लेवानडोस्की र हालान्डले विशेष बनाएको क्लासिकर

काठमाडौँ : जर्मन लिगको क्लासिकरमा शनिबार बार्यन म्युनिख र बरुसिया डर्टमन्ड भिड्दैछन् । बुन्डेसलिगाको ‘एल क्लासिको’ मानिने यस खेलका लागि डर्टमन्ड आलियन्ज ऐरिना पुग्नेछ । बार्यनलाई नजिकबाट चुनौति दिनसक्ने थोरै जर्मन क्लबमध्येको सबैभन्दा बलियो मानिने डर्टमन्ड यसपटक भने फितलो देखिएको छ ।
तर अंक तालिकामा १३ अंकको फरक भएपनि दुई क्लबबीचको भिडन्त उत्साहजनक हुने अपेक्षा गरिएको छ । बार्यन र डर्टमन्डबीचको प्रतिद्वन्द्वीता त छँदैछ, रोबर्ट लेवानडोस्की र एर्लिङ हालान्डको उपस्थितीले खेलको मज्जा बढाउनेछ ।
सधाझैँ यस पटक पनि बलियो लयमा देखिएका पोलिस स्ट्राइकर लेवानडोस्कीले २२ खेलमा २८ गोल गरिसकेका छन् । बुन्डेसलिगामा पछिल्ला सात सिजनमा पाँच पटक उच्च गोलकर्ता बनेका ३२ वर्षिय स्ट्राइकरलाई चुनौति दिनसक्ने खेलडीका रूपमा युवा हालान्ड उदाएका छन् । जसले १८ खेलमा १७ गोल गरेका छन् । २० वर्षिय हालान्ड सन् २०२० को जनवरीमा मात्रै जर्मनी पुगेका हुन् । यसबीचमा उनले आफूलाई बुन्डेसलिगाको उत्कृष्ट खेलाडीको सूचीमा उभ्याइसकेका छन् । हालान्डले सबैतिरबाट प्रशंसा बुलिरहँदा आफू भने लेवनडोस्कीको प्रशंसक भएको तथ्य लुकाएका छैनन् ।
‘लेवानडोस्की विशेष खेलाडी हुन् । लिगमा उनी जस्तो कोही पनि छैन । म उनको स्तरमा पुग्न कोशिस गरिरहेको छु । जब म कुनै खेलमा गोल गर्छु उनको नजिक पुगेको ठान्छु । तर लगत्तै उनी ह्याट्रिक गरिदिन्छन्,’ हालान्डले यसै साता नर्वेजियन टेलिभिजन च्यानलसँग कुरा गर्दै भने । हालान्डले भनेझैँ लेवानडोस्कीले असाधारण खेल देखाइरहेका छन् । बुन्डेसलिगामा उनी नयाँ कीर्तिमानको नजिक छन् । एक सिजनमा सबैभन्दा धेरै गोल गरेको कीर्तिमान राख्ने धेयमा लेवेनडोस्की छन् । यो कीर्तिमान अहिलेसम्मका लागि गेर्ड मुलरको नाममा रहेको छ । मुलरले १९७१/७२ सिजनमा ४० गोल गरेका थिए ।
पाँच लिग खेल चोटका कारण गुमाए पनि १७ गाल गरेका हालान्ड आफूले लेवानडोस्कीबाट सिक्न बाँकी रहेको स्विकार गर्छन् । बार्यन र डर्टमन्ड पछिल्लो पटक आमनेसामने हुँदा यी दुवै खेलाडीले गोल गरेका थिए । नोभम्बरको त्यस खेल सहित बार्यनले डर्टमन्डविरुद्वको पछिल्ला चार भिडन्तमा बाजी मारेको छ । डर्टमन्डका कार्यवहाक प्रशिक्षक एडिन टेरजिक आफ्नो टिम बार्यनलाई कडा टक्कर दिन सक्षम रहेको मान्छन् । ‘यस सिजनको पहिलो भेटमा हामी हारे पनि गोल अन्तर धेरै थिएन । त्यसकारण यस पटक पनि हामी उनीहरूलाई बलियो चुनौती दिन सक्छौँ भन्ने आत्मविश्वास छ,’ जर्मन अखबार किकरसँगको अन्तवार्तामा टेजरिकले भने ।
