटिल बन्यो । गरिब तथा विपन्‍न वर्गका लागि केही राहतको कार्यक्रम पनि सञ्चालन भयो तर त्यो दीर्घकालीन रूपमा सञ्चालन गर्न सम्भव थिएन । उनले काम गर्ने तर कोभिडका कारण काम गुमाएकाहरूलाई श्रम गराएर खाद्यान्‍न दिने नीति बनाए । वास्तविक श्रमिकहरू काम गर्न आए पनि खाद्यान्‍न लगेर चुलो बाले । एकातिर खाद्यान्‍न बैंक स्थापना गरेर उनले हुने खाने मनकारीबाट खाद्यान्‍न जुटाए अर्कातिर श्रम बैंकमार्फत श्रमिकहरूलाई कामको अवसर सृजना गरेर खाद्यान्‍न वितरण गरे । यो अभियान अन्य पालिकाका लागि पनि सिकाइको विषय बन्यो ।

कुनै पनि ठाउँको पहिलो परिचय मानिने बसपार्क निर्माणको काम सकिएको छ, बालविवाह अन्त्य गर्न र छोरीहरूलाई स्मार्ट बनाउन स्मार्ट छोरी कार्यक्रममार्फत छोरी जन्मेदेखि २० वर्षसम्म उपमहानगरपालिकाले पैसा खातामा राखिदिने अभियान सुरु भएको छ । पैसा नहुने गरिब विपन्‍नको घरमा रहेको खरको छानो फालेर सुरक्षित टिनको छानो छाउने सुरक्षित आवास कार्यक्रमले उपमहानगरपालिकालाई खरको छानोमुक्त बनाउँदै छ । ज्येष्ठ नागरिकको सम्मान स्वरूप घरमै न्यानो कपडा वितरण गरिन्‍छ । विमानस्थल भएर पनि विमान सञ्चालन हुन नसकेको टरिगाउँ विमानस्थलमा नियमित विमान सञ्चालन भएको छ । हरेक वडामा खेल मैदान निर्माण भएको छ । सबै वडामा इन्टरनेट पहुँच पुर्याएर जनताले घर आँगनबाटै सबै सेवा पाउन सफल भएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाकै पहलमा यहाँको पहिचानका रूपमा आधुनिक व्यापारिक कम्प्लेक्स बन्दै छ । ‘प्रतापकोटमा बाटो र बत्ती चाहिएको थियो त्यो पुर्यायाँै, बजारलाई सुन्दर वनाउन कम्प्लेक्स बनाउँदैछौँ” नगरप्रमुख पाण्डेले ठाउँ अनुसार विकासको मोडल फरक फरक हुने बताए । सधैँ अन्तिममा आउने तुलसीपुरले तीन वर्षयता पटक पटक पहिलो भएर विभिन्‍न सम्मान थाप्दै आएको छ । (आचार्य तुलसीपुर उपमहानगरपालिकासँग आबद्ध छन् ।)