शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

कञ्‍चनपुरको मझगाउँ विमानस्थल कालोपत्रे हुने

धनगढी  : लामो समयदेखि बन्द रहेको कञ्‍चनपुरको मझगाँउ विमानस्थल सञ्‍चालनको प्रक्रिया अगाडि बढेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच जग्गा अधिग्रहण र पूर्वाधार निर्माणका लागि साझेदारी भएसँगै विमानस्थल सञ्‍चालनको प्रक्रिया अगाडि बढेको हो । 

३७ करोडको लागतमा मझगाउँको धावनमार्ग कालोपत्रे गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्‍चिम प्रदेश सरकार र कञ्चनपुरका दुई स्थानीय तह भीमदत्त र महाकाली नगरपालिकाबीच साझेदारी भएको हो । उक्त रकम नगरपालिका र प्रदेश सरकारले नागरिक उड्डयन प्राधिकरणको बैंक खातामा जम्मा गरेसँगै जग्गा खरिद प्रक्रिया अगाडि बढ्ने सहमति भएको छ । 

विमानस्थलको धावन मार्ग १६ सय मिटर लामो हुने छ भने विमानस्थलको स्तरोन्‍नति र सञ्‍चालनका लागि संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५, भीमदत्त नगरपालिकाले १५ र महाकाली नगरपालिकाले १० प्रतिशत खर्च जुटाउने समझदारी भएको छ । 

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले भौतिक पूर्वाधार जीर्ण भइसकेको मझगाउँ विमानस्थल सञ्चालन हुने दावी गरे । विमानस्थलले कञ्‍चनपुरको आर्थिक र सामाजिक विकासमा टेवा पुगाउने विष्टले बताए । जग्गा अधिग्रहण र मुआब्जा विवरणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेश गर्ने समेत सहमति भएको विष्टले बताए ।