शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

बालुवाटारको छायाँ विद्युत् प्राधिकरणमा

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसित अलिकति पनि नैतिकता थियो भने उनले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरेकै दिन राजीनामा दिन्थे । लोकतन्त्र र संविधानवादको धज्जी उडाएका, जनमतको अपमान गरेका ओलीबाट नैतिकताको अपेक्षा गरिनु पनि आफैँमा भ्रम मात्रै हो । विधिको शासन र संविधानको पालना गर्ने नियत भएको भए ओलीले आत्मपरक अध्यादेश ल्याउन्‍नथे, प्रतिनिधि सभा विघटन गर्ने थिएनन् ।

बीपी कोइरालापछि पाएको ऐतिहासिक अवसरलाई जनताको आर्थिक सामाजिक रूपान्तरणमा उपयोग गर्ने थिए । यी यावत् कुराबाट ओली आफ्नै स्वार्थ, अहम् र भ्रष्टचारीहरूको संगत, भ्रष्टहरूको पालनपोषणका कारण वञ्चित भए । अब सरकार विघटनको संघारमा पुगिसकेको छ, तैपनि ओली रातारात ठूला-ठूला निर्णय गर्न विभिन्‍न मन्त्रालय र निकायहरूलाई निर्देशन दिन छाडेका छैनन् । नेपालको एउटा व्यापारिक घरानिया भनिएको बीपीसीले दलाली गरेको मनाङ-मर्स्याङ्‌दी (१४० मेगावाट) को पीपीए रातारात गर्न ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई सक्रिय पारियो । विद्युत् प्राधिकरण सञ्चालक समितिको पहिलो बैठकले उक्त पीपीए नगरेपछि लगत्तै अर्को बैठक राखियो । 

विद्युत् प्राधिकरणले बिजुली खेर जाने भन्दै निजी क्षेत्रको, विशेष गरी स्वदेशी, बिजुली खरिद गर्ने सम्झौता गर्न छाडिसकेको छ । तर मन्त्रिपरिषद्बाट निर्णय गराई पीपीए गर्ने परिपाटी पनि पहिलोपटक ऊर्जा मन्त्री हुँदै यिनै टोपबहादुरले बसाउने प्रयास गरेका थिए । तिला १ र तिला २ नामका दुई ठूला आयोजनाको डलर पीपीए गराउन रायमाझीले मन्त्रिपरिषद्सम्म प्रस्ताव लगेका थिए । पछि विरोध भएर पारित भएन । जनार्दन शर्मा ऊर्जा मन्त्री भएपछि उनले पनि डलर पीपीए गराइछाडे ।

प्राधिकरणलगायत अन्य निकाय वा मन्त्रालयका कर्मचारीले अब बालुवाटारको गलत निर्देशन अवज्ञा गर्नुपर्छ । किनभने दबाब दिएर जस्तोसुकै काम गराउन उद्यत बालुवाटारको राजनीतिक र नैतिक हैसियत समाप्त भइसकेको छ ।

यी उदाहरण मात्र हुन् । विदेशी लगानीका ठूला जलविद्युत् आयोजनामा रकम र कमिसनको ठूलो चलखेल हुँदै आएको छ विगतदेखि । खिम्ती र भोटेकोसीबाट खान पल्केका एमाले, कांग्रेस र राप्रपाहरूको सिको अहिले माओवादी र नेकपादेखि भ्याएसम्मका नेता र मन्त्रीले गर्दै आएका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई ल्याएपछि बालुवाटारले उनलाई त्यहाँको रबर स्ट्याम्प बनाएको छ । अझ प्राधिकरणमा भएका कतिपय निर्णय त कार्यकारी निर्देशक शाक्यलाई समेत थाहा हुँदैन । कतिपय अवस्थामा उनलाई बालुवाटारले बाइपाससमेत गर्दै आएको छ । प्राधिकरणमा बालुवाटारको छायाँले काम गर्दै आएको अवस्था छ । यसको उदाहरणका रूपमा प्राधिकरणको सबैभन्दा ठूलो निकाय आयोजना कार्यान्वयन निर्देशनालयको प्रमुख परिवर्तन हो ।

यसको प्रमुखमा ठूला आयोजना निर्माणको अनुभव नै नभएका रामजी भण्डारीलाई बालुवाटारले बनाएको छ । जब कि यो निर्देशनालयमा ठूला ठूला आयोजना सफलतापूर्वक सम्पन्‍न गरेर अनुभव हासिल गरेका मनोज सिलवाललाई मिल्काइएको छ । एक खर्बभन्दा बढीका आयोजना रहेको यस निर्देशनालयमा बालुवाटारको आँखा पर्नु भनेको अर्को ओम्‍नी र यति काण्ड रचाउनु हो । अर्थात् ओली सरकार जाँदाजाँदै पनि भ्रष्टाचार गर्न छाड्दैन भन्‍ने यो ज्वलन्त उदाहरण हो ।

स्वयं ऊर्जा मन्त्री रायमाझीले प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वाेच्चको फैसला आउनुअघि नै भोलिको अवस्था के हो के हो ? छिट्टै काम सक्नुपर्‍यो भन्दै प्राधिकरणका पदाधिकारीहरूलाई निर्देशन दिएर हतारो देखाएका थिए । यी त प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । अन्य मन्त्रालय र निकायमा बालुवाटारको छायाँ बाक्लैसँग घुमिरहेको सहजै बुझ्‍न सकिन्‍छ । 

प्राधिकरणलगायत अन्य निकाय वा मन्त्रालयका कर्मचारीले अब बालुवाटारको निर्देशन अवज्ञा गर्नुपर्छ । किनभने दबाब दिएर जस्तोसुकै काम गराउन उद्यत बालुवाटारको राजनीतिक र नैतिक हैसियत समाप्त भइसकेको छ । त्यसमाथि असल नियतले गरेका र गर्नैपर्ने काम नगर्ने, कहाँबाट कमिसन आउँछ भनी दौडादौड गर्ने अवस्था सहज बुझ्‍न सकिन्‍छ । प्रधानमन्त्री ओलीले नेपाल-भारत विद्युत् व्यापारसम्बन्धी एउटा फाइल सात महिनादेखि रोकेर राखेका छन् । यस्ता राष्ट्रिय तथा दुईपक्षीय मुद्दाका महत्वपूर्ण निर्णय नगरेर पीपीए गर्न उद्यत हुनु आफैँमा यो देशको नियति र विडम्बनाबाहेक अरू के हुन सक्छ र ?