मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

एपीएफ अपराजित रहँदै च्याम्पियन

काठमाडौँ  : शसस्त्र प्रहरीको एपीएफ क्लबले राष्ट्रिय महिला लिग उपाधिको रक्षा अपराजित हुँदै गरेको छ । दुई खेल बाँकी छँदै च्याम्पियन बनेको एपीएफले शुक्रबार आफ्नो अन्तिम खेलमा विभागिय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई ३-० ले पराजित गर्‍र्यो । जुन एपीएफका लागि लिगमा १२ औँ जित थियो । 

नेपाली महिला फुटबलको सर्वोच्च प्रतियोगिता तेस्रो पटक जितेको एपीएफले १५ लाख पुरस्कार प्राप्त गर्‍यो । २६ अंकका साथ दोस्रो स्थानमा लिग समापन गरेको आर्मीले आठ लाख हात पार्‍यो भने तेस्रो स्थानको नेपाल पुलिस क्लबले पाँच लाख पायो । तीन विभागिय सहित सात टिम सहभागी लिगमा चौथौँ स्थान अओगट्ने वालिङ नगरपालिकालाई तीन लाखले पुरस्कृत गरियो । 

लिगमा कुल ७७ गोल गरेको एपीएफको अन्तिम जितमा सरु लिम्बुले दुई तथा अनिता केसीले एक गोल गरिन् । दशरथ रंगशालामा सम्पन्न फाइनलमा सरुको गोल मार्फत एपीएफले खेलको ४५ औँ मिनेटमा अग्रता लिएको थियो । अनिताले ८६ औँ मिनेटमा च्याम्पियनको अग्रता दोब्बर बनाउँदा सरुले खेलको अन्तिममा ब्यत्तिगत दोस्रो गोल गरिन् । 

लिगमा एपीएफकी सरु सर्बोत्कृट खेलाडी घोषित भइन् । उनलाई पुरस्कार स्वरुप स्कुटर दिइयो । त्यस्तै सोही टोलीका भगवती थापा र सावित्रा भण्डारी क्रमशः उत्कृष्ट प्रशिक्षक र फरवार्ड घोषित भए । लिगमा तेस्रो स्थान प्राप्त गर्ने पुलिसका अमृता जैशी र उमा नाथ उत्कृष्ट रक्षक र गोलरक्षक बने भने आर्मीकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर घोषित भइन् । प्रत्येक विधामा उत्कृष्ट हुनेलाई ५० हजारले सम्मानित गरियो ।