भारततर्फ तस्करी भएको आशंका

काठमाडौं: भारतीय वित्तमन्त्री निर्मला सीतारमणले गत फेब्रुअरी १ (१९ माघ) मा बजेटमार्फत सुनचाँदीको भन्सार महसुल मा ५ प्रतिशतले कटौतीको घोषणा गरिन् । यसरी भन्सार महशुल भारी कटौती गर्नुमा ‘नेपालको सस्तो भन्सार दरको दुरुपयोग गर्दै भारततर्फ सुन तस्करी भएको आशंका’ रहेको भारतीय सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरे ।
विश्व बजारमा चीनपछि भारत सबैभन्दा सुनको सबैभन्दा ठूलो खरिदकर्ता हो । भारतले तस्करी नियन्त्रणका लागि भन्दै १२.५ प्रतिशत आयातमा लाग्दै आएको भन्सार महसुल घटाएर ७.५ मा झारेको छ । भारतले छिमेकी मुलुकबाट सुनमा लाग्ने भन्सार दरको असमानताका कारण तस्करी भएको आशंका गरेको थियो ।
के तेस्रो मुलुकबाट नेपालमा आयातीत सुन भारततर्फ तस्करी भएको हो ?
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा दुई हजार १ सय किलो सुन आयात भएको छ । झन्डै १४ अर्ब ९५ करोड २७ लाख २६ हजार रुपैयाँ बराबर सुन भित्रिएको छ । यसै अवधिमा ६९ अर्ब ९१ करोड रुपैयाँ बराबर कुल वस्तु निर्यात भएको छ । अर्थात, नेपालले निर्यात आयको २१ प्रतिशत सुन किन्नमै खर्चिएको छ ।
गत आर्थिक वर्षको तुलनामा ४५० किलो बढी सुन भित्रिएको छ । गत आवको पहिलो सात महिनामा एक हजार ६ सय ५० किलो मात्रै सुन भित्रिएको थियो । यस वर्ष विवाहको लगन कम थिए भने कोभिड–१९ महामारीका कारण सुनका गहनाको बिक्री अघिल्ला वर्षहरूको तुलनामा एक चौथाई मात्र रहेको व्यवसायीहरूले बताउँदै आएका थिए ।
हामीकहाँ वाणिज्य बैंकहरूलाई मात्र सुन आयात गर्न पाउने व्यवस्था रहेको छ । तर व्यवसायीबाट अत्याधिक माग आएपछि बैंकसँग मौज्दात रहेको सुन रित्तिसकेको छ । नेपाल बैंकर्स एशोसिएसनका अनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूसँग ९ किलो मात्रै सुन मौज्दात छ । खरिदको चाप बढेकाले मौज्दात रित्तिदैं गएको छ भने बैंकहरूले आफ्नो कोटा अनुसार सुन मगाउँदै आएका छन् ।
विवाहको सिजनमा अत्यधिक माग हुने गरेको नेपाली सुन बजारको लागि यो वर्ष खासै अनुकुल भएन । यो वर्ष बैशाख, जेठ, असार र मंसिर गरी जम्मा १८ दिन मात्रै बिहेको लगन थियो । सीमित लगनका बाबजूद पनि सुनको माग बढ्नु स्वभाविक होइन ।
तुलनात्मक रुपमा सुनको भाउमा गिरावट आउँदा दसैंपछि सुनको माग बढेको सुनचाँदी व्यवसायी तर्क गर्छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य भन्छन्, ‘साउनमा तोलामा एक लाख रुपैयाँ नाघेको थियो । त्यसपछि सुनको भाउमा तुलनात्मक गिरावट आएको छ । अहिले तोलामा ९० हजार रुपैयाँसम्मको अनुपातमा सुनको भाउ पुगेको छ । बिहेको लगन नभए पनि बैशाखमा बिहेको सिजनलाई अहिलेदेखि जोहो गरिरहेको हुनसक्ने अनुमान छ ।’
सुनको माग बढ्नुलाई राष्ट्र बैंकका अधिकारीहरू भने स्वाभाविक मान्छन् । विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रका अनुसार विगतमा २०–२५ किलोका दरले आयात गर्ने अनुमति दिइरहेकोमा दैनिक १० किलो मात्रै ल्याउ नपाउने प्रावधानले सुनको मागमा अधिक चाप परेको हो ।
बजारमा सुनको माग बढ्नुको ठ्याक्कै कारणबारे अध्ययन नगरेको मिश्र बताउँछन् । उनी भन्छन्, खासगरि विवाहको लगनमा सुनको खपत बढी हुने गरेको छ । तर, यसपाली विवाहको लगन धेरै नभए पनि व्रतबन्ध, पास्नी लगायत विभिन्न शुभकार्यमा समेत सुनको खपत हुने गरेको छ ।’
गत वर्ष १६ चैतमा कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि बन्दाबन्दी घोषणालगत्तै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विलासीताका वस्तुहरूसँगै सुनको आयातमा समेत कडाइ गरे । सुन आयातमा पनि उनले निगरानी बढाए । विदेशी मुद्राको सञ्चिति दुरुपयोग हुन नदिन सरकारले यस्तो निर्णय गरेको थियो ।
गत वर्ष १८ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले विदेशीबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहनामा भन्सार महसुल बढाएको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सुनमा प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको सुनको भन्सार महसुल बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्याएको थियो । महसुलबढेसँगै सुन महँगिने नै भयो । तर, अन्तर्राष्ट्रिय सुन बजारमा आएको उछालसँगै साउन २३ मा नेपाली बजारमा सुनको भाउ १ लाख ३ सय ४० रुपैयाँ पुग्यो । सुनको भाउ सर्वाधिक महँगो मुल्यमा पुग्दा नि यसपाली सुनको आयात बढेको देखिन्छ ।
यसै वर्ष सुनको गहना निर्यात
विगतका वर्षहरूमा सुनका गरगहनालाई हस्तकला सामग्री अन्तर्गत व्यवहार गरिन्थ्यो । जसकारण सुनको गहनामा निर्यातको छुट्टै आँकडा पाउन सक्ने अवस्था थिएन ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सुनका गहनाका लागि छुट्टै ‘एचएस’ (हार्मोनाइज्ड सिस्टम) कोडको व्यवस्था गरेको छ । सात महिनामा १५ करोड ६७ लाख ६८ हजार रुपैयाँ सुनका गहना निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । मुख्य रुपमा अमेरिका, अस्ट्रेलिया र हङकङमा सुन निर्यात भएको छ ।
अस्ट्रेलियामा दुई करोड १ लाख ६३ हजार रुपैयाँ बराबरको १ किलो ३८६ ग्राम सुनका गहना निर्यात भएका छन् । हङकहङतर्फ ४ करोड १८ लाख ५४ हजार रुपैयाँको ३ किलो ३४८ ग्राम सुनका गहना निर्यात भएका छन् भने अमेरिकातर्फ ९ करोड ४७ लाख ५० हजार रुपैयाँको ७ किलो ७५३ ग्राम सुनका गहना निकासी भएको तथ्यांकले देखाएको छ ।
गहना निकासीको तथ्यांक हेर्दा सुनको खपत गहना निकासीमा समेत बढ्दै गरेको बुझ्न सकिन्छ । तर, गहना निर्यातकै कारण सुनको आयात बढेको स्पष्ट आधार छैनन् ।
‘स्थानीय बजारमा पनि तस्करीको सुन बिक्री भएको आशंका’
सुन बजारको माग धान्न सरकारले निर्धारण गरेको कोटा पर्याप्त नभएको सुनचाँदी व्यवसायी बताउँछन् । अनौपचारिक (तस्करी) माध्यमबाट भित्रिने सुन स्थानीय बजारमा बिक्री हुने गरेको सुनचाँदी व्यवसायी महासंघका पूर्वाध्यक्ष शाक्य आशंका गर्छन् ।
उनका अनुसार नेपाली सुन बजारको औषत माग २० किलो छ । ‘हामीले सरकारसँग सुनको कोटा बढाउन माग गरिरहेका छौं । तर, सरकारले सुनेको छैन ।,’ उनी भन्छन्, ‘खरिदको चाप बढ्दा औपचारिक माध्यमबाट आएको सुनले मात्र बजार धान्ने अवस्था छैन ।’

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

सुन प्रतितोला १ लाख ९१ हजार

आजदेखि ट्रेड टावरको आइपीओ निष्कासन

स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

पर्यटकको रोजाइमा विचित्र गुफा

प्रतिक्रिया