मंगलबार २६ चैत, २०८१
Tuesday, April 08, 2025

सम्भावित फुटलाई रोक्न नेताहरूको दौडधुप

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विवाद उत्कर्षमा पुगेको छ । कर्णाली प्रदेशमा आफ्नै पार्टीका सांसदले मुख्यमन्त्रीविरुध्द अविश्‍वास प्रस्ताव प्रकरणपछि उत्पन्‍न विवाद फुटको संघारमा पुर्‍याएको छ । पार्टी विवाद साम्य पार्न दोस्रो तहका नेताहरूको दौडधूप र भेटघाट बाक्लिएको छ ।

पार्टीको कर्णाली प्रदेशको संसदीय दलमा देखिएको विवादपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद् पुनर्गठन गरको इतर समूहको आरोप छ । प्रधानमन्त्रीको त्यो कदमले दुरी झन बढायो । पार्टीमा आन्तरिक विवाद चुलिएका बेला भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले काठमाडौं आएर प्रधानमन्त्री ओलीलाई भेटेपछि अविश्‍वास झन चुलियो ।

अविश्‍वास चुलिएपछि ११ दिनसम्म अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच संवाद नै हुन सकेन । ओलीले आफू निकटका नेताहरूलाई निरन्तर खुमलटार पठाएर संवादहिनता तोडियो । तर विवाद भने अर्केतिर मोडियो । 
 
आइतबार पार्टी प्रवक्ता नारायाणकाजी श्रेष्ठले नै ओलीले सल्लाहमै पार्टी फुटाउने प्रस्ताव गरेको खुलासा गरे । कार्यकारी अध्यक्ष दाहाललाई उध्रित गर्दै श्रेष्ठले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने प्रस्ताव शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गरेको खुलासा गरेका थिए । विरलै मात्र मुख खोल्ने पार्टी महासचिव विष्णु पौडेलले समेत पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको भनाइ सामाजिक सन्जालमा पोष्ट गरेका थिए ।

दुवै पक्षबाट यस्तो बयान बाहिर आएपछि पार्टी फुटको सँघारमा पुगेको आँकलन भइरहेको छ । यसै सन्दर्भमा अध्यक्ष दाहालले आइतबार नै वरिष्ठ नेता, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतका नेताहरूसँग ब्रिफिङ गरेका थिए । दाहालले आफूनिकटका नेतासँग पछिल्लो विवादका विषयमा निरन्तर छलफल गरिरहेका छन् । आइतबार नै दाहालले आफूनिकटका स्थायी समिति सदस्यलाई काठमाडौं बोलाएको एक सदस्यले बताएका थिए । उनीहरू आज बिहानै काठमाडौं आइपुगेका छन् ।
  
यता ओलीले पनि आफूनिकटका नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन् । ओलीको सचिवालय र आफ्ना विश्‍वासपात्रसँग ओली निरन्तर छलफलमा छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहानै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र केही आफूनिकटका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए । त्यसपछि पनि ओली आफू निकटकासँग छलफलमै व्यस्त छन् ।
 
विवाद समाधान हुनेमा विश्‍वस्त
पार्टीमा देखिएको विवाद समाधान हुनेमा दोस्रो तहका नेताहरू भने विश्‍वस्त देखिएका छन् । पार्टी फुट्ने स्थिति पैदा भएपछि दोस्रो तहका सक्रियता बढाएका हुन् । नेतृत्व तहमा सिध्दान्त र विधि-विधानको विवाद नभएको र भागबण्डा मिलाएमा खण्डमा विवाद साम्य हुने धारणा दोस्रो तहका नेताहरूको छ । स्थायी समितिका एक सदस्यले भने, ‘यो सिध्दान्त वा विधि विधानको विवाद होइन ।’ उनले भने, ‘शक्तिको बाँडफाँड र भागवण्डा मुख्य विषय हो । यसअघि पनि यस्ता समस्या देखिएकै हुन् । पार्टी फुट्छ भन्ने हल्ला चलेकै हो । यो विषय पनि समाधान भइहाल्छ ।’

केन्द्रीय सदस्य विष्णु रिजालको पार्टी नफुट्नेमा ढुक्क छन् । ‘नेकपामा विवाद छ । तर यही  आधारमा पार्टी फुट्दैन ।’ उनी भन्छन्, ‘यसभन्दा ठूला संकट र क्षति भोगेर एकतामा आइपुगेको नेताहरूले जीवनको उत्तराध्दमा राजमार्ग छाडेर फेरि भीरको बाटो रोज्दैनन् ।’ उनको बुझाइमा पार्टी विभाजनका लागि न परिस्थिति छ न त नेताहरूको मनस्थिति छ ।

पछिल्लो विवादका विषयमा पूर्वमाओवादी पक्षका नेताहरू भने मौन छन् । पूर्वएमाले पक्ष र नेपाल पक्षका नेताहरूले समेत पछिल्लो विवादका विषयमा प्रतिक्रिया दिइरहेको बेला पूर्वमाओवादीको दोस्रो तहका नेता भने मौन छन् । 

टेलिफोन सम्पर्कमा आएका पूर्व माओवादीको कोटाबाट स्थायी समिति सदस्य बनेका एक नेताले पनि यस विषयमा प्रतिक्रया दिन मानेनन् । नाम उल्लेख शर्तमा उनले भने, ‘नेतृत्वको विवाद हो । यस विषयमा हामीलाई केही जानकारी छैन । बोलेर पनि के गर्नु ? के बोल्नु ?’ उनले पछिल्लो विवादका विषयमा सञ्‍चार माध्यममा आएका विषयबाहेक आफूलाई थप कुनै जानकारी नभएको दाबी गरे । 

एकता जोगाउन दोस्रो तह सक्रिय
नेताहरूबीच देखिएको विवाद साम्य पार्न दोस्रो तहका नेताहरू सक्रिय बनेका छन् । फुटबाट जोगाउन दोस्रो तहका नेताहरू सक्रिय भएका हुन् । पार्टी एकतालाई जसरी पनि जोगाउनुपर्नेमा दोस्रो तहका नेताहरू एकमत देखिएका छन् । 

एकता कायम गर्नुपर्नेमा सचिवालयका दोस्रो तहका नेतादेखि स्थायी समिति र केन्द्रीय समितिका नेताहरू एक मत छ । सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् । पार्टीको बैठक बसेर सबै विषयमा छलफल गर्न समेत उनले माग गरेका छन् ।

‘फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेशविरुध्द हुन्छ । तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं’ श्रेष्ठले भने । देशी विदेशी प्रतिक्रियावादीले पार्टी फुटाउन खोजेको उनको आरोप छ । अध्यक्षद्वयबीच पुनः संवाद सुरु हुनुपर्ने श्रेष्ठको भनाइ छ ।

त्यस्तै सचिवालयकै सदस्य ईश्‍वर पोखरेलले पनि पार्टी एकतालाई बचाउनुपर्ने धारणा राखेका छन् । एकताका बेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रको आवध्दताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको उनको भनाइ छ ।
 
यता पूर्वमाओवादीबाट स्थायी समिति सदस्य बनेका देवेन्द्र पौडेलले एकता बचाउन विभिन्न छलफल र संवादलाई निरन्तरता दिन लागिपरेको बताए । महासचिव पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदलको सुझावका आधारमाअघि बढनुपर्ने मत राख्दै वार्ता र संवाद नै समाधानको बाटो रहेको औल्याए । ‘पार्टी विधि, पद्दति र नितीका आधारमा चल्नुपर्छ भन्‍नेमा हाम्रो जोड छ । बिहानैदेखि भेटघाट गरिरहेका छौ । वार्ता र सम्वादलाई निरन्तरता दिनुपर्छ भन्‍नेमा लागिपरेका छौं ।’ उनले भने ।