आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

बाइडनले भने 'जित हुने स्पष्ट भयो', ट्रम्पले भने 'अदालत जान्छौँ'

अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ । डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् भने राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

यो समाचार तयार पार्दासम्म ५० वटा राज्यमध्ये ४३ वटा राज्यको मतदान सकिएको छ र जितका लागि निकै महत्त्वपूर्ण मानिएका बाँकी राज्यहरूमा मतगणना जारी छ । बाइडनले २४३ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन् ।

'स्पष्ट जित'
महत्त्वपूर्ण परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् । मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उनले भने, 'जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ ।'

नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा उनले जोड दिए । बाइडनले भने, 'हाम्रो लोकतन्त्रलाई हामीबाट कसैले खोस्न सक्ने छैन ।' उनले आफू सबै अमेरिकीको राष्ट्रपति हुने प्रतिबद्धता जनाए जुन प्रतिबद्धता चुनावी प्रचार अभियानमा पनि उनले जनाउँदै आएका थिए ।

'हामी जितेमा राता र नीला राज्यहरू हुनेछैनन्, मात्र संयुक्त राज्य अमेरिका हुनेछ,' उनले थपे । राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा धाँधली भएको आरोप लगाएका छन् र सर्वोच्च अदालतमा कानूनी चुनौती दिने बताएका छन् ।

तर बाइडनको चुनावी प्रचार समूहले राष्ट्रपतिको अभिव्यक्ति 'अपमानजनक' भएको भन्दै मतगणना नरोकिने जनाएको छ ।ट्रम्पको चुनावी प्रचार समूहले पेन्सल्भेनियामा मतगणना रोक्न माग गर्दै अदालत जान लागेको जनाएको छ ।

मतगणनाको पूर्ण नतिजा नआउँदै र ट्रम्पले त्यहाँ जित्ने कुनै प्रक्षेपण नहुँदै उक्त समूहले पेन्सल्भेनियामा राष्ट्रपतिले जितेको घोषणा गरेको छ । यसपालि अमेरिकी निर्वाचनमा सर्वाधिक सङ्ख्यामा मतदाताहरू सहभागी भएका छन् ।

मतदानको दिनभन्दा अगाडि गरिएका वैचारिक मत सर्वेक्षणहरूले प्रस्तुत गरिएका नतिजाहरूमा जो बाइडनको सहज जित हुने आकलनदेखि लिएर झिनो मत अन्तरले डोनल्ड ट्रम्पको जित हुनेसम्मका प्रक्षेपणहरू थिए । ह्वाइट हाउसमा पुग्न जारी कडा प्रतिस्पर्धालाई सारा विश्वले नजिकबाट नियालिरहेको छ ।

खासमा अमेरिकी नागरिकहरूले हरेक चार वर्षमा लिने निर्णयले देशको परराष्ट्र नीतिमा परिवर्तन ल्याउन सक्छ र त्यसले अरू देशप्रति लिइने नीतिमा महत्त्वपूर्ण भूमिका खेल्छ । (बीबीसी)