बहसमा ‘जेन्डर न्युट्रल’ अवार्ड, बर्लिनले सुरु गर्यो, अस्करले पछ्याउला ?

जर्मन : शुक्रबार साँझ बर्लिन फिल्म फेस्टिभलको ७१ औं संस्करण सकियो । ५ दिन लामो फेस्टिभल पहिलो पल्ट भर्चुअल रुपमा सम्पन्न भयो । न दर्शकले हलमा भेला भएर फिल्म हेर्न पाए न जुरीले । सबैले घर बसेर नै फेस्टिभललाई सफल बनाए ।
तर, यो पालिको बर्लिन भर्चुअल भएर मात्र ऐतिहासिक बनेन, यसले अवार्डको विधामा गरेको प्रयोगले पनि यसलाई ऐतिहासिक बनाएको छ । यो प्रयोग थियो, जेन्डर न्युट्रल अवार्ड बाँड्ने चलनको सुरुवात ।
बर्लिनले पहिलो पल्ट उत्कृष्ट अभिनेता र अभिनेत्रीको छुट्टाछुट्टै विधालाई एकै ठाउँमा राखेर मुख्य कलाकारको अवार्ड बाँडेको थियो । यही व्यवस्था सहायक कलाकारमा पनि थियो । बर्लिनको परिवर्तिन नियम अनुसार जर्मन अभिनेत्री मरेन इगर्टले पहिलो पल्ट ‘जेन्डर न्युट्रल’ अवार्ड पाइन् ।
उनले यो अवार्ड साइफाइ ड्रामा ‘आइ एम योर मेन’मा गरेको अभिनयका कारण पाएकी थिइन् । फिल्ममा इगर्ट यस्तो वैज्ञानिक बनेकी छिन् जो तीन हप्ताका लागि मानवीय गुण भएको रोबोटको शरीरमा बस्छिन् ।
हुन त बर्लिनले फेस्टिभलको नयाँ संस्करण घोषणा गर्दा नै आफूहरूले अभिनयको विधामा आइन्दा ‘जेन्डर न्युट्रल’ अवार्ड दिने घोषणा गरेको थियो । तर, अहिले वितरण भइसकेपछि यसको गुण दोषलाई लिएर चर्चा सुरु भएको छ ।
केहीले यसलाई राम्रो सुरुवात मानेका छन् भने केहीले भने यसले अभिनेत्रीको अवार्ड जित्ने सम्भावनालाई खुम्च्याउने तर्क गरेका छन् । बर्लिनले चाल्न लागेको कदमको समाचार आउने बित्तिकै अभिनेत्री एम्मा वाटसन र टिल्डा स्विन्टनले यसको स्वागत गरेका थिए ।
गत सेप्टेम्बरमा भएको भेनिस फिल्म फेस्टिभलमा बोल्दै टिल्डा स्विन्टनले महिला र पुरुष भनेर छुट्याएर अवार्ड दिने परम्परा बासी र आउटडेटेड भएको बताएकी थिइन् । बर्लिनको निर्णयलाई स्वागत गर्दै उनले भनेकी थिइन्, ‘ यो त हुनु नै थियो । हरकोहीले यसको अनुसरण गर्नुपर्छ ।’
‘यो शैलीले महिला र पुरुषलाई मात्र होइन, जात र वर्गलाई पनि विभाजन गरिरहेको थियो । बेकारको प्रचलन थियो यो,’ उनले भनेकी थिइन् । सोही अवसरमा केट ब्लाचेन्टले पनि आफूलाई अभिनेत्री भनाउनभन्दा कलाकार मात्र भनाउन खुशी लाग्ने बताएकी थिइन् ।
सन् २०१७ मा एम्मा वाटसनले एमटिभीमा पहिलो पल्ट ‘जेन्डर न्युट्रल’ अवार्ड पाएकी थिइन् । उनले हरकोही कलाकारले अरु कसैको जीवन बाँच्ने भएकाले यसका लागि महिला र पुरुष भनेर बेग्लाबेग्लै विधा नचाहिने बताएकी थिइन् । सोही अवसरमा उनले आफूले पाएको अवार्ड जीवनकै ‘विशेष’ अवार्ड भएको बताएकी थिइन् ।
बीबीसीका मनोरञ्जन पत्रकार स्टिभन म्याकन्टोसले भने अस्करको मुखमा सुरु भएको यो छलफल सोचे झै सिधा नभएको बताएका छन् । उनले महिला र पुरुषलाई एकै विधामा राखेर प्रतिस्पर्धा गराउने चलनको हलिउडमा खाई खेली थाकेको कलाकारले स्वागत गर्ने भए पनि संघर्ष गरिरहेका कलाकारका लागि भने सुखद नभएको बताएका छन् ।
उनले गत साल अस्करमा विजेता बनेका ज्याक्विन फोनिक्स र रेने जेलवेगरको उदाहरण दिँदै भनेका छन्, ‘ मानौं अस्करमा ज्याक्विन र रेने भिडिरहेका थिए । ज्याक्विनले जिते । रेने खाली हात हुने थिइन् । तर, रेने पनि अवार्डको उत्तिकै हकदार थिइन् ।’
स्टिभन म्याकन्टोसले ‘जेन्डर न्युट्रल’अवधारणाले ट्रान्सजेन्डर र अन्य अल्पसंख्यकलाई भने फाइदा पुग्ने तर्क गरेका छन् । अहिलेको संरचनाले भने उनीहरूलाई अवार्डको प्रतिस्पर्धाका लागि पुरुष वा महिला हुनै पर्ने बाध्यता छ । यो बहसको सजिलो निचोड भने छैन । तर, आगामी दिनमा अस्कर, बाफ्टा, एम्मी वा गोल्डेन ग्लोबले बर्लिनको यो सुरुवातलाई कसरी लिन्छन् त्यसले पनि यो ‘जेन्डर न्युट्रल’ बहसको दिशा तय गर्छ ।

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजको छाँटकाट छैन्

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

६ वर्षपछि सिनेमामा फर्किए जोनी डेप

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

प्रतिक्रिया