मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

अस्ट्रेलियन ओपनःउपाधिका लागि मेदभेदेब र जोकोभिच भिड्ने

काठमाडौँ  : अस्ट्रेलियन ओपनको उपाधिका लागि डानिल मेदभेदेब र नोभाक जोकोभिच भिड्ने भएका छन् । वर्षको पहिलो ग्रान्डस्लामको दोस्रो सेमिफाइनलमा शुक्रबार मेदभेदेबले ग्रिसका स्टेफानोस सिटसिपासलाई पराजित गरेपछि रुस र सर्बियाका स्टारहरू बीचको भिडन्त पक्का भएको हो । आफ्नो करियरमा दोस्रो पटक ग्रान्डस्लाम फाइनल पुग्‍ने क्रममा मेदभेदेबले सिटसिपासविरुद्ध ६-४ ६-२ ७-५ को जित दर्ता गरे । मेलबर्न पार्कमा सिटसिपासविरुद्धको जित मेदभेदेबका लागि अन्तराष्ट्रिय टेनिसमा लगातार २० औँ जित हो । 

विगत १६ वर्षदेखि ग्रान्डस्लामको पुरुष एकलतर्फको उपाधि भित्र्याउन नसकेको रुसका लागि मेदभेदेबको जितले सुखद खबर दिएको छ । ‘म कती खुशी छु भन्ने कुरा शब्दमा बयान नै गर्न सक्दिन । यस्तो उपलब्धि पाउनका लागि मैले जीवनभर नै मेहेनत गरेको छु,’ मेदभेदेबले जितपछि सञ्‍चार माध्यमसँग कुरा गर्दै भने ।
मेलबर्न पार्कमा जारी प्रतियोगिताको फाइनल आइतबार हुनेछ । प्रतियोगिताको चौथौँ वरियतामा रहेको मेदभेदेबले विश्‍व नम्बर एकको सामना गर्दा पहिलो पटक ग्रान्डस्लाम जित्‍ने धेयमा हुनेछन् । उता आठ पटक अस्ट्रेलियन ओपन जितिसकेका जोकोभिच भने राफाएल नाडाल र रोजर फेडेररले २० पटक ग्रान्डस्लाम जितेर राखेको कीर्तिमानको नजिक पुग्‍ने प्रयासमा रहनेछन् । 

‘जोकोभिचले यो प्रतियोगिता धेरै पटक जितिसकेका छन् । त्यसकारण यस पटक पनि जित्न उनी दबाबमा रहनेछन् । उनलाई फेडेरर र राफाको कीर्तिमानको नजिक पुग्‍ने लक्ष्य छ । मेरो यो पहिलो फाइनल हो त्यसकारण म दबाबमा रहनुपर्ने कुनै कारण छैन,’ सन् २०१९ को युएएस ओपनको फाइनलमा नाडालसँग पराजित भएका मेदभेदेबले थपे ।