डर्टमन्ड लिगमा पाँचौ स्थानमा रहे पनि उसले पछिल्ला साताहरूमा बलियो खेल देखाएको छ । डर्टमन्डले लगातार चार खेल जितेको छ । उता बार्यन स्वभाविकरुपमा उच्च लयमा छ । जसले गएका दुई खेलमा मात्रै नौ गोल गरेको छ । यसअर्थमा शनिबारको भिडन्तका लागि दुवै टोली तयार छन् । डर्टमन्डमा हालान्ड बाहेक जेडन सान्चो पनि प्रभावकारी देखिएका छन् । गत साता घरेलु कपमा बोरुसिया मन्चुनग्लाडबागसँगको खेलमा भएको एक मात्र गोलका लागि पास उपलब्ध गराएका सान्चो डर्टमन्डका दोस्रो उच्च गोलकर्ता हुन् । उनले जारी सिजनमा छ गोल गरिसकेका छन् भने नौ असिस्ट दर्ता गरेका छन् । कप्तान मार्को रुइसले देखाइरहेको लयले पनि र्डटमन्ड परम्परिक प्रतिद्वन्द्वीविरुद्वको खेल अगाडि आत्मविश्वासी देखिएको छ ।
उता बार्यन भने डर्टमन्डलाई हराउनै पर्ने दबाबमा छ । लिगमा दोस्रो स्थानमा रहेको आरबी लाइपजिगले अंक दुरी घटाइरहँदा बार्यन डर्टमन्डलाई पन्छाउँदै उपाधि दौडमा बलियो देखिन चाहन्छ । डर्टमन्ड भने बार्यनलाई हराएर शीर्ष चारभित्र अट्दै लिग समापन गर्ने लक्ष्यमा अघि बढ्न चाहन्छ । लाइपजिगले पनि शनिबारै फ्राइबर्गको चुनौती सामना गर्दैछ । लाइपजिलाई सधैँ कडा टक्कर दिदैँ आएको फ्राइबर्ग यसपटक महत्वपूर्ण रक्षक विल्ली ओरबानबिना मैदानमा उत्रनेछ ।
युलियान नागल्सम्यानको प्रशिक्षणमा रहेको लाइपजिगले गत शनिबार मन्चुनग्लाडबागलाई हराएको थियो । त्यस खेलमा पराजय भोगेको मन्चुनग्लाडबागले यस साता बार्यन लेभेरकुजनको सामना गर्नेछ । गत डिसेम्बरमसम्म लिगको पहिलो स्थानमा रहेको लेभरकुजन त्यसपछिका महिना भने कमजोर देखिएको छ । पछिल्ला आठ खेलमध्ये दुइमा मात्रै जित हासिल गरेको लेभरकुजन छैठौँ स्थानमा छ ।
तथ्यांकमा लेवनडोस्की र हालान्ड
- हालान्डले डर्टमन्डको जर्सीमा ४५ खेल खेल्दै ४३ गोल गरेका छन् । सन् २०१४ सम्म डर्टमन्डमै रहेका लेवनडोस्कीले भने सुरुवाती ४५ खेलमा ११ गोल मात्रै गर्न सफल भएका थिए ।
- लेवानडोस्कीले जर्मन लिगमा आफ्ना सुरुवाती २० खेलमा पाँच गोल गरेका थिए भने हालान्डले उती नै अवधिमा १८ गोल गरिसकेका छन् ।
- लेवानडोस्की र हालान्डले यस सिजन सबैखाले प्रतियोगितामा गरी आठ असिस्ट दर्ता गरेका छन् । (अन्तराष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया