शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

शहिद परिवारलाई सम्मान गरेर शालिकको अनावरण

वीरगञ्ज : पर्साको वीरगन्जमा मधेस आन्दोलनका शहिदहरुको शालिकको अनावरण गरिएको छ । वीरगञ्ज घण्टाघर चोकस्थित प्रहरी चौकीको छेउको खाली जग्गामा निर्मित शहिद स्मारक परिसरमा निर्माण गरिएका मधेस आन्दोलनका ७ जना शहिदहरुका शालिकको शनिबार अनावरण गरिएको हो । 

नवनिर्मित शहिद स्मारक परिसरमा, २०७२ सालको मधेस आन्दोलनका क्रममा वीरगञ्जमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका शहिद धर्मराज सिंह, दिलिप चौरसिया, सोहन साह कलवार, भोला प्रसाद तेली, दिनानाथ साह गोढ, शत्रुधन पटेल र आशिष राम गरि ७ जना शहिदको शालिक निर्माण गरिएको हो ।  

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी र पर्सा निर्वाचन क्षेत्र नम्बर १ का विघटित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले संयुक्त रुपमा शहिदहरुका शालिकको अनावरण गरे । सांसद यादवको संसदीय कोषको २८ लाख र वीरगन्ज महानगरपालिकाको १० लाख गरि कुल ३८ लाख रुपैयाको लागतमा शहिद स्मारकका साथै ७ जना शहिदको शालिक निर्माण गरिएको हो । 

जनता समाजवादी पार्टी पर्साले आयोजना गरेको शालिक अनावकरण कार्यक्रममा शहिदका परिवारलाई सम्मान समेत गरिएको थियो ।