डाक्टरमाथि डाक्टरकै ‘खेलाँची’

काठमाडौं ः हाडजोर्नी विशेषज्ञ प्रा.डा ज्ञानेश्वरप्रसाद सिंह (५६) गत वर्ष भदौ १० गते एउटा पार्टीमा गएका थिए । बेलुकीको पार्टीमा श्रीमती बिना पनि उनीसँगै थिइन् । खाना खाँदा डा. सिंहको घाँटीमा मासुको हड्डी अड्कियो । यो राति नौ बजेतिरको घटना हो । अत्तालिँदै बिनाले हत्तपत्त एम्बुलेन्स बोलाइन् । श्रीमान्ले नै काम गर्ने युनिभर्सल मेडिकल कलेज भैरहवा पुर्याइन् ।
उक्त अस्पतालमा डा. सिंह हाडजोर्नी विभागका प्रमुख थिए । प्रमुखका रुपमा झण्डै १० वर्ष उनले आफ्नो जिम्मेवारी सम्हालिसकेका थिए । उनका छोरी प्रज्ञा र छोरा प्रज्ज्वल डाक्टर पढ्न बंगलादेश गएका थिए ।
बिनाले श्रीमान्लाई अस्पताल पु¥याउँदा रात छिप्पिँदै थियो । अस्पतालले राति अपरेसन गर्ने छाँटकाँट देखाएन । डा. सिहंलाई पेन किलर दिएर राख्यो । अर्को दिन बिहान ९ बजे अपरेसन हुने भयो । डा. सिंहकै सहकर्मी डा. विश्व तुलाचन, डा. सन्तोष शाह र डा. लक्ष्मी पाठकको टोलीले उनको अप्रेसन गर्यो ।
उनीहरूले आधा हड्डी निकालिएको र आधा पेटमा धकेलिएको कुरा बिनालाई बताए । श्रीमान्का सहकर्मीले भनको कुरामा बिनाले शंका गर्ने कुरै भएन । अप्रेसन सफल भएको भन्दै उनलाई झोलिलो खानेकुरा खान पनि डाक्टर टोलीले सुझायो । तर, डा. सिंहको घाँटीको अप्ठ्यारो भने रत्तिभर कम भएको थिएन ।
डाक्टरले राउन्डमा आउँदा झोलिलो कुरा खुवाउँदा हुने भनेपछि बिनाले दूध ल्याएर खुवाइन् । खाएलगत्तै डा. सिंहले बान्ता गरे । त्यतिबेला उनलाई ज्वरो पनि आएको थियो ।
उपचारपछि पनि अवस्था नसुध्रिएपछि भने बिनाको मनमा केही शंका उत्पन्न भयो । उनीलगायत उनको परिवारले ‘सिटी स्क्यान गरेर घाँटीको हड्डी पूरै निकालिएको छ कि छैन हेर्छाैँ’ भनेर जोड गरे । सिटी स्क्यानको रिपोर्ट हेर्नेबित्तिकै डाक्टरहरूले लगत्तै काठमाडौँ लैजान सुझाए ।
त्यसपछि भदौ १५ गते डा. सिंहलाई भैरहवाबाट हेलिकप्टरमा राखेर काठमाडौँ ल्याइयो । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार थालियो । उपचारका क्रममा डा. सिंहको खाना खाने नली च्यातिएको र त्यसको इन्फेक्सनले छातीमा समेत असर परेको देखियो । लामो समयसम्म अप्रेसन गरेर हड्डी निकालियो । तर, स्वास्थ्य अवस्था भने झन्–झन् नाजुक बन्दै गयो ।
उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै बिनाले युनिभर्सल अस्पतालका डाक्टरमाथि नेपाल मेडिकल काउन्सिलमा उजुरी दिइन् । बुबाको अवस्था नाजुक बन्दै गएको थाहा पाएपछि बंगलादेशमा एमबीबीएस पढिरहेका प्रज्ञा र प्रज्जवल अत्तालिँदै नेपाल आए ।
‘हामी आउँदा बाबाको अवस्था निकै नाजुक भइसकेको थियो,’ प्रज्ज्वलले भने, ‘हड्डीकै विषयमा पढाउने र उपचार गर्ने बाबाको त्यो अवस्थामा पुग्नुहोला भनेर सपनामा पनि सोचेका थिएनौँ । आफ्नै अस्पतालका डाक्टरले त्यो हदसम्मको लापरबाही गर्लान् भनेर त झन् कल्पनासमेत गरेका थिएनौँ ।’माघ २ गते अर्थात् प्रज्ज्वल फर्किएको केही दिनपछि उनका बुबा डा. सिंहको मृत्यु भयो । यसलाई प्रज्ज्वल सरासर उपचारमा संलग्न डाक्टरहरूको लापरबाही ठान्छन् ।
