फेरि टेनिस नायक बनेकी नेओमी ओसाका

काठमाडौँ : नेओमी ओसाकाको ग्रान्डस्लाम कीर्तिमान लोभलाग्दो छ । चार पटक फाइनलमा पुग्दा चारै पटक उपाधि जितेकी छिन् । दुई पटक युएस ओपन जितेकी जापानी स्टार ओसाकाले शनिबार दोस्रोपटक अस्ट्रेलियन ओपन जितिन् । लगातार चार ग्रान्डस्लाम जितेकी ओसाकाको विश्व टेनिस यात्रा क्रमशः उकालो लागिरहेको छ ।
२३ वर्षीया खेलाडीले महत्वपूर्ण उपाधि जितिरहँदा उनको आत्मविश्वास पनि बढिरहेकै छ । मैदानमा मात्रै होइन, मैदान बाहिर पनि उनको तारिफ हुनु विश्व खेलकुदमा चिनिएको पात्रमा रुपान्तरित हुँदै जानु हो । राजनीतिदेखि सामाजिकसम्मका महत्वपूर्ण विषयमा अभिव्यक्ति दिइरहने युवा खेलाडी ओसाकालाई स्थापित स्टार सेरेना विलियम्ससँग पक्कै त्यसै दाँजिएको होइन ।
त्यसो त, ओसाकालाई उनको शालिनताका लागि पनि तारिफ गरिन्छ । कोर्टमा उनले देखाउने असल व्यवहार त छदैछ । शनिबार अस्ट्रेलियन ओपनको महिला एकल तर्फको फाइनल खेलपछि उनको विपक्षी जेनिफर ब्राडीलाई प्रश्न थियो, ‘तिमीलाई म के नामले सम्बोधन गरौँ ? जेनी कि जेनिफर ?’ ओसाका सबै विपक्षीसँग यसरी शालिनपूर्वक प्रस्तुत हुन्छिन् । जसले गर्दा उनको कद क्रमशः उच्च हुँदै गइरहेको छ । कोर्ट बाहिर पनि ।
मेलबर्नमा भएको प्रतियोगिता जित्ने क्रममा सेमिफाइनलमा आफूले ‘आइडल’ मानेको सेरेनालाई हराएकी ओसाका अब सार्वजनिक हुने नयाँ वरियतामा विश्व नम्बर दुईमा उक्लने अपेक्षा गरिएको छ । महिला टेनिसको भविष्यका रूपमा हेरिएकी जापानी ओसाकालाई कतिले सेरेना जस्ती स्टारलाई प्रतिस्थापन गर्नसक्ने खेलाडीका रूपमा पनि लिन्छन् ।
ओसाका यो ठाउँसम्म सजिलै आइपुगेकी भने होइनन् । टेनिस यात्रामा उनले थुप्रै उतार चढाव भोगेकी छन् । सन् २०१९ को अस्ट्रेलियन ओपन जितेकी ओसाका गत संस्करणको तेस्रो चरणमा भने १५ वर्षीया कोको गौफसँग स्तब्ध भएकी थिइन् । अनि त्यसको केही सातापछि ओसाका फेड कपमा पनि निराश भइन् ।
‘त्यसबखत म साँच्चै निराश बनेकी थिए । लगातार असफलता भोगेपछि मैले मेरो जीवन नै सकिएको अनुभूती गरे,’ ओसाकाले एएफपीसँग भनेकी छिन्, ‘आज खेलिरहनुको कारण कि त मेरो क्षमतामा शंका गर्नेहरूलाई गलत सावित गर्नलाई हो वा मलाई यो खेल खेल्दा रमाइलो लागेर हो ।’
कोभिड-१९ ले विश्वलाई आक्रान्त बनाएका बेला ओसाकाले भने आफूलाई बलियो रूपमा प्रस्तुत गरिन् । विशेषगरी अमेरिकामा भइरहेको रंगभेदी विरोधी आन्दोलनलाई समर्थन गर्दा उनको चर्चा चुलियो । सामाजिक न्यायका विषयमा बोलिरहने ओसाका मैदान बाहिर चर्चित भइरहँदा कोर्टमा पनि शसक्त बनिरहिन् । त्यसकै नतिजा हो, शनिबारको उपाधि जितसँगै उनको अपराजित यात्रा २१ खेलसम्म पुग्नु ।
कुनैबेला लजालु युवा खेलाडी भनेर चिनिने ओसाकाले हाल सामाजिक विषयमा बोल्ने स्पष्ट वक्ताको छवि बनाएकी छिन् । मेलबर्न पार्कमै पनि उनले विवादस्पद विषयमा आफ्नो राय दिईन भने टोक्यो ओलम्पिक आयोजक कमिटीका पूर्व प्रमुखको पनि विरोध गर्न भ्याइन् । आफ्नो लोकप्रियताको आडमा महत्वपूर्ण विषयमा बोल्न बानी परेकी ओसाकाले शालिनतालाई भने बचाएकी छन् ।
विश्वकै धनी महिला खेलाडी बनेकी ओसाका सन् १९९७ मा जापानी सहर ओसाकामा जन्मेकी हुन् । उनी जन्मेको एक वर्षपछि नै उनको परिवार अमेरिका बसाई सरेको थियो । अध्ययनको सिलसिलामा जापान पुगेका हाइटीका लियानार्दो र जापानी नागरिक तामाकीकी छोरी ओसाकासँग अमेरिका र जापानको नागरिकता छ । तर उनी आफूलाई जापानी भनेरै चिनाउन मन पराउँछिन् ।
सन् २०१६ मा अस्ट्रेलियन ओपनमा डेब्यु गरेदेखि विश्व टेनिसमा आफ्नो परिचय बनाएकी ओसाकाले त्यसको दुई वर्षपछि नै युएस ओपनको फाइनलमा सेरेनालाई हराएर सनसनी मच्चाइन । त्यतिमै ओसाकाको प्रभावशाली यात्रा रोकिएन । केही महिनापछि ओसाकाले अस्ट्रेलियन ओपन पनि जितिन् । फलस्वरुप ओसाका २१ वर्षको उमेरमै विश्व नम्बर एक बनिन् । तर त्यस्तो उच्च सफलता हासिल गरे पनि ओसाकाले अझ धेरै गर्न बाँकी रहेको ठानिन् ।
‘सायद मैले आफूले आफैलाई धेरै दवाब दिए । मलाई लाग्थ्यो, पुरा विश्वलाई नै जित्नु छ,’ ओसाका भन्छिन् । त्यसबखत ओसाकाले स्वयंले आफ्नै लागि असजिलोे अवस्था सिर्जना गरेको भए पनि उनी फेरि विश्व महिला टेनिसको नायक बनेकी छन् ।
‘पहिले म एउटा खेल हार्दा आफू किन टेनिसमा लागिरहेको भन्ने प्रश्न गर्थे । तर अहिले म फरक छु । हारले मलाई निराश बनाउन छाडेको छ,’ ओसाकाले परिपक्वता देखाइन । (अन्तराष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा)

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया