बुढीगण्डकीसँग सम्बन्धित प्रमाण देखाउन डा. भट्टराईलाई कांग्रेसको चुनौती

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र सभापति शेरबहादुर देउवासमेतको संलग्नता रहेको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । कांग्रेसले आफूसँग भएका प्रमाण सार्वजनिक गर्न पनि डा. भट्टराईलाई चुनौती दिएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको गम्भीर अभियोग लगाएका थिए ।
ओलीको नेतृत्वमा सरकार बनेपछि बुढीगण्डकी परियोजना विवादस्पद विदेशी कम्पनीलाई सुम्पने तयारीबारे कांगेसले निरन्तर कडा विरोध गर्दै आएको पनि जनाएको छ । प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ती जारी गर्दै बुढीगण्डकी सम्बन्धमा पार्टीको ०७५ असोज २१ को केन्द्रीय समितिले गरेको निर्णयसमेत पुनः सार्वजनिक गरेका छन् ।
कांग्रेसको त्यो बैठकले बुढीगण्डकी परियोजनाबारे सरकारले लिएको अपरिपक्व निर्णयले सुनिश्चित हुँदै गएको भविष्य अनिश्चित बनाउने षडयन्त्र भएको र त्यसमा आम जनसमुदाय सजग रहन अपील गरिएको थियो । बैठकको निर्णयमा भनिएको थियो, ‘स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै परियोजना अघि बढाइनु पर्छ भन्ने कांग्रेसको माग छ ।’
तत्कालीन कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले बुढीगण्डकी जलविद्युत परियोजना स्वदेशी लगानीमै निर्माण गर्न राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । समितिको सदस्य सचिवमा विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ र सदस्यहरुमा राष्ट्र बैंकका तत्कालीन गभर्नर चिरञ्जीवी नेपाल, तत्कालीन अर्थ सचिव शंकरप्रसाद अधिकारी र तत्कालीन ऊर्जा सचिव अनुपकुमार उपाध्याय तथा वर्तमान ऊर्जा सचिव दिनेशकुमार घिमिरे ऊर्जा सहसचिवका हैसियतमा थिए ।
स्वदेशी लगानीमै निर्माण गर्न जनताको लगानी सहभागिताको प्रकृया समेत आरम्भ भइ अर्बौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णयतर्फ अघि बढ्नुलाई कांग्रेसले अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको त्यो बैठकले निर्णय गरेको थियो ।
परियोजना निर्माण जिम्मा लगाउन त्यस सम्बन्धी स्थापित विधि एवं प्रकृया नअपनाई विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णय गर्नु गलत मनसाय भएको कांग्रेसले त्यतिबेलै बताएको शर्माले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
आफैले बनाउन सक्ने परियोजना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम भएको कांग्रेसले त्यसबेलै बताएको शर्माले दाबी गरेका छन् । शर्माले वाग्ले समितिले बुझाएको ४२ पृष्ठको प्रतिवेदन कहाँ थन्क्याइएको छ ? डिजेल र पेट्रोल खरिदमा उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँका दरले बुढीगण्डकीका लागि उठाइँदै आएको अर्बौंको रकमको स्थिति के छ ? भनेर विज्ञप्तीमा सरकारसँग प्रश्न गरेका छन् ।
यस्तो अवस्थामा पूर्वप्रधानमन्त्री डा. भट्टराईले बुढीगण्डकीबारे ज्वलन्त प्रश्न सम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल नगरी सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा परेको आरोम शर्माले लगाए । ‘हलुका टिप्पणीहरुलाई प्रष्टिकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा छैन । तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘मसँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुन जान्छ,’ शर्माले भनेका छन् ।
कांग्रेसले तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभका पछि नलाग्न डा. भट्टराईलाई आग्रह गरेका छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया