शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

इङ्गल्यान्डमा फेरि लकडाउन

प्रधानमन्त्री बोरिस जोन्सनले इङ्गल्यान्डमा एनएचएसका लागि 'मेडिकल र नैतिक विपत्' रोक्न दोस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेका छन् । उनले क्रिसमस 'निकै फरक' हुनसक्ने तर अहिले उठाइएको कदमका कारण उक्त चाडका अवसरमा परिवारहरूका सदस्यहरूबीच भेट हुन सक्ने आशा प्रकट गरे ।

पबहरू, रेष्टुरेन्ट, जीम र अति आवश्यक सेवामा नपर्ने पसल सबै चार हप्ताका लागि बन्द गरिने उनले बताए । तर यस अघिको लकडाउनमा बन्द गरिएका स्कूल, कलेज र विश्वविद्यालय यस पटक खुला रहन सक्नेछन् ।

डिसेम्बर २ देखि प्रतिबन्ध खुकुलो गरिने भएपनि ठाउँ ठाउँमा प्रतिबन्ध भने लागिरहन सक्छ । प्रधानमन्त्री जोन्सनले भने, 'यो वर्षको क्रिसमस असाध्यै फरक हुनेछ । तर अहिलेको कडा कदमपछि क्रिसमसका बेला परिवारका सदस्यहरूले भेटघाट गर्न सक्ने स्थिति आउन सक्छ ।'

नयाँ प्रतिबन्धहरू के के छन् ?
- मानिसहरूलाई विशेष कारण नभै घर‍ बाहिर ननिस्कन भनिएको छ
- बिरामी परेमा घर बाहिर निस्कन पाइनेछ । त्यस्तै खाद्यान्न र अन्य अत्यावश्यक बस्तु किनमेल गर्न र जोखिममा रहेका मानिसलाई सहयोग गर्न वा स्वयम्‌सेवा गर्न पनि घर बाहिर निस्कन पाइनेछ
- घरबाहिर वा निजी बगैचामा पनि समूहमा भेटघाट गर्न प्रतिबन्ध छ
- तर सार्वजनिक स्थानमा एक अर्कालाई भेट्न पाइनेछ
- पब, बार, रेस्टुरेन्ट र अत्यावश्यकमा नपर्ने खुद्रा पसल सबै बन्द रहनेछन् तर टेकअवे जस्ता पसल खोल्न पाइनेछ
- जीमहरू लगायत मनोरन्जनस्थलहरू बन्द रहनेछन्
- निर्माणस्थल र उद्योगहरू खुला रहन सक्नेछन्
- यदि छुट्टिएर बसेका बाबुआमा छन् भने छोराछोरी बाबु वा आमाकहाँ जान पाउनेछन्
- जोखिममा रहेका मानिसहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ

प्रधानमन्त्रीले डाउनिङ स्ट्रीटमा प्रेस सम्मेलनमा लकडाउनले व्यवसायमा पर्ने असरका लागि 'साँच्चिकै दुखी' भएको भन्दै कामदारहरूलाई सरकारले काम नगरेपनि ८० प्रतिशत तलब दिने फरलो प्रणाली नोभेम्बरसम्म जारी हुने बताए । एप्रिलमा भन्दा नराम्रो सङ्क्रमण दर र मृत्यु दरका कारण 'कुनै पनि जिम्मेवार प्रधानमन्त्रीले' त्यसलाई नजरअन्दार गर्न नसक्ने प्रधानमन्त्री जोन्सनको भनाइ छ ।

अहिले सङ्क्रमण तुलनात्मक रूपमा कम रहेको इङ्गल्यान्डको दक्षिण पश्चिमी क्षेत्रका अस्पताल समेत केही दिनमा बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुग्ने जोन्सनले बताए । जोन्सनले भने, 'डाक्टर र नर्सले कसको उपचार गर्ने, कसको नगर्ने, कसलाई अक्सिजन दिने, कसलाई नदिने र को बाँच्ने, को मर्ने भन्ने निर्णय गर्न बाध्य हुनेछन् ।' (बीबीसी)