के अनमोल र धिरज बक्स अफिसमा भिडलान् ?

काठमाडौं : नारी दिवसको अवसर पारेर ‘ए मेरो हजुर ४’ले प्रदर्शन मिति सार्वजनिक गरेको छ । नयाँ पोस्टरसँगै सार्वजनिक गरिएको मितिमा फिल्म भदौ १८ गते प्रदर्शन हुने उल्लेख गरिएको छ । तीजको बिदा खाने लक्ष्यसहित फिल्म यो मितिमा आउन लागेको बुझिन्छ ।
झरना थापाले निर्देशन गरेको फिल्ममा अनमोल केसी र निर्देशक थापाकी छोरी सुहाना थापा मुख्य भूमिकामा छन् । तर, सोमबार नै धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका रहेको ‘आइ एम ट्वान्टी वान’ पनि भदौ १८ मै आउने भनी समाचार सार्वजनिक भएको थियो ।
यसले बक्स अफिसमा अनमोल र धिरज मगरको भिडन्त हुने आशंका बढाएको थियो । तर, ‘आइ एम ट्वान्टी वान’का निर्माता प्रज्वलशमशेर जबराले फिल्मको प्रदर्शन मिति टुंगो लागिनसकेको जानकारी गराए । उनले इकागजसँग कुराकानी गर्दै फिल्म भदौ र असोजको मितिमा प्रदर्शन गर्ने सोच रहे पनि प्रदर्शन मिति ठ्याक्कै टुंगो गरी नसकेको बताए ।
‘हो, हामीले भदौ १८ देखि असोज ३ सम्मको मितिसम्ममा पनि छलफल गरेका हौं तर १८ भन्नै टुंगो गरेका छैनौं । अहिले पोस्ट प्रडक्सनको काम भइरहेको छ । हाम्रो ध्यान यतै छ । केही दिनमा प्रदर्शन मिति सार्वजनिक गर्छौं,’ प्रज्जवलले भने । ‘आइ एम ट्वान्टी वान’को सुटिङ सकेर पोस्ट प्रडक्सनको काम भइरहेको छ । तर, यता ‘ए मेरो हजुर ४’ को भने अझै २० दिनको सुटिङ बाँकी छ । फिल्मको अन्तिम सेड्युल २५ गतेबाट सुरु गर्ने निर्माण टिमको तयारी छ ।
दुई वर्षअघि अनमोलको ‘ए मेरो हजुर ३’र सलिनमान बानियाँको ‘यात्रा’ एकै मितिमा रिलिज भएका थिए । सोबेला अनमोलको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्दा सलिनको फिल्मले भने कमजोर व्यापार गरेको थियो । बलिउडका ठूला हिन्दी फिल्मले दसैँतिहारका मुख्य बिदामा फिल्म घोषणा गरिसकेपछि नेपाली निर्माताले चित्त बुझ्दो डेट पाउन सकस भइरहेको छ ।
यही कारण भदौ र असोजको दोस्रो हप्तासम्म नेपाली फिल्मबीच रिलिज डेटलाई लिएर मारामार हुने अवस्था छ । ‘ए मेरो हजुर ४’ले पनि हतार गरेर फिनिसिङ नै नगरी पोस्टर रिलिज गर्नमा पनि यही मनोविज्ञानले काम गरेको बुझ्न सकिन्छ । यसो गर्दा अरुभन्दा पनि आफूले पहिले घोषणा गरेको दाबी गर्न सजिलो हुन्छ । तर, ‘आइ एम ट्वान्टी वान’का निर्माताका भनाइको आसय विश्लेषण गर्दा भने तत्कालका लागि अनमोल र धिरजको भिडन्त नहुने देखिन्छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया