पोखरामा ताजा रगत अभाव
ब्लड बैंक र रेडक्रसका कर्मचारीमा कोरोना संक्रमणपछि रगत संकलन रोकियो

पोखरा : पोखरा १७ की धनमाया गुरुङको शुक्रबार बेलुका ६ बजे फिस्टेल अस्पतालमा शल्यक्रिया गरियो । ७४ वर्षीया उनलाई कात्तिक ३ देखि नसा खुम्चिएर दिमागमा समस्या परेकाले शल्यक्रिया गर्नुपरेको थियो । शल्यक्रियापछि धनमायाका छोरा चेतबहादुर गुरुङलाई अस्पतालले ताजा रगतको खोजी गर्न भन्यो । अस्पतालमा रगत थिएन, उनी रक्त सञ्चार केन्द्र (ब्लड बैंक) पुगे ।
केन्द्रमा ताजा रगत नभएको भन्दै कर्मचारीले चेतबहादुरलाई नै रगत खोज्न भने । रक्तदाता नपाएपछि शनिबार मध्याह्न १२ बजेदेखि चेतबहादुरले रक्तदाताको खोजीमा लागे । उनले आफ्ना छिमेकीलाई फोन गरे । कोहीले अस्पताल आउन झन्झट माने, कोहीले कोरोनाको डर । रक्त समूह मिलेका केही वृध्दले कोरोनाका डरका कारण रगत दिन आउन मानेनन् ।
रक्तदानको कार्यक्रम गरिरहने लायन्स क्लबलाई पनि सम्पर्क गरे । त्यहाँबाट पनि सोचेजस्तो जवाफ पाएनन् । चेतबहादुरले पछि आफ्ना टोलका केही युवासँग समस्या सुनाए । युवा समूहका केही युवाले आएर रगत दिन सक्ने बताएपछि भने उनको समस्या टर्यो । त्यसबीच अस्पतालले रगत माग्दै उनलाई फोन गरिरह्यो । उनले दिउँसो ४ बजेसम्म रगत संकलनका लागि कुर्नुपर्यो ।
अहिले पोखरामा ‘ए–बी पोजेटिभ,’ ताजा रगत तथा ‘प्लेटलेट रिच प्लाज्मा’ युक्त रगत अभाव भएपछि धनमाया जस्ता बिरामी समस्यामा छन् । रक्त सञ्चार केन्द्र पोखरामा अहिले नेगेगिटभ समूहका रगतको मौज्दात रहेपनि पोजेटिभ समूहको रगत अभाव रहेको केन्द्रकी मेडिकल टेक्नोलोजिस्ट सुनीता लम्सालले जानकारी दिइन् । ‘हामीसँग अहिले फ्रेस ब्लडको माग बढी आउँछ, तर पिआरपीयुक्त रगत र पोजेटिभ समूहका रगत अभाव छ,’ लम्सालले भनिन् । आउने मागका लागि अहिले केन्द्रले रक्तदाता खोज्दै व्यवस्थापन गरिरहेको छ । पहिले केन्द्रबाट दिनहुँ एक सय पिन्ट रगत बाहिर पठाइन्थ्यो । अहिले ६० पिन्ट रगत दिनहुँ बाहिर पठाइएको सुवेदीले बताइन् ।
अहिले दसैंको बेला रक्तदानका कार्यक्रम नभएको र कोभिडले रक्तदाताको मानसिकतामा परिवर्तन ल्याएकाले रगत अभाव भएको लम्साल बताउँछिन । रक्तदानका लागि स्वतस्फूर्त गठन भएको संस्था रक्तदाता स्वयंसेवी समाजका अध्यक्ष जितेन्द्रमान शाक्यसमेत कोभिडले दाताको मनोबल घटेको बताउँछन् । ‘रक्तदानमा गएपछि सिरिन्ज लगाउँदा, बस्दा अरु व्यक्तिसँग सम्पर्क हुन्छ, यसले कोरोना संक्रमण हुने डर दातामा भएकाले रगत संकलनमा केही कमी आएको छ,’ शाक्यले भने
।
रेडक्रसले १९ गतेबाट रगत संकलन गर्ने
जिल्ला रेडक्रस समिति, कास्कीका सदस्य बालकृष्ण शर्मा १९ कात्तिकबाट रगत संकलन गरिने बताउँछन् । कात्तिक ५ गते आफूहरुले रगत संकलन गरेपनि अहिले रेडक्रसका केही पदाधिकारीमा कोरोना संक्रमण देखिएपछि कार्यक्रम गर्न नपाएको बताए । पहिलेका वर्षभन्दा यस वर्ष दसैंमा रगत अभाव हुन नदिन आफूहरूले व्यवस्था गरेपनि कर्मचारी र पदाधिकारीमा कोरोना देखिएपछि रगत अभाव भएको उनको तर्क छ ।
ब्लड बैंकका कर्मचारी पनि आइसोलेसनमा रहेकाले रगत संकलनका लागि बाहिर जान नसकिएको बताए । ‘रगत संकलनका लागि जाने मोवाइल भ्यानका ड्राइभर नै संक्रमित छन्,’ उनले भने, ‘भएका जनशक्तिको प्रयोग गरी १९ गतेबाट रगत संकलन गर्ने योजना छ,’ शर्माले भने ।
_rRUfFU7LAg_iipa0fmbp3a1figd2olcyo0qwapfukk2yonvfcgkrdjag1iarvptzd87s9gd_ngfEe6Y9dH_wkpoofm4gmi2jzjchdbm6s8clhhjlix0bvbep80p7kfmufcheppoolvzoedd.jpg)
चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे

गण्डकी प्रदेशसभामा घरेलु मदिरा वैध गर्नेबारे छलफल
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र

काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन

घलेगाउँमा ग्रामीण पर्यटन प्रवर्द्धन तथा रजतजयन्ती समारोह हुँदै

महिलाहरुलाई सङ्गीत सीप सिकाउन मादल बजाउने तालिम

औँसी नुहाउन एकैदिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए

प्रतिक्रिया