कोरोना अघि नेपथ्यले गाएको अन्तिम गीत ‘यो जिन्दगानी’ सार्वजनिक

काठमाडौं : भूकम्पको कारण क्षतिग्रस्त बन्न पुगेको दोलखाको एक सरकारी विद्यालय निर्माणार्थ गत वर्षको फागुन १७ गते नेपथ्यले आफुलाई प्रस्तुत गरेको थियो । भृकुटी मण्डपमा आयोजित त्यो कन्सर्ट नै कोरोना महामारी अगाडि ब्यान्डको अन्तिम प्रस्तुति बन्न पुग्यो ।
‘जीवन हो घाम छाया, सुख दुःख दुवै हुन्छ’ बोलको यही गीत नेपथ्यले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । बदलिँदो समयसँगै फरक नेपाली पुस्ताहरुका बीच उत्तिकै लोकप्रिय रहँदै आएको नेपथ्यले अब फेरि सांगीतिक माहोललाई निरन्तरता दिने अठोट लिएको छ । यसको सुरुवात गर्दै नेपथ्यले आफ्नो एउटा सर्वकालीक हिट गीतको ‘लाइभ भिडियो’ सार्वजनिक गरेको हो ।
पोखराका संगीतकर्मी श्यामसुङ तामाङले यस गीतलाई तयार पारेका हुन् । ‘गीतको रेकर्ड गर्नु अगावै पनि हामी साथीभाइको जमघटमा यसलाई गाउने गथ्र्यौं,’ गायक अमृत गुरुङ सम्झन्छन्, ‘असाध्यै मनपरेको र प्रभाव पार्दैआएको गीत भएकाले यसलाई नेपथ्यका निम्ति रेकर्ड गर्ने सोच बनायौं ।’
तर, त्यतिबेला गीतका रचयिता श्यामसुङले अनुमति दिएनन् । ‘आफ्नो ब्यान्डको गीत भएको हुनाले नगरौं दाइ भनेका थिए,’ गुरुङ सम्झन्छन्, ‘त्यसपछि तामाङको समूहले यो गीत रेकर्ड गरेर सार्वजनिक पनि गर्यो । यति राम्रो सिर्जनालाई त्यत्तिकै मर्न दिइनु हुँदैन भनेर मैले फेरि दोस्रोपटक उनलाई अनुरोध गरेँ ।’
यस्तो अवस्थामा दोस्रो पटक भने उनीबाट पाएको अनुमति अनुसारै गीतको रेकर्डिङ गरिएको अमृत सम्झन्छन् । ‘अनुमति पाएसँगै गीतलाई नेपथ्यका टोली बसेर सुन्यौं,’ गुरुङले सम्झे, ‘त्यसपछि तत्कालीन गितारवादक नरेशले नेपथ्य पारामै नवीनता थपेर यसको एरेन्जमेन्ट अघि बढाएका थिए ।’ यसरी तयार भएको गीत पहिलेभन्दा सरल हुँदाहुँदै अझ बढी मार्मिक बन्नपुग्यो ।
गीतमा ‘यो जिन्दगानी, यो जिन्दगानी’ असाध्यै शक्तिशाली अन्तराका रुपमा विकास भयो । अहिले पनि कन्सर्टहरुमा नेपथ्यका दर्शकहरुले यस अन्तरालाई चर्को स्वरमा गाएर सघाइरहँदा बेग्लै माहोल तयार भइरहेको देख्न सकिन्छ ।
‘कन्सर्टहरुमा प्रायः दर्शकले उत्पन्न गर्ने आवाजलाई पनि कसरी समेट्ने भन्ने प्रयास संगीतकर्मीहरुले गर्ने गर्छन्,’ गुरुङ भन्छन्, ‘गीतलाई नेपथ्यले तयार पार्दा अन्त्यतिर तालीको यस्तो सामन्जस्य मिलाइएको छ, जसलाई कन्सर्टको बेला दर्शक प्रतिक्रियाले जहिल्यै जीवित पारिदिन्छ ।’
यो गीत नयाँ पुस्ताका श्रोताहरुको निम्ति नयाँ गीत हुन सक्छ तर अमृतसँगै पाको हुँदै गएकाहरुको निम्ति भने एउटा लामो कालखण्डको सहयात्रा स्मरण गराउने माध्यम हो ।
यस गीतको अडियो भिजुअल यसअघि पनि तयार भएको थियो । झण्डै डेढ दसकअघि जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आयोजित नेपथ्यको कन्सर्टका बेला अपाङ्गता भएका दर्शकहरुको प्रतिक्रियालाई समेटेर यो गीतको भिडियो बनाइएको थियो ।
पछिल्लो पटक भने यस गीतलाई गत वर्ष भृकुटी मण्डपमा प्रस्तुत गर्दा त्यहाँ उपस्थित श्रोता दर्शकको प्रतिक्रियालाई नै समेटेर यो नयाँ ‘लाइभ भिडियो’ तयार पारिएको हो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया