उम्मेद्वारी दर्ता गर्दै प्रधानले भने ‘शेखर गोल्छालाई सहयोग गर्न उम्मेद्वार बनेको हुँ’

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको मंसिर दोस्रो साता हुने चुनावी साधरणसभाका लागि वर्तमान उपाध्यक्ष किशोर श्रेष्ठले प्यानलसहित उम्मेद्वारी दर्ता गराएका छन् । सोमबार ललितपुरको भिभान्ता होटलमा उम्मेद्वारी घोषणा र महासंघका वरिष्ठ उपाध्यक्ष एवं भावी अध्यक्ष शेखर गोल्छाको शुभकामना लिएर प्रधानको प्यानलले उम्मेद्वारी घोषणा गरेको हो । प्रधान प्यानलबाट जिल्ला, नगर उपाध्यक्षमा दीनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति उम्मेद्वार छन् ।
महासंघको ५४औं साधरणसभा मंसिर ११ देखि १३ सम्मका लागि तय भएको छ । महासंघको विधान अनुसार, वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण वरिष्ठ उपाध्यक्षका उम्मेद्वारहरु प्यानलसहित प्रतिस्पर्धामा छन् । साधरणसभापछि महासंघको अध्यक्ष बन्न लागेका वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले खुलेरै प्रधानको प्यानललाई समर्थन गरेका छन् । उम्मेद्वारी दर्तापछि वरिष्ठ उपाध्यक्षका उम्मेद्वार श्रेष्ठले शेखर गोल्छाको नेतृत्वलाई सहयोग गर्न आफूले उम्मेद्वारी दिएको भन्दै सघाउन उद्यमी, व्यवसायीहरुलाई आह्वान गरे । विराटनगरका व्यवसायी प्रधान लामो समयदेखि महासंघको राजनीतिमा सरिक छन् ।
अघिल्लो निर्वाचनमा भने वरिष्ठ उपाध्यक्षको दौडमा प्रधान शेखर गोल्छासँगै प्रतिस्पर्धामा थिए । गत स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट म्याग्दी जिल्लाको बेनी नगरपालिकाको मेयरको उम्मेद्वार बनेपछि जिल्ला, नगर उपाध्यक्ष रहेका प्रमोद श्रेष्ठको पद महासंघको कार्यकारिणी समितिले खारेज गरेको थियो । त्यसपछि प्रधान महासंघको जिल्ला नगर उपाध्यक्ष बने । वरिष्ठ उपाध्यक्षमा चुनाव हारे पनि उनी अहिले जिल्ला, नगरको उपाध्यक्ष भएर महासंघमा आएका हुन् । यो भन्दा अघिल्लो कार्यकाल पनि उनी महासंघको उपाध्यक्ष थिए । वरिष्ठ उपाध्यक्ष निर्वाचित भएको खण्डमा महासंघको नेतृत्व लिदाँ उनले स्वतः अर्को दुई कार्यकाल महासंघमा रहनुपर्ने हुन्छ ।
‘मैंले आफ्नो जीवनका महत्वपूर्ण २८ वर्ष महत्वपूर्णरुपमा महासंघ खटिरहेको भन्दै अब मन्दिर मानेर काम गर्नेछु,' प्रधानले भने । खुलेरै प्रधान प्यानललाई सहयोग गरिरहेका महासंघका भावी अध्यक्ष गोल्छाले उक्त टोलीलाई शुभकामना दिँदै महासंघलाई राजनीतिबाट मुक्त गर्नुपर्ने आवश्यकता आएकोले आफूले प्रधान प्यानललाई सहयोग गरेको उल्लेख गरे । उम्मेदवारी दर्ता गराउने क्रममा वस्तुगत उपाध्यक्षका उम्मेदवार श्रेष्ठले आफ्नो समुहले सबै उद्योगी व्यवसायीलाई एकढिक्का भएर अगाडि बढ्ने बताउँदै कोरोना महामारीपछि अर्थतन्त्र र उद्योग व्यवसायको क्षेत्रमा देखिएको समस्या समाधान गर्न आफ्नोतर्फबाट सक्रिय भूमिका निभाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
गत वर्ष चैत महिनामा हुनुपर्ने साधरणसभा कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण सारिएको थियो । त्यसपछि साउनको २६ र २७ गते ललितपुरको हेरिटेज गार्डेनमा साधरणसभा गर्ने तय भएको थियो । महासंघको विधान अनुसार, कुनै विशेष परिस्थितिले साधरणसभा रोकिन गएमा तीन महिनाभित्र अर्को मिति तोकेर साधरणसभा गर्नुपर्छ । महामारी फैलिएपछि विभिन्न जिल्लामा स्थानीय प्रशासनको निशेधाज्ञा लगायतका कारण साधरणसभा पुनः रोकिएपछि महासंघको कार्यकारिणी समितिले बाधा अड्चन फुकाउको अधिकार प्रयोग गर्दै साधरणसभा सारेको हो ।
देशभर सञ्जाल रहेका महासंघको साधरणसभामा देशभरका उद्यमी व्यवसायी, वस्तुगत समूह, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तथा कर्पोरेट संस्थाका प्रतिनिधिहरुले मतदान गर्छन् । महासंघको साधरणसभा बारम्बार स्थगित भएपछि भर्चुअल माध्यममार्फत् साधरणसभा सम्पन्न गर्नुपर्ने आवाज समेत उठेको थियो । महासंघले मंसीर ११ मा साधरणसभाको उद्घाटन भर्चुअल माध्यमबाट र कोभिड-१९ को जोखिमलाई ध्यानमा राख्दै महासंघको सचिवालय टेकू, प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की ब्यांकेट माइतीघरमा मतदान कार्यक्रम तय गरेको छ ।
महासंघको निर्वाचनमा जिल्ला उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत, वस्तुगतको २० प्रतिशत र द्धिराष्ट्रिय उद्योग वाणिज्य संघसहित एसोसिएटको ३० प्रतिशत हुन्छ । प्रधानसँग वरिष्ठ उपाध्यक्षमा महासंघका अर्का उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिस्पर्धा गर्दैछन् । ढकालसहित उनको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई प्रतिस्पर्धामा छन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियम दर

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

ठूलोखोला जलविद्युत् आयोजनाको सुरु भयो परीक्षण उत्पादन

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

कम गुणस्तरको पाँच हजार १७० किलोग्राम दाल आयातमा रोक

प्रादेशिक कार्यालयद्वारा २२ करोड ८८ लाखको किताब बिक्री

प्रतिक्रिया