मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

लिभरपुलको अर्को लज्जास्पद हार, लेस्टर दोस्रो स्थानमा

काठमाडौँ : साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा अर्को लज्जास्पद हार व्यहोरेको छ । शनिबार राती भएको खेलमा लिभरपुल लेस्टर सिटीसँग ३-१ गोलले पराजित भएको हो । लिभरपुलको यो लगातार तेस्रो हार हो । यसअघि ब्राइटनसँग एक शून्यले हारेको लिभरपुल म्यानचेष्टर सिटीसँग चार एक गोलले स्तब्ध बनेको थियो ।

शनिबार रातीको खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । उसका लागि दोस्रो हाफको ६७ औँ मिनेटमा मोहम्मद सलाहले गोल गरे । तर त्यो अग्रता धेरैबेर टिकेन । त्यसको ११ मिनेटपछि लेस्टरका जेम्स मेडिसनले बराबरी गोल फर्काए ।

खेल बराबरी उन्मुख भएका बेला लेस्टरले चार मिनेटमा दुई गोल गर्दै जित सुनिश्चित गरेको थियो । उसका लागि जेम्मी भर्डीले ८१ औँ र हार्भे बेर्नले ८५ औँ मिनेटमा गोल गरे । जितसँगै लेस्टर सिटी २४ खेलबाट ४६ अंकसहित प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको म्यानचेष्टर युनाईटेड ४५ अंकसहित तेस्रो स्थानमा छ । लिभरपुल भने २४ खेलबाट ४० अंकसहित चौथो स्थानमा छ । म्यानचेष्टर सिटी भने शीर्ष स्थानमा छ । 

शनिबार राती नै भएको अर्को खेलमा बर्नलीले क्रिष्टल प्यालेसलाई ३-० गोलले हराएको छ ।