नेपालको बिजुलीलाई भारतीय बजार खुला, चिनियाँ लगानीको बिजुलीमा प्रतिबन्ध

काठमाडौं : भारत सरकारले नेपालको बिजुली उसको बजारसम्म पुर्याउने बाटो खुला गरेको छ भने चिनियाँ लगानीबाट उत्पादित बिजुलीलाई प्रतिबन्ध लगाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आज शुक्रबार स्वीकृत गरेको सीमापार अन्तर्देशीय विद्युत् आयात-निर्यात कार्यविधिमा यस्तो बन्दोबस्ती गरेको हो ।
भारतसित जमिनको सीमा जोडिएको र विद्युत् व्यापारसम्बन्धी सम्झौता भएको मुलुकको बिजुली खरिद गर्न सकिने गरी आज स्वीकृत भएको भारतको केन्द्रीय विद्युत् प्राधिकरणको आजको वेभसाइटमा उल्लेख छ । नेपाल र भारतबीच सन् २०१४ मा विद्युत् व्यापार सम्झौता भइसकेको छ । भारतले नेपालसहित भुटान र बंगलादेशसँग पनि यस्तो सम्झौता गरेको छ भने चीनसँग विद्युत्सम्बन्धी द्विपक्षीय सम्झौता गरेको छैन । कार्यविधिमा चीनको नाम उल्लेख नगरी विद्युत् सम्झौता नभएका मुलुकको नियन्त्रण र लगानीबाट उत्पादित बिजुलीलाई प्रतिबन्ध लगाएको हो ।
नेपालले चिनियाँ लगानीमा झन्डै आठ सय मेगवाटका विभिन्न जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता (पीपीए) गर्न लागेका बेला भारत सरकारले यस्तो कार्यविधि स्वीकृत गरेको छ । नेपाल विद्युत् प्राधिकरणले चिनियाँ लगानीको १३५ मेगावाट बिजुलीको पीपीए गर्नै लागेको छ । यसका लागि प्राधिकरणले आगामी सोमबार सञ्चालक समितिको बैठक राख्ने भएको छ ।
प्राधिकरण र प्रवद्र्धकबीच हुने ‘कनेक्सन एग्रिमेन्ट’ मा खपत हुन नसकी बढी भएको बिजुली ढल्केबर-मुजफ्फपुर ४०० केभी र बुटबल-गोरखपुर ४०० केभी प्रासरण लाइनमार्फत भारतीय बजारमा निकासी गरिनेछ भनी उल्लेख गर्ने गरिन्छ । यसअनुसार चिनियाँ लगानीका बिजुलीले भारतीय बजारमा प्रवेश पाउने छैनन् ।
भारतले सन् २०१६ मा जारी गरेको सीमापार विद्युत् व्यापार निर्देशिकामा पनि तेस्रो मुलुकले लगानी गरेको बिजुलीलाई बर्जित गरेको थियो । साथै भारतीय कम्पनीका ५१ प्रतिशत नियन्त्रण भएका कम्पनीले उत्पादन गरेका बिजुलीले मात्र उसको बजारमा प्रवेश पाउने व्यवस्था गरेको थियो ।
उक्त प्रावधानको नेपालले विरोध गर्दै त्यसलाई सच्याउन पटक-पटक आग्रह गरेको थियो । नेपालको आग्रहअनुसार भारतले सन् २०१८ को डिसेम्बरमा उक्त प्रावधानलाई हटाएको थियो । तर आज स्वीकृत भएको कार्यविधिमा उही पुरानो प्रावान ‘आवेदकको योग्यता’ अन्तर्गत राखेर अन्य मुलुककले लगानी गरेका बिजुलीलाई बर्जित गरेको हो । यसको मार चिनियाँ लगानीलाई पर्नेछ ।
नेपालले भारतको एनभीभीएनसँग सन् २०१९ को अप्रिलमा पावर एक्सचेञ्जसम्बन्धी सम्झौता गरेको थियो । तर भारतले उक्त कार्यविधि तयार नगरेको भन्दै आएकाले नेपालको बिजुली द्विपक्षीय तवरमा बेच्ने सम्भावना कम हुँदै गइरहेको थियो । नेपाल विद्युत् प्राधिकरणले एनभीभीएनमार्फत भारतको दुईवटा बजार इण्डियन इनर्जी एक्सजेञ्ज र पावर एक्सचेञ्ज इण्डिया लिमिटेडको सदस्यता लिइसकेको छ । अब कार्यविधि स्वीकृत भएपछि नेपालले जगेडा भएको बिजुली भारतीय बजारमा बेच्न पाउने भएको छ ।
यो सम्झौता अनुसार नेपालले भारतको एक्जेञ्ज बजारमा ‘डे अहेड मार्केट प्रणाली’ (बेच्नु एक दिनअघि) अख्तर्गत विद्युत् खरिद वा बिक्री गर्न सक्छ । यो प्रणालीमा कम्प्युटर सफ्टवेयर मार्फत विद्युत् खरिद बिक्रीको रेट निर्धारण हुने भएकाले कसेको पनि हस्तक्षेप रहँदैन । यो बजार भोलिपल्टका लागि अघिल्लो दिनको आउने राति १२ बजेटबाट सुरु हुन्छ, जसको लागि बिहान १० बजे बोलपत्र बुझाउनुपर्ने हुन्छ ।
बोलपत्रमा आफूले किनबेच गर्न चाहेको परिणाम, मूल्य, दररेट र बिक्री गर्न चाहेको समय उल्लेख गर्नुपर्छ । यी शब्दहरुलाई कार्यविधिले ‘बाउन्ड्री कन्डिसन’ (सीमा शर्त) भनेको छ । यो बजारमा नेपालले भारतीय विद्युत् व्यापार कम्पनीमार्फत भारतको ‘डेजिनेटेड अथोरिटी’ (तोकिएको प्राधिकार) का रुपमा रहेको केन्द्रीय विद्युत् प्राधिकरणको स्वीकृतिपश्चात् भाग लिन सक्नेछ ।
यो बजारको अभावमा नेपालले मुख्यतया राति ‘अफ पिक आवर’ (खपत कम भएका बेला) को बिजुली बिक्री गर्न नसकी खेर फाल्दै आएको थियो । गत वर्षयााममा मात्र रातको समय यो बजार उपलब्ध भएको भए करिब २०० देखि ३०० मेगावाट बिजुली बिक्री गरी आय आर्जन गर्न्े अवसर विद्युत् प्राधिकरणलाई प्राप्त हुन्थ्यो ।
नेपाल सरकारको बारम्बार अनुरोध पश्चात् पनि अन्तरदेशीय विद्युत् व्यापार कार्यविधि भारत सरकारले स्वीकृत नगरी दिनाले सम्भव हुन सकेको थिएन ।
भारतीय एक्सचेञ्ज बजार नेपालका लागि उपलब्ध गराइदिन सचिवस्तरीय दुई देशीय संयन्त्र संयुक्त सञ्चालन समिति (ज्वाइन्ट स्टेयरिङ कमिटी) ले प्रगाढ रुपमा हरेक बैठकमा मुख्य एजेन्डाको रुपमा उठान गर्दै आएको थियो । गत माघ २ गते नेपाल-भारत परराष्ट्र मन्त्री स्तरीय बैठक (संयुक्त आयोग) मा पनि यस एजेन्डलाई नेपालको तर्पmबाट प्रमुख मागका रुपमा उठाइएको थियो ।
हरेक पटकको नेपालको अनुरोधमा नेपाली पक्षलाई ‘चाँडै जानकारी गराउने’ भन्दै आलटाल गर्दै आएको भारतले यसपटक भने साँच्चि नै यस विषयलाई टुंगोमा पुर्याई एक्सचेञ्ज बजारमा नेपालको विद्युत् पहुँच सुनिश्चित गरेको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले कोभिड-१९ को बेलामा पनि अनलाइन बैठक गरेर यो कार्यविधि पारित हुन समय लाग्ने भए अन्तरिम व्यवस्था गरेरर भए पनि बजार खोलिदिन भारत सरकारलाई बारम्बार आग्रह गर्दै आएका थिए ।
यसैगरी सचिव घिमिरेले गत वर्ष विश्व बैंकको समन्वयमा सिंगापुरमा आयोजित दक्षिण एसियाली सचिव स्तरीय बैठकमा समेत यस विषयमा भारतीय पक्षसमक्ष पुनः आग्रह गरेका थिए । उनले हरेक सचिवस्तरीय बैठकमा यस विषयको उठान गर्दै आएका थिए । सचिव घिमिरेको अथक प्रयासले आज यो मुद्दा सल्टेको हो ।
अब नेपालले यही वर्षादेखि जगेडा बिजुली एनभीभीएन मार्फत प्रतिस्पर्धात्मक रुपमा बेच्न पाउने भएको छ । प्राधिकरणका अनुसार कार्यविधि स्वीकृत भएपछि नेपालले तत्काल बेच्न सक्ने अवस्था छ । यसका लागि कम्प्युटरले तोकेको भाउमा बिजुली कारोबार हुनेछ ।
यो वर्षको असार मसान्तसम्म माथिल्लो तामाकोसी (४५६ मेगावाट) सहित करिब ८ सय मेगावाट बिजुली प्रणालीमा थप हुने प्रक्षेपण छ । भारत निकासी नहुने हो भने करिब ५ सय मेगावाट बिजुली खेर जाने स्थिति थियो । यहीवर्ष ढल्केबर-मुजफ्फपुर अन्तर्देशीय प्रसारण लाइन ४०० केभीमा चार्ज भइसकेको छ । नेपाल भारत संयुक्त प्राविधिक संयन्त्र यो प्रसारण क्षमता निर्धारण गर्न गृहकार्यमा छन् ।
चिनियाँ बिजुली प्रतिबन्ध
मनाङ-मस्र्याङ्दी जलविद्युत् आयोजनाका मुन्तिर अन्य ठूला आयोजनामा पनि चीनले लगानी गर्न तयार गरेको छ । नेपाली साझेदार बुटबल पावर कम्पनी (बीपीसी) को अगुवाईमा करिब ८ सय मेगावाटको विद्युत् आयोजना अघि बढाउने योजना छ । भारतको यो निर्णयले नेपालको जलविद्युत्मा चिनियाँ लगानीले प्रश्नचिन्ह उठाउने भएको छ । यसबाट चिनियाँ लगानीमा उत्पादन हुने बिजुली एक्सचेञ्ज बजारमा पनि भारतले रोकिदियो भने बोलपत्रबाट पनि प्रतिबन्ध लगायो ।
यता सरकार विघटनको संघारमा पुगे पनि ऊर्जा मन्त्री तोपबहादुर रायमाझी र बालुवाटार यही चिनियाँ बिजुलीको पीपीए गराउन सक्रिय भएका छन् । बालुवाटारकै निर्देशनमा पटक पटक प्राधिकरण सञ्चालक समितिको बैठक बोलाइएको छ । तर विवादमा पर्ने डरले निर्णयमा भने पुग्न सकेको छैन । यही पीपीएका लागि आगामी सोमबार पुनः बैठक बस्ने गरी हिजोको सञ्चालक समिति बैठकमा मौखिक सहमति भएको थियो । विद्युत् प्रणालीमा चिनियाँ लगानीको बिजुली भनेर खुट्याउन नसकिए पनि नेपालमा के कति बिजुलीको परिमाण कहाँबाट र कसले उत्पादन गरेको सबै तथ्यांक खुला भएका कारण चिनियाँ बिजुलीलाई निकासी नहुने भएको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया