बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

दाहालले काठमाडौं बोलाए आफू निकट स्थायी समिति सदस्य

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफू निकटका स्थायी समिति सदस्यहरूलाई काठमाडौं बोलाएका छन् । पूर्वमाओवादी कोटामा स्थायी समिति सदस्य भएका एक नेताले अध्यक्ष दाहालले आफूलाई काठमाडौं बोलाएको जानकारी दिए । 
 
दसैंमा गृहजिल्ला पुगेका उनलाई अध्यक्षले विशेष छलफल गर्ने भन्दै काठमाडौं बोलाएको जानकारी दिए । काठमाडौं किन बोलाइयो भन्‍नेबारे भने केही जानकारी नदिइएको उनले बताए ।
 
विशेष छलफल भन्दै कार्यकारीले काठमाडौं बोलाउनु भएको छ,’ इकागजसँग उनले भने, ‘म आजै काठमाडौं जाँदैछु । किन बोलाइएको हो त्यो भने केही खुलाइएको छैन ।’ त्यस्तै अर्का एक स्थायी समिति सदस्यले पनि आफूलाई काठमाडौं बोलाइएको बताए । ‘भोलि बिहानसम्म काठमाडौं पुग्‍न भनिएको छ,’ उनले भने,  'भोलि आन्तरिक छलफल गर्ने तयारी रहेको बुझेको छु ।’
 
तर पूर्वमाओवादी निकटका सबै स्थायी समिति सदस्यलाई भने काठमाडौं बोलाइएको छैन । जिल्लामै रहेका अर्का एक स्थायी समिति सदस्यले भने यस विषयमा अनबिज्ञता प्रकट गरे । ‘खै मलाई त अहिलेसम्म केही जानकारी आएको छैन,’ उनले भने । 

कर्णालीमा मुख्यमन्त्रीविरुध्द आफ्नै दलका नेताले अविश्‍वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको नेकपाको पछिल्लो विवाद फुटको सँघारमा पुगेको छ । यसअघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले खुलासा गरेका थिए । ‘प्रधानमन्त्रीले सँगै जान नसकिने अवस्था आएको अब अलग-अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’ प्रवक्ता श्रेष्ठले इकागजसँग भने, ‘प्रधानमन्त्री स्वयंबाट त्यस्तो प्रस्ताव आएपछि पार्टी एकता कायम गर्न लागि परेका छौं ।’