अघि बढ्दै मध्यपहाडी लोकमार्ग सडकको निर्माण

काठमाडौँ : पूर्व- पश्चिम जोड्ने राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङ खण्ड निर्माण कार्यले तीव्रगति लिन थालेको छ । विसं २०७२ देखि निर्माण थालनी भएको यस सडकखण्डअन्तर्गत लमजुङ खण्डमा साढे ४८ किलोमिटर पर्छ । यस सडकले जिल्लाको राइनास नगरपालिकास्थित लमजुङ र गोरखाको सिमाना चपेनदीदेखि सुन्दरबजार नगरपालिका हुँदै मध्यनेपाल नगरपालिकासम्म ओगटेको छ । लोकमार्ग सडकको हालसम्म ५० प्रतिशत काम सम्पन्न भएको मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका प्रमुख रामबहादुर गुरुङले बताए ।
उनका अनुसार हालसम्म जिल्लामा साढे ३७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । सम्पन्न सडकमध्ये साढे १४ किलोमिटर मात्र हालसम्म कालोपत्रे सम्पन्न भएको छ । चेपेनदी पाउँदीसम्म ११ किलोमिटर र रातोमाटो किरेन्चेखण्डको साढे तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । सुन्दरबजार नगरपालिकाको वडा नं ७ देखि वडा नं ५ सम्म पर्ने पाउँदीदेखि किरेन्चेसम्मको आठ किलोमिटर विवादका कारण काम हुन सकेको थिएन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय आयोगका उपाध्यक्ष, प्रधानमन्त्री कार्यालयका पूर्वाधार विज्ञ लगायतको टोलीले सो नगरका प्रमुख, जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीसहित अन्यपक्षसँग सहमति गरेर लोकमार्गको काम अघि बढाउन थालेको छ । सोहीअनुसार हालै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेको प्रमुख गुरुङको भनाइ छ । त्यस्तै, किरेन्चेदेखि रातोमाटोसम्मको १६ किलोमिटर खण्डमध्ये साढे तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । यस भागमा नाली निर्माण, कालोपत्रे गर्नका लागि बेस राख्नेलगायत काम भइरहेको छ ।
हालसम्म यस भागका भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भएको मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका इञ्जिनीयर बबिता शर्माले बताए । उनका अनुसार सोही रातोमाटोदेखि मिदिमखोलासम्मको सात किलोमिटरको भागमा निर्माण कार्य अघि बढिरहेको छ । यस भागको चार किलोमिटरमा काम भइरहे पनि तीन किलोमिटरमा भने करिब सात वर्षदेखिको विवादित बन्दै आए पनि अब भने काम अघि बढ्ने तयारी भएको बताइएको छ ।
पाउँदीदेखि किरेन्चेको आठ किलोमिटर र रातोमाटोदेखि मिदिमखोलाको तीन किलोमिटर गरी ११ किलोमिटरमा लामो समयदेखि विवादित थियो । कोभिड- १९ का कारण बिजुलीको पोल विस्थापनमा ढिलाइ, ठेक्का सम्झौतामा ढिलाइ र स्थानीयको अवरोधका कारण लक्ष्यअनुसार सडक निर्माणले गति लिन नसकेको र अब भने निर्माणले गति लिने मध्यपहाडी लोकमार्गका आयोजना गोरखाका इञ्जिनीयर शर्माले विश्वास व्यक्त गरे ।
उनका अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लामा चालु आवभित्र ३० किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य रहेको उक्त कार्यालयले जनाएको छ । लक्ष्यअनुसार कालोपत्रे भएमा चालु आवसम्म साढे ४४ किलोमिटर सडक कालोपत्रे सम्पन्न हुनेछ । त्यस्तै, चार किलोमिटर भने कालोपत्रे हुन बाँकी हुनेछ । यी हाल ठेक्का लागेर काम भइरहेको किरेन्चेदेखि रातोमाटोसम्मका लागि रु ३५ करोड ८८ लाख ३ हजार ४४१ बजेट विनियोजन भएर काम अघि बढेको इञ्जिनीयर शर्माको भनाइ छ ।
त्यस्तै उनका अनुसार रातोमाटोदेखि मिदिमखोलासम्मका लागि रु १५ करोड २९ लाख १८ हजार ७०४ रहेको र यी दुबै सडकको काम स्वच्छङ्ग शङ्कर मालिक खानीदेवी निर्माण व्यवसायीले गरिरहेको छ । रासस

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया