आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

भिएनाको ६ फरक स्थानमा ‘आतङ्कवादी’ हमला

अस्ट्रियाको राजधानी भिएनास्थित प्रहरीका अनुसार एउटा आतङ्कवादी हमलामा एक जना मारिएको पुष्टि भएको छ र अन्य १५ जना घाइते भएका छन् । राइफलसहित आएका व्यक्तिहरूले छवटा फरक स्थानमा गोली चलाउन थालेको प्रहरीले जनाएको छ ।

प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको अनलाइनमा पोस्ट गरिएको भिडिओमा देखिन्छ । घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा "घृणित आतङ्कवादी हमला" भनेका छन् ।

एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एउटा स्थानीय पत्रिकाका अनुसार घाइतेमध्ये यहुदीहरूको प्रार्थनास्थल सिनागगको सुरक्षा गरिरहेका एक सुरक्षाकर्मी पनि रहेका छन् । सामाजिक सञ्जालमा राखिएको भिडिओ फूटेजमा गोली चलिरहँदा मानिसहरू भागिरहेको देखिन्छ ।

स्थानीय बासिन्दालाई सार्वजनिक ठाउँमा ननिस्किन र यातायात प्रयोग नगर्न भनिएको छ । प्रहरीले एउटा प्रतिआतङ्कवादी कारबाही शुरू गरेको विवरणमा जनाइएको छ । "पटाका पड्केको जस्तै सुनिएको थियो, पछि गोली चलेको थाहा भयो," एक प्रत्यक्षदर्शीको भनाइलाई राष्ट्रिय प्रसारक ओआरएफले उद्धृत गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

मध्य भिएनाको ठूलो क्षेत्रलाई सुरक्षाकर्मीले घेरा हालेका छन् । चेक गणतन्त्रका प्रहरीले अस्ट्रियासँगको सिमानामा सुरक्षा जाँच शुरू गरेको जनाएका छन् ।

कसले के भने ?
युरोपेली नेताहरूले भिएना हमलाबारे सुनेर स्तब्ध भएको बताउँदै आक्रमणको भर्त्सना गरेका छन् । युरोपेली परिषद्‌का अध्यक्ष चार्ल्स मिशेलले जीवन र मानवीय मान्यताको उल्लङ्घन गर्ने एउटा कायरतापूर्ण हमला भएको बताएका छन् ।

फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले अस्ट्रियाका मानिसहरूको पीडामा आफ्नो मुलुक साथमा रहेको प्रतिक्रिया दिएका छन् । युरोपले हार नमान्ने आफूहरूका साझा शत्रुहरूले बुझ्नुपर्ने उनले टिप्पणी गरे ।

डच प्रधानमन्त्री मार्क रुटले आक्रमणलाई एउटा जघन्य कार्य भनेका छन् । जर्मन र इटालियन सरकारले युरोपमा देखिएको घृणाको विरोधमा अभिव्यक्ति दिएका छन् । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले घटनाबारे सुनेर आफू निकै स्तब्ध भएको बताएका छन् । (बीबीसी)