शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

पार्टी फुटाउने विदेशी शक्तिहरुको चाहना कसैबाट पूरा नहोस् : नारायणकाजी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा धारणा राख्दै प्रवक्ता श्रेष्ठले पार्टीको बैठक बसेर सबै विषयमा छलफल गर्न समेत माग गरेका छन् ।

'हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो । यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन' श्रेष्ठले लेखेका छन् 'फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेशविरुद्ध हुन्छ । तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं ।'

र, यो पनि
पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छः महासचिव पौडेल
घिसिपिटी गर्नुभन्दा पार्टी फुटाऔँ : प्रधानमन्त्री ओली
पार्टी फुट्‍ने संकेत देखिएको छैन : प्रधानमन्त्री ओली
दाहालले काठमाडौं बोलाए आफू निकट स्थायी समिति सदस्य

श्रेष्ठले पार्टीको बैठक बसेर सबै पक्षहरुबारेमा खुला छलफल गर्न सुझाएका छन् । पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार, सिदान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुन सक्ने भए पनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिनसकेको उनले उल्लेख गरेका छन् ।

'यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबद्धता भए पुग्छ, पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन । व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन । देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं । जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौं' श्रेष्ठले लेखेका छन् ।