बुबाको मृत्युपछि बिना, प्रज्ज्वल र प्रज्ञा न्यायको ढोका ढकढकाउँदै विभिन्न ठाउँमा पुगे । नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, मानव अधिकार आयोग, मधेसी आयोग जताततै भाँैतारिए । तर, कतैबाट केही सहयोग नपाएको प्रज्ज्वलको गुनासो छ ।
उपचारका लागि ५० देखि ६० लाख रुपैयाँ खर्च भएको उनले बताए । ‘उपचारमा ५० देखि ६० लाख खर्च भएको छ,’ प्रज्ज्वलले भने ‘अस्पतालले एकपटक एक लाख रुपैयाँ दिएको थियो, त्यसबाहेक कुनै सहयोग पाएको छैन । अहिले हामी ऋणमा छौँ । दिदी र मेरो पढाइ पनि अपूरै छ ।’
प्रज्ज्वलको प्रश्न छ, ‘हाडजोर्नी विभागका प्रमुखमाथि यो हदसम्मको लापरबाही हुन्छ भने सामान्य नागरिकले अस्पताल र डाक्टरबाट के आश गर्ने ?’ आफैँ कार्यरत अस्पतालका डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै पीडित परिवारले रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेका छन् ।
बिनाले आइतबार अर्थात् कातिक १६ गते जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरेकी हुन् ।
युनिर्भसल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटलमा कार्यरत डा. विश्व तुलाचन, डा. लक्ष्मी पाठक र डा. सन्तोष शाहलाई विपक्षी बनाएर मुद्दा दर्ता भएको छ । पीडित परिवारले उपचार खर्चसहित कुल १२ करोड ५० लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेका छन् ।
युनिभर्सल कलेजका प्रबन्ध निर्देशक खुमा अर्यालले अस्पतालले कुनै पनि हालतमा क्षतिपूर्ति दिन नसक्ने बताए । ‘डेढ वर्ष पुराना मुद्दाको विषयमा के कुरा गर्ने र खै,’ इकागजसँगको टेलिफोन सम्पर्कमा उनले भने, ‘उहाँहरूले अझै कति ठाउँमा मुद्दा हाल्ने हो र ? जहाँ मुद्दा हाले पनि अस्पतालले कहाँबाट ल्याएर दिन्छ क्षतिपूर्ति ?’
लापरबाही भएको हो वा होइन भन्ने विषयमा पनि मेडिकल काउन्सिलले नै हेर्ने उनले बताए । ‘मेडिकल काउन्सिलले टिमै बनाएर अध्ययन गरिसक्योे, निर्णय पनि आइसक्यो,’ उनले भने, ‘अस्पतालको मुद्दा हेर्ने काम मेडिकल काउन्सिलको हो । मेडिकल काउन्सिलले केस छिनोफानो गरेसँगै यो मुद्दा सक्किसक्यो ।’
यता मेडिकल काउन्सिलले भने तीनजना डाक्टरमध्ये डा. विश्वलाई एक वर्षका लागि इन्डोस्कोपी गर्न नपाउने र डा. सन्तोषको धेरै संलग्नता नभएका कारण माफी दिएको छ । डा. लक्ष्मी भने भारतमा फेलोसिपमा गएका हुनाले उनीमाथि अनुसन्धान बाँकी रहेको प्रज्ज्वलले बताए । ‘यो निर्णयबाट हामी कत्ति पनि खुसी छैनौँ,’ प्रज्ज्वलले आफ्नो असन्तुष्टि व्यक्त गरे ।
मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले सबैलाई कारबाही भइसकेको बताए । ‘डा. लक्ष्मीलाई सचेत गराउने कुरा भएको छ,’ उनले भने, ‘बाँकीलाई कारबाही गरिसकिएको छ । निर्णयमा चित्त नबुझेको भए अदालतको बाटो खुला छ । मुद्दा हाल्न आवश्यक कागज हामी उपलब्ध गराउँछाँै । यसबाहेक अब हामी केही गर्न सक्दैनौँ ।’

